‘काठमाडौंलाई हिंड्न योग्य सहर बनाउँछु’ – सृजना सिंह
रासंसा/काठमाण्डौ, बैशाख १५,
मुलुक यतिखेर स्थानीय तह निर्वाचनमय भएको छ । काठमाण्डौ महानगरपालिकाको मेयरकी उम्मेदवार सिर्जना सिंहले काठमाडौंलाई हिंड्न योग्य सहर बनाउने बताएकी छिन्। राजधानीमा संकल्प प्रस्ताव प्रस्तुत गर्दै सिंहले काठमाडौंलाई सहज रुपमा हिँड्न योग्य बनाउने बताएकी हुन्। उनले भनिन्, ‘काठमाडौंलाई हिंड्न योग्य सहर बनाउँछु। सबैलाई सहज रुपमा हिंड्न योग्य बनाउँछु। सडक जाम मुक्त बनाउन पहल गर्छु। कहिले पनि खाल्डा खुल्डी हुन दिन्नँ। ’सिंहले आफ्नो पहिलो प्राथमिकता सुशासन रहेको बताइन्। उनले भनिन्, ‘शुसासनमा जोड दिन्छु। महानगरभित्र भ्रष्टाचारमुक्त सेवा दिन्छु। ’ ‘सिर्जना सिंहका सात ‘स’ को संकल्प’ नाम दिइएको पत्रमा सेवा सुशासन, स्वास्थ्य, शिक्षा तथा सामाजिक सुरक्षा, स्वच्छ र सफा सहर दिगो पर्यावरण, सहरी सुरक्षा, संस्कृति, सम्पदा र सभ्यता, सबल र समावेशी पूर्वाधार तथा स्वावलम्बी महिला, सबल युवा, सिर्जनाशील महानगरवासी जस्ता सातवटा प्रतिबद्धता छन्। उनले आफ्नो विशेष ध्यान महिलामा हुने बताइन्। ‘उहाँहरुको आर्थिक, सामाजिक स्थिति बुझेको छु। विपन्न वर्गका महिला दिदी बहिनीको श्रमको सम्मान गर्दै विशेष राहत प्याकेज ल्याउँछु,’ सिंहले भनिन्। उनले काठमाडौं रातीको समयमा पनि झिलिमिली बनाइने बताइन्।