केटीको पछि लाग्ने लोखर्के पक्राउ
रोचक प्रसंग
संसारमा समय समयमा अचम्ममका घटनाहरु हुने गर्दछन्–जो सजिलै बिश्वास गर्ने खालका हुँदैनन् । हालै जर्मनीमा यस्तै विचित्रको घटना घटेको छ । जर्मनीको नर्थ राइन वेस्टफालियास्थि बोट्रोपकी एक युवतीको पछि लागेको आरोपमा एउटा लोखर्केलाई प्रहरीले पक्राउ गरेको छ । एकजना महिलाले एउटा लोखर्के आफ्नो पछि लागेर हैरान बनाएको भनि पुलिसमा उजुरी दिएपछि प्रहरी कारवाहीमा उत्रिएको थियो । गल्लीमा टहलिरहेको मौकामा उक्त लोखर्केलाई आफुलाई पिछा गरेको र निरन्तर पिछा गर्न नछाडेको गुनासो ती महिलाको थियो । अन्ततः पुलिसले आक्रामक शैलीको उक्त लोखर्केलाई पक्राउ गर्यो । आफुले लोखर्केबाट मुक्त हुनका लागि अनेक उपाय गरेपनि नसकेको र लोखर्के आफ्नो पछि लाग्न नछाडेको भन्दै ती महिलाले फोनमार्फत प्रहरीमा उजुरी दर्ता गराएर आफुलाइ सहयोग गर्न अनुरोध गरेकी थिइन् । पछि पुलिसले उक्त लोखर्केलाई समातेर चौकीमा लगेपछि पो थाहा भयो की उक्त लोखर्के निकै कमजोर रहेछ । सायद जिउ कमजोर तथा विरामी भएकाले उसले मानिसको सहयोग तथा साथ खोज्दै वा कुनै खानेकुरा माग्दै ती युवतीको पिछा गरिरहेको होला । युवतीको पछि लाग्ने उक्त लोखर्केलाई पक्राउ गरेपछि पुलिसले कारवाही गर्नुको साटो उसको स्वास्थ्य अवस्था देखेर उल्टै मह पो खुवायो । प्रहरीले आफ्नो फेसबुक पेजमा लोखर्केलाई मह खुवाइरहेको भिडियो पोष्ट गरेको छ । उक्त लोखर्केलाई वन्यजन्तु उद्धार केन्द्रमा पठाइने बताइएको छ ।