भारतबाट फर्किनेमा कोरोना सर्ने त्रास
रासंसा/काठमाण्डौ, श्रावण १२,
मुलुकमा कोरोनाको त्रास फेरी बढ्दै गएको छ भने कोरोना संक्रमणको ग्राफ बढ्दो अवस्थामा रहे पनि सीमानाकाहरूमा संक्रमणको रोकथाम तथा नियन्त्रणका लागि खासै सतर्कता अपनाइएको छैन। कोरोना महामारीको पहिलो र दोस्रो लहरमा संक्रमणको ‘हटस्पट’ बनेको विराटनगर तंग्रिने प्रयासमा रहँदा पछिल्लो समय पुनः संक्रमणको जोखिम बढ्न थालेको छ। लकडाउन, निषेधाज्ञा र आमनागरिकलाई कोरोनाविरुद्धको खोपलगायतका उपाय लगाएपछि न्यूनीकरण हुँदै गएको संक्रमणको जोखिम पुनः बढ्न थालेको हो। सीमानाकामा आवश्यक कडाइ नहुँदा र नागरिक स्वयं पनि सचेत नबन्दा पछिल्लो समय जोखिम बढ्दै गएको चिकित्सहरूले बताएका छन्। कोरोनाका सक्रिय संक्रमितहरू बढ्न थालेसँगै पछिल्लो समय मोरङ प्रशासनले पनि सीमानाकामा कडाइ र आवश्यक निगरानीका कार्यलाई तीव्रता दिएको छ। संक्रमणको जोखिम बढेसँगै मोरङका सबै स्थानीय तहहरूलाई सुरक्षा व्यवस्था मिलाउन निर्देशन गरिसकिएको जनाइएको छ। सीमानाकाको दोहोरो आवागमनलाई व्यवस्थित गर्ने, मास्क अनिवार्य गर्ने र एन्टिजेन परीक्षण पुनः सुरु गर्ने निर्णय पनि प्रशासनले गरेको मोरङका सहायक प्रमुख जिल्ला अधिकारी शरदकुमार पोखरेलले बताए। उनले नेपाल प्रहरी र सशस्त्र प्रहरीलाई समेत आवश्यक निर्देशनसहित नाकामा निगरानीका निम्ति परिचालन गरिएको बताए। थप निर्णय जिल्ला कोरोना संकट व्यवस्थापन समितिको बैठकले गर्ने उनको भनाइ छ। प्रदेश सरकारको स्वास्थ्य मन्त्रालयले दिएको तथ्यांकअनुसार पछिल्लो ४ दिनमा मात्रै प्रदेश १ मा १५३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। जसमा साउन ८ गते २५, ९ गते ५२, १० गते ३९ र ११ गते ३७ जनामा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ। मन्त्रालयका सूचना अधिकारी सदानन्द भट्टराईका अनुसार पछिल्लो समय शून्यतामा पुगेको प्रदेश १ मा सक्रिय संक्रमितको संख्या पुनः बढ्न थालेको हो। आवश्यक स्वास्थ्य सर्तकता बेगरै बढेको मानवीय चहलपहल र नेपाल–भारतबीचको दोहोरो आवागमनले जोखिम बढाएको उनी बताउँछन्। कोरोनाको संक्रमण बढेसँगै मंगलबार मात्रै एक सूचना जारी गर्दै विराटनगर महानगरपालिकाले समेत संक्रमण पहिचान तथा रोकथामको उद्देश्यसहित पीसीआर र स्वाब संकलन तथा एन्टिजेन परीक्षणको कार्यलाई पुनः सुरु गर्ने निर्णय गरेको छ। जिल्ला प्रशासन कार्यालय उत्तरको प्रोजक्टको पुरानो अफिसमा परीक्षणको व्यवस्था मिलाइएको महानगरका शहरी स्वास्थ्य महाशाखा प्रमुख डा. विशालकुमार देवले बताए। भारतबाट नेपाल फर्किनेहरूमा संक्रमण देखापर्न थालेको छ। छिमेकी मुलुक भारतमा पुनः तीव्र रूपमा कोरोना फैलिएसँगै त्यसको असर खुला सीमासँग जोडिएका पूर्वका जिल्लामा देखापरेको हो। चौथो लहर सुरु भइसकेको आशंका भइरहँदा झापामा पनि संक्रमितहरू दिन प्रतिदिन थपिँदै गएका छन्। छिमेकी मुलुक भारतमा पुनः तीव्र रूपमा कोरोना फैलिएसँगै त्यसको असर खुला सीमासँग जोडिएका पूर्वका जिल्लामा देखापरेको हो। चौथो लहर सुरु भइसकेको आशंका भइरहँदा झापामा पनि संक्रमितहरू दिन प्रतिदिन थपिँदै गएका छन्। नगरमा दैनिक कम्तिमा एक र बढीमा पाँच जनासम्म कोरोना महामारी पुष्टि भइरहेको