बलात्कार प्रयास असफल भएपछि बिहारमा १५ वर्षीया किशोरीलाई जिउँदै जलाइयो

Share to:

एजेन्सी,

छिमेकी राष्ट्र भारतको बिहारको सीतामढी जिल्लामा १५ वर्षीया किशोरीलाई बलात्कार प्रयास गरेपछि पेट्रोल छर्केर जलाएको घटना सार्वजनिक भएको छ । शरीरको ४० प्रतिशतभन्दा बढी भाग जलेको किशोरीको हाल मुजफ्फरपुर अस्पतालमा उपचार भइरहेको छ । सीतामढीको पुपरी थानाका प्रहरी चौकी इन्चार्ज विजय कुमारले भने, ‘घटना जुन १९ दिउँसो १ बजेतिर भएको हो। पीडितको भनाइअनुसार एक व्यक्तिले उनीनजिक आएर बलात्कार गर्ने प्रयास गरे। बलात्कार प्रयास असफल भएपछि ती व्यक्तिले किशोरीको शरीरमा पेट्रोल छर्केर आगो लगाए। कारबाही गर्दै प्रहरीले आरोपीलाई न्यायिक हिरासतमा पठाएको छ। ‘अभियुक्तको अर्को सहयोगी पनि घटनामा रहेको स्थानीय सञ्चारमाध्यमले लेखे पनि स्थानीय प्रहरी चौकीले भने उल्लेख गरेको छैन । स्थानीय पत्रकार मोना पटेलले भनिन्, ‘पीडित अहिले अलिअलि मात्र बोल्दै छिन् । त्यसैले यो कुरा स्पष्ट हुन समय लाग्नेछ ।’ पीडित परिवार किसानी पेशा गर्छन् । उनका भाइले स्थानीय मिडियालाई भिडियो अन्तर्वार्तामा भने, ‘उनी बिहान करिब १० बजे पापालाई खाना लिएर खेतमा गएकी थिइन्। पापा खाना खाइसकेर औषधि लिन अस्पताल गए। यसैबीच करिब १२.४५ बजे त्यो केटा आएर उनलाई बलात्कारको प्रयास गरेर आगो लगायो। हामीलाई गाउँलेहरूले खबर गरेका थिए। बहिनीलाई उपचारका लागि अस्पतालमा भर्ना गरिएको छ। हामीलाई उनी बाँच्छिन् भन्ने लाग्दैन।’

Like