आकाशे ताल जुम्लाको गुठीचौरमा गोठालाले पत्ता लगाए
रासंसा/जुम्ला, श्रावण ११,
मुलुकमा प्रकृतिको काखमा रहेका धेरै तालहरू आज पनि मानव समाजको पहुँचबाट धेरै टाढा छन्। विकट भूगोल, असमानुपातिक विकास र पर्यटकीय गन्तव्यहरूको खोज, अनुसन्धानको कमी तथा तिनको संरक्षण अभावमा धेरै तालहरू गुमनामजस्तो अवस्थामा छन्। जुम्लाको पातारासी हिमाल, संसारको उच्च स्थानमा धान फल्ने ठाउँ छुमचौर ज्यूला, जुम्ला तातोपानी गाउँपालिकास्थित पहाड फोडेर निस्केको तातोपानी धारा, लक्षालकृति पैकला ९वीरयोद्धा०, मार्सी धान सुरुआत गरिएको गुरुफोक्टो, चन्दननाथ भैरवनाथ मन्दिर, मष्टो प्रथा, गुठीचौर भेडा अनुसन्धान केन्द्र, तिला त्रिवेणीलगायतका धार्मिक, ऐतिहासिक र पर्यटकीय क्षेत्रहरू अध्ययन, अनुसन्धान र पर्यटनका हिसाबले निकै महत्वपूर्ण मानिन्छन्। प्राकृतिक र पर्यटकीय महत्वका स्थलहरू कर्णालीमा धेरै छन्। यद्यपि ती स्थलहरूको उजागर हुनसकेको छैन। सिङ्गो कर्णाली त्यसमा पनि जुम्ला संस्कृति, सभ्यता, भाषा, कला र साहित्यको मुहान हो भन्नेमा कुनै द्विविधा छैन। पुरातात्विकका साथै प्राकृतिकरूपले पर्यटनको अत्यन्तै सम्भावनायुक्त ठानिन्छ जुम्ला। पर्यटकीयस्थल गुठीचौर गाउँपालिकामा रहेका तालहरूको अवस्था पनि त्यस्तै छ। सो गाउँपालिकाको वडा नं १ मणिसाँघुबाट डेढ दिनको दूरीको चार हजार ७०० मिटरमा अवस्थित आकाशे ताल ९स्काइ लेक०, चार हजार ३०० मिटर उचाइको हिउल्सा ताल र चार हजार मिटर उचाइमा रहेको दूध कुण्डली ताल पर्यटकहरूको पर्खाइमा छन्। जुम्ला तातोपानी गाउँपालिकामा अवस्थित गिडीदह जाने पर्यटकीय पदमार्ग आजसम्म बनेको छैन। सो दहको दक्षिणपूर्वी भागमा रहेका पालेदह, शङ्खदह, जोगिनीदह, नदैडाव पनि ओझेलमा छन्। समुद्री सतहदेखि करिब चार हजार मिटर उचाइमा रहेका यी तालहरूको न प्रचार–प्रसार हुनसकेको छ न त त्यहाँ जाने बाटो नै बनेको छ। त्यसले गर्दा ती तालहरू महत्वहीन अवस्थामा छन्। गोठीचौर गाउँपालिका–१ जुम्लाको प्रशासनिक केन्द्र मणिसाँघुबाट करिब १८ घण्टाको दूरीमा रहेको आकाशे तालमा पहिलोपटक वडाध्यक्ष टोली पुगेर फर्केको हो। ‘यसअघि चौँरी गोठालाहरू मुस्किलले त्यहाँ पुगेका रहेछन्,’ वडाध्यक्ष महताराले भने, त्यो पनि चौँरी हराउँदा खोज्दै जाने क्रममा ताल देखिएको रहेछ।’ ती तालहरू भने सात वर्षअघि चौँरीपालक गोठालाहरूले पत्ता लगाएका थिए। ती तालहरू रहेको क्षेत्रमा भने तीन दिनअघि सोही वडाका वडाध्यक्ष अर्जुनकुमार महताराको टोली अवलोकन गरेर फर्केको छ। उनीसँगै त्यहाँका केही स्थानीय पनि तालमा पुगेका थिए। आकाशको जस्तो निलो रङ भएकाले त्यसलाई आकाशे ताल भनिएको उनको भनाइ छ। त्यहाँ पुगेको वडाध्यक्ष महताराको टोलीले आकाशे तालसहित हिउल्सा ताल, दूध कुण्डली प्रकाशमा ल्याएको छ। पर्यटन विकास र प्रवर्द्धनबाट अर्थतन्त्रमा वृद्धि हुने भन्दै उनले पर्यटकहरूको सहज पहुँच एवं आवतजावतका लागि त्यहाँसम्मको बाटो जोड्ने पहलमा लागेको बताए। कान्छो कैलाश पर्वतका रूपले चिनिने यो तालको शिरमा दूध कुण्डली हिमाल अवस्थित छ। शिरमा हिमाल, त्यसको तल कालापत्थर र तालको वरिपरि हरियो बुट्यान छ। निकै मनमोहक देखिने उक्त ताल घुम्न एक घण्टाको समय लाग्ने वडाध्यक्ष महताराले जनाए।
ताल पत्ता लगाउन भूमिका खेलेका सोही वडाका स्थानीय साङ्गे गुरुङका अनुसार विसं २०७२ मा चौँरी खोज्दै जाने क्रममा तालमा पुगिएको बताए। त्यहाँ सजिलै मान्छे नपुग्ने र त्यसको महत्वबारे थाहा नभएकाले पनि आकाशे तालको कुरा बाहिर आउन नसकेको उनले बताए। गुरुङका अनुसार तिब्बतीयन भाषामा यसलाई म्हाङ्ग्वो युञ्जो भन्ने गरिन्छ। उनका अनुसार ताल पुग्दा निकै जाडो भए पनि त्यहाँ पुग्ने मार्ग विकासले पर्यटकहरूरुको आकर्षणलाई न्यानो बनाउनेतर्फ जोड दिइने छ। त्यसो हुन सकेमात्र पर्यटनका गतिविधि बढ्ने र यसले आत्मनिर्भर अर्थतन्त्रमा सहयोग पुग्ने वडापालिकाले जनाएको छ।