एमालेलाई विजयी गराइदिनुभयो भने इटहरीको विकासको जिम्मा मेरो भयो : ओली

Share to:

रासंसा/सुनसरी, बैशाख २४,

मुलुकमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले इटहरी विकासको जिम्मा आफ्नो भएको बताएका छन् । इटहरीमा शनिबार भएको चुनावी सभालाई सम्बोधन गर्दै ओलीले नेकपा एमालेलाई जिताएको अवस्थामा आफूले इटहरी बनाउने जिम्मा लिएको बताएका हुन् ।
‘भोट हाल्ने काम तपाईँहरूको, विजयी बनाउने काम तपाईँहरूको,’ ओलीले चुनावी सभालाई सम्बोधन गर्दै भने, ‘विकासको जिम्मा उहाँहरूले लिनुहुन्छ, उहाँहरू मेरो प्रतिनिधि हो, त्यसको जिम्मा म लिन्छु, इटहरीको विकासको जिम्मा म लिन्छु ।’ बजेटको अभाव हुँदैन, आगामी निर्वाचनमा कस्को सरकार भन्छ भन्ने कुरा मैले भन्नैपर्दैन । बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा इटहरी उपमहानगरपालिकामा नेकपा एमालेको तर्फबाट मेयरमा यामकुमार सुब्बा र उपमेयरमा संगीता चौधरी चुनावी मैदानमा छन् । इटहरी पूर्वाञ्चलको केन्द्रविन्दु रहेको उदृत गर्दै ओलीले भने, ‘इटहरीलाई जताबाट आउनेले पनि आहा इटहरी भन्न सकुन् ।’ उनले नेकपा एमालेले जितेको अवस्थामा इटहरीको चौतर्फी विकास हुने बताए । ‘यहाँ छाप्रा देख्न नपरोस्, भत्किएका बाटा देख्न नपरोस्, थोत्रा भएका छाना, भित्ता भएका स्कुल देख्न नपरोस्,’ ओलीले भने, ‘राम्रा अस्पताल देख्न परोस्, राम्रा विद्यालय देख्न परोस्, राम्रा कार्यालयहरू देख्न परोस्, त्यस ढंगले यो नगरको विकास होस् ।’ ‘भरतपुरमा रेनु दाहाल नजिते मुलुक दुर्घटनामा जान्छ भन्नु प्रचण्डको हारको स्वीकारेक्ति हो,’ ओलीले भने, ‘प्रचण्डले दुर्घटनाको धाक धम्की नदिए हुन्छ । अन्तिममा उनले चिसै पानीले नुहाउने हो। देउवालाई धम्की दिन सक्नुहुन्छ । हिजो पनि धम्की दिनुभएछ क्यारे, प्रचण्डको छोरीलाई मैले उम्मेदवार बनाएको हो, उहाँले होइन भनेर धामी बके झैं बक्नुभएछ देउवाजी ।’ ओलीले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकल दाहाल ‘प्रचण्ड’को अभिव्यक्तिको जवाफ समेत दिए । बिहीबार भरतपुरमा सत्ता गठबन्धनले आयोजना गरेको चुनावी सभालाई सम्बोधन गर्दै प्रचण्डले, ‘भरतपुर मेयरमा रेनु दाहालले नजिते मुलुक दुर्घटनामा जाने,’ भन्दै दिएको अभिव्यक्तिको ओलीले जवाफ दिएका हुन् । ओलीले गठबन्धनका नाममा छोरी, बुहारी, श्रीमतीलाई महिला कोटा दिलाउने गठबन्धनले अन्यत्र महिला उम्मेदवारबाट वञ्चित गरेको आरोप लगाए । अहिले सत्तागठबन्धनमा रहेका पाँचदलले स्थानीय तहको निर्वाचनमा एउटा पनि वडामा एक्लै प्रतिष्पर्धा गर्ने आँट नदेखाएपछि सबै कमजोर दलह एकठाउँमा आएर गठबन्धन गरेको ओलीको आरोप लगाए । ‘सरकारमा गएर बाँडीचुडी खान नेपाली कांग्रेस र माओवादी गठबन्धन गरेर चुनावमा गएका हुन्,’ ओलीले भने, ‘वडामा एक्लै चुनाव लड्ने आँट नभएकाहरूले गठबन्धन गरेका छन् । गठबन्धन टालाटुली जोडेर बनाएको पुतली हो । यसको कुनै उद्देश्य छैन ।’ उनले इटहरीमा गठबन्धनका मेयर उपमेयरका उम्मेदवारले विजयी हुने दिवासप्ना नदेख्न समेत जिकिर गरे ।

Like