अमेरिकी उपमन्त्री जिया काठमाण्डौं आइपुगिन्
रासंसा/काठमाण्डौ, ज्येष्ठ ५,
मुलुकमा अमेरिकी उपमन्त्री एवं तिब्बती मामिलाका संयोजक उज्रा जिया काठमाडौं आइपुगेकी छन्। नेपालका लागि अमेरिकी राजदूत रेन्डी बेरीले उपमन्त्री जियालाई त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा स्वागत गरेका छन्। हिमाञ्चल प्रदेशमा अमेरिकी उपमन्त्री जियाले तिब्बती सरकारका प्रमुख पेन्पा छिरिङसँग भेट गरेकी थिइन्। भारतको हिमाञ्चल प्रदेशस्थित धर्मशालामा धार्मिक नेता दलाई लामालाई भेटेर उनी शुक्रबार अपरान्ह काठमाडौं आइपुगेकी हुन्। अमेरिकी सरकारको तर्फबाट तिब्बती मामिला संयोजक जियाले नेपालमा रहेका तिब्बती शरणार्थीहरुको पछिल्लो अवस्था र उनीहरुले खेपिरहेका समस्याको बारेमा प्रधानमन्त्री देउवासँग छलफल गर्ने तयारी रहेको गृह मन्त्रालय स्रोतले जनाएको छ। जिया नागरिक सुरक्षा, प्रजातन्त्र र मानव अधिकार हेर्ने अमेरिकी उपमन्त्री हुन्। नेपाल बसाईका क्रममा अमेरिकी उपमन्त्री जियाले राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री शेरबहादुर देउवा, गृहमन्त्री बालकृष्ण खाँण, परराष्ट्रमन्त्री नारायण खड्कासँग भेट गर्ने कार्यक्रम रहेको छ। सन् १९९५ पछि नेपाल सरकारले तिब्वती शरणार्थीहरुलाई ‘शरणार्थी परिचय पत्र’ दिएको छैन। शरणार्थी परिचयपत्र नहुँदा नेपालमा रहेका तिब्बती शरणार्थीहरु मानव अधिकारका आधारभुत अधिकारबाटै बञ्चित हुँदै आएको नेपालमा रहेका शरणार्थीका अगुवाहरुले बताएका छन्। उपमन्त्री एवं तिब्बती मामिला हेर्ने अमेरिकी संयोजक जिया नेपाल आउने समाचार सार्वजनिक भएपछि चीनले उनको भ्रमणलाई नजिकबाट नियालेको छ। नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले बुधबार गृहमन्त्री खाणलाई भेटी अमेरिकी उपमन्त्रीको भ्रमणबारे चासो राखेकी थिइन्। उपमन्त्री जियाले प्रधानमन्त्री देउवा लगायत नेपाली उच्च अधिकारीहरुसँगको भेटमा शरणार्थी परिचपत्र पत्र नपाएका तिब्बतीहरुलाई तत्काल शरणार्थी परिचय पत्र दिन आग्रह गर्ने सम्भावना रहेका परराष्ट्र स्रोतले बताएको छ। गृह स्रोतका अनुसार, राजदूत यान्छीले नेपालले लिएको एक चीन नीतिको अडान कायमै रहनेमा आफं विश्वस्त रहेको गृहमन्त्री खाँणसँग भनेकी थिइन्। जवाफमा गृहमन्त्री खाँणले नेपाल–चीन सम्बन्ध र चीनको सुरक्षा मामिलामा आफू संवेदनशिल रहेको जवाफ दिएका थिए।