वरियता मिचेर प्रहरी आइजीपी बनाएकोप्रति शेखर कोइरालाको असन्तुष्टि
रासंसा/काठमाण्डौ, बैशाख १८,
मुलुकमा नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले सरकारले वरियता मिचेर नेपाल प्रहरीमा प्रहरी महानिरीक्षक (आइजीपी ) नियुक्त गरेकोप्रति असन्तुष्टि जनाउनु भएको छ । नेपाल प्रहरीको कमाण्ड समाल्न ४ जना अतिरिक्त महानिरीक्षक (एआईजी) विश्वराज पोखरेल, सहकुल बहादुर थापा, धिरज प्रताप सिंह र रवीन्द्र बहादुर धानुकबीच प्रतिस्पर्धा थियो । उनीहरु चारैजना २०४९ चैत ११ मा इन्स्पेक्टरमा भर्ना भएका थिए । कोइरालाले सामाजिक संजाल ट्वीटर मार्फत असन्तुष्टि जनाउनु भएको हो । आइतबार बसेको मन्त्रिपरिषद बैठकले पहिलो वरियतामा रहेका प्रहरी अतिरिक्त महानिरीक्षक विश्वराज पोखरेललाई आइजीपी नबनाई तेस्रो वरियतामा रहेका धिरजप्रताप सिंहलाई आइजीपी बनाउने निर्णय गरेको थियो ।कोइरालाले वरियता मिचेर सरकारले गरेको निर्णयले सिंगो प्रहरी संगठनलाई फेरी विबादमा ल्याएको ट्वीटमा उल्लेख गर्नुभएको छ । बर्तमान प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारले धिरज प्रताप र रविन्द्रलाई भने २०७८ चैत १७ मा एआइजी बनाएको थियो । तर एउटै मितिमा भर्ना भएपनि एआइजीमा भने फरक समयमा बढुवा भएका थिए । विश्वराज पोखरेललाई तत्कालीन केपी शर्मा ओली नेतृत्वको सरकारले २०७७ मङ्सिर २५ मा एआईजीमा बढुवा गरेको थियो । सहकुललाई ओली नेतृत्वकै सरकारले २०७८ असार २४ मा एआईजी बनाएको थियो ।