सेयर बजार कारोबार १ अर्ब ४७ करोडमा फेरि ओरालोतिर खुम्चियो
रासंसा/काठमाण्डौ, ज्येष्ठ २६,
मुलुकमा सेयर बजार फेरि ओरालोतिर लागेको छ। सेयर कारोबारको अघिल्लो दिन नेप्से परिसूचक ६०.२२ अंकले बढेको बजारमा आज फेरि दोहोरो अंकको गिरावट आएको छ। यसदिन नेप्से परिसूचक १७.५८ अंकले घटेर २०६२.८६ विन्दुमा अडिएको छ। सेन्सेटिभ इन्डेक्स पनि ३ अंक बढीले घटेको छ। बुधबार नेप्से परिसूचक ६०.२२ अंकले बढेर २०८०.४४ विन्दुमा अडिएको थियो। सो दिन २३१ कम्पनीको ५० लाख ५ हजार ८१४ कित्ता सेयर १ अर्ब ६४ करोड ३५ लाख ६ हजार ६०८ रुपैयाँमा कारोबार भएको थियो। सेयर बजारमा दोहोरो अंकको गिरावट आएपछि कारोबार रकम पनि घटेको छ। आज २२९ कम्पनीको ४१ हजार ५६ हजार १०४ कित्ता सेयर १ अर्ब ४७ करोड २६ लाख ९० हजार ५५४ रुपैयाँमा खरिद बिक्री भयो। बुधबार १ अर्ब ६४ करोड बढीको सेयर कारोबार भएको थियो। कारोबारमा आएका १३ वटै समूहको सूचक ओरालो लाग्यो। बुधबार सबै समूहको सूचकमा हरियाली छाएको थियो। फाइनान्स समूहको सर्वाधिक २ प्रतिशत बढीले सेयर मूल्य घटेको छ। होटल एन्ड टुरिज्मको २.०२ प्रतिशतले घट्दा ३ समूहको सूचक १ प्रतिशत बढीले घटेको छ। दोहोरो अंकले घटेको सेयर बजारमा २ कम्पनीको मूल्यमा सकारात्मक सर्किट लेभलमा कारोबार भयो। उपकार लघुवित्त वित्तीय र बलेफी हाइड्रोपावरको सेयर मूल्य १० प्रतिशतले बढेको हो। कारोबार रकमका आधारमा कुमारी बैंक अग्रस्थानमा रह्यो। सो बैंकले ६ करोड ७४ लाख बढीको सेयर कारोबार भयो।