उनले बताए। यता जिल्लामा संक्रमितको संख्या बढेसँगै जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्र (डीसीएमसी)ले स्वास्थ्य सतर्कता अपनाउनुका साथै जिल्लावासीलाई अनिवार्य मास्क लगाउन आग्रह गरेका छन्। डीसीएमसीले मेचीनगर नगरपालिका–१४ ढुवागढीस्थित हँडिया खोलानजिकै २८ करोड २६ लाख ८७ हजार ४ सय ६४ रुपैयाँको लागतमा निर्माणाधीन अवस्थामा रहेको एक हजार क्षमताको होल्डिङ सेन्टरमा सेनाले १ सय बेड तयारी अवस्थामा राख्ने, काँकडभिट्टा नाकामा मेचीनगर नगरपालिका, ईडीसीडी, आईएमओ र रेडक्रस सोसाइटी झापा शाखाले आपसमा समन्वय गरी कोरोना परीक्षणलाई प्रभावकारी बनाउने निर्णय गरिसकेको प्रमुख जिल्ला अधिकारी छविलाल रिजालले बताए। असार २० देखि साउन १० गतेसम्म जिल्लामा १७७ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय झापाका प्रमुख योगराज घिमिरेले बताए। पूर्वी नाका काँकडभिट्टामा दैनिक भारतबाट आउने औसतमा २ सयभन्दा बढी शंकास्पद यात्रुहरूको एन्टिजेन परीक्षण भइरहेको सीमा नाकामै खटिएकी स्वास्थ्यकर्मी शान्ता भण्डारीले बताइन्। जसमध्ये औसतमा दैनिक १० देखि १३ जनामा कोरोना पोजेटिभ देखिएको छ। भारतबाट आउनेहरूलाई जोनसेन एन्ड जोनसेन र भेरोसेल खोप लगाइँदैछ। नगर क्षेत्रमा कोरोनाविरुद्धको खोप लगाउने काम धमाधम भइरहेकोले जनशक्ति अभावका कारण भद्रपुर नाकामा स्वास्थ्यकर्मी परिचालन गर्न नसकिएको भद्रपुर नगरपालिका स्वास्थ्य शाखाका फोकल पर्सन मनोज भट्टराईले बताए। ‘साउन ८ देखि १६ गतेसम्म नगरभरी खोप कार्यक्रम सञ्चालन भइरहेको छ,’ उनले भने, ‘खोप कार्यक्रम सकिएपछि भद्रपुर नाकामा पनि स्वास्थ्यकर्मी परिचालन हुन्छ।’ हेल्थ डेस्ककी इन्चार्ज डा. अनिषा महत्तोका अनुसार भारतमा फेरि संक्रमण बढ्न थालेसँगै वीरगन्ज नाकामा पनि संक्रमित भेटिन थालेका हुन्। उनका अनुसार जेठ अन्तिम साता ३ जनामा संक्रमण पुष्टि भएको थियो। गत असारमा भने नाकाको हेल्थ डेस्क परीक्षणमा ३८ जना र साउनमा बुधबार बिहानसम्म १९ जनामा संक्रमण पुष्टि भएको डा. महत्तोले बताइन्। नाकाको हेल्थडेस्कमा बुधबार बिहान मात्रै ६९ जनाको एन्टिजेन परीक्षण गर्दा २ जनामा संक्रमण पुष्टि भएको उनले जानकारी दिइन्। छिमेकी मुलुक भारतमा कोरोना भाइरसको संक्रमण बढ्न थालेसँगै वीरगन्ज नाकामा पनि फेरि दैनिक जसो कोरोना फेला पर्न थालेका छन्। भारतबाट नेपाल प्रवेश गर्ने मुख्य नाका वीरगन्जको हेल्थ डेस्कमा भइरहेको परीक्षणमा १ महिनायता पुनः दिनहुँ जसो कोरोनाका संक्रमित भेटिन थालेका हुन्। कोरोनाको पहिलो लहरदेखि नै वीरगन्ज नाकामा हेल्थ डेस्क सञ्चालन गरी भारतबाट नेपाल प्रवेश गर्नेहरूको एन्टिजेन परीक्षण हुँदै आएको छ। संक्रमण पुष्टि भएका भारतीयलाई नाकाबाटै भारततर्फ फर्काउने गरिएको छ भने नेपाली संक्रमितहरूलाई सम्बन्धित पालिकासँग समन्वय गरि घर पुरयाउने गरिएको छ। यता, वीरगन्जको नारायणी अस्पतालमा पनि साउन पहिलो हप्तादेखि कोरोनाका संक्रमित फेला पर्न थालेका छन्। तेस्रो लहरपछि साउन ३ गते पहिलोपटक अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा एकै दिन ६ जनामा संक्रमण पुष्टि भएको अस्पतालका वरिष्ठ चिकित्सक डा. उदयनारायण सिंहले बताए। साउन ३ मा ३४ जनाको पीसीआर परीक्षण गर्दा ६ जनामा संक्रमण पुष्टि भएको हो। त्यसपछि साउन १० मा ३९ जनाको पीसीआर परीक्षण गर्दा २ जनामा संक्रमण भेटिएको डा. सिंहले बताए। संक्रमण पुष्टि भएका सबैको स्वास्थ्य अवस्था रूघा खोकीबाहेक सामान्य रहेकाले होम आइसोलेनमा बस्ने गरी पठाइएको डा. सिंहले बताए। उनले भने, ‘यो तथ्यांकले के संकेत गर्दैछ भने अब फेरि वीरगन्जमा पनि संक्रमण देखिँदैछ। तर, आत्ति हाल्नुपर्ने अवस्था भने छैन। सजग र सतर्क भने हुनुपर्छ।’ यसअघिका महामारीका बेला अपनाइएका स्वास्थ्य सुरक्षाका उपाय भने फेरि हरेक नागरिकले अपनाउनुपर्ने सुझाव उनले दिए। अस्पतालको प्रयोगशालमा गरिएको परीक्षणमा संक्रमण पुष्टि हुन थालेपछि त्यसलाई मध्यनजर गरी नारायणी अस्पतालमा १७ शैड्ढयाको कोभिड उपचार कक्ष तयारी अवस्थामा राखिएको जानकारी उनले दिए। भेरी अस्पताल नेपालगन्जको कोरोना प्रयोगशालामा बुधबार स्वाब परीक्षण गरेका १६ जनामध्ये २ जनामा संक्रमण पुष्टि भयो। बुधबार नै नेपालगन्जको जमुनाहा नाकास्थित हेल्थ डेस्कमा एन्टिजेनबाट परीक्षण गर्दा ११ जनामा कोरोना संक्रमण पुष्टि भएकोमा बाँकेका एक जना थिए। हेल्थ डेस्कमा भारतबाट आउने व्यक्तिमा दिनहुँ कोरोना संक्रमण पुष्टि भइरहेको छ। जमुनाहा नाकामा जेठ महिनामा १५ जना, असारमा ५९ र साउन महिनायता ३४ जना गरी १०८ जनामा कोरोना संक्रमण पुष्टि भएको हेल्थ डेस्कको ल्याब असिस्टेन्ट यशोदा चन्दले बताइन्। उनले संक्रमण पुष्टि भएका अधिकांशमा सामान्य लक्षण मात्र देखिने भएकाले सुरक्षाका विधि अपनाउँदै घरमै आइसोलेसनमा बस्न सुझाव दिने गरेको बताइन्। जिल्ला कोभिड १९ संकट व्यवस्थापन केन्द्रका कोरोना फोकल पर्सन तेज ओलीका अनुसार जिल्लामा ५७ जना मात्र सक्रिय संक्रमित रहेका छन्। संक्रमितमध्ये सबै होम आइसोलेसनमा छन्। अस्पतालमा कुनै पनि संक्रमितलाई भर्ना गरिएको छैन। यो वर्ष कोरोना संक्रमणबाट कसैको पनि ज्यान गएको छैन। जिल्लामा कुल २१ हजार १५४ जना संक्रमित भएकोमा २० हजार ७४३ जना निको भइसकेका छन्। कोरोनाबाट अहिलेसम्म बाँकेका ३५४ जनाको मृत्यु भएको छ। कोरोना संक्रमणको ग्राफ बढ्दो अवस्थामा रहे पनि रुपन्देहीका सीमानाकाहरूमा संक्रमणको रोकथाम तथा नियन्त्रणका लागि खासै सतर्कता अपनाइएको छैन। बढी आवतजावत हुने बेलहिया नाकामा भने सोधपुछ र शंकास्पद यात्रुहरूको एन्टिजेन परीक्षण हुने गरेको छ। सर्वसाधरणहरूले हेलचेक्य्राइँ गर्दै मास्कसमेत लगाउन छाडेका छन्। स्वास्थ्य कार्यालय रुपन्देहीका प्रमुख गौरव ढकालले कोरोना संक्रमणको ग्राफ बढ्दै गएपछि नाकामा संक्रमणको रोकथाम तथा नियन्त्रणका लागि विभिन्न कार्यहरू भइरहेको बताए। बेलहियाबाहेकका अन्य साना नाकाहरूमा सम्बन्धित स्थानीय तहले आवश्यकताअनुसार हेल्थ डेस्क स्थापना गरी संक्रमणको रोकथाम तथा नियन्त्रणका लागि कार्य गर्ने उनले बताए। सीमावर्ती भारतीय बजार सोनौलीमा दैनिक उपभोग्य वस्तु किनमेल गर्ने जानेलाई आवतजावतमा सहजता छ भने भारतको विभिन्न सहरबाट झिन्टीगुन्टा बोकेर आउने नागरिकलाई सोधपुछ र कोरोना परीक्षण गर्ने गरिएको छ। अन्य साना नाकाहरूमा भने संक्रमणको रोकथाम तथा नियन्त्रणका लागि सतर्कता नअपनाउँदा सर्वसाधरणहरू सहजै आउजाउ गरिरहेका छन्।