कांग्रेसलाई ५८५ पालिका दिन सक्नुहुन्छ ? प्रचण्डलाई शेखरको प्रश्न
रासंसा/काठमाण्डौ, चैत्र १९,
मुलुकमा नेपाली कांग्रेसका नेता शेखर कोइरालाले अहिलेको गठबन्धनले मूर्तरूप नलिने बताउनुभएको छ । विचार नै नमिल्ने पार्टीहरूबीच गठबन्धन भएकोले नतिजा सोचेजस्तो नआउने उहाँको भनाइ छ । प्रचण्डले भरतपुरलाई मात्रै हेरेर गठबन्धन प्रस्ताव गरेको नेता कोइरालाको आरोप छ । ‘निर्णय कार्यान्वयन गर्न अत्यन्तै गाह्रो छ, विचारै नमिल्ने पार्टीसँग तालमेल गरेर जानुपरेको छ, गर्ने त भनिदियो तर कसरी ?,’ उहाँले भन्नुभयो, ‘अघिल्लो पटक जुन–जुन पार्टीले जितेको छ, त्यो ठाउँमा सोही पार्टीलाई दिने र एमालेले जितेको ठाउँमा दोस्रो पार्टीलाई दिने प्रस्ताव प्रचण्डजीले गर्नुभो । पाँच सय ८५ पालिका कांग्रेसलाई दिन सक्नुहुन्छ ?’ सरकार गठनको बेला गरिएको गठबन्धन चुनावसम्म लैजाँदा नकारात्मक असर पर्ने उहाँको तर्क छ । ‘तीन सय १९ पालिकामा हामी दोस्रो भएका छौं । दुई सय ६६ मा हामी पहिलो भएका छौं । पहिलो र दोस्रोसहित लिँदा कांग्रेसको भागमा पाँच सय ८५ पालिका पर्छ । भरतपुरलाई दिमागमा राखेर मात्रै बहस भइरहेको छ,’ उहाँ भन्नुहुन्छ, ‘उनको प्रस्तावअनुसारको पालिका दिन साँच्चै तयार हुनुहुन्छ ? त्यो गर्न सक्नुहुन्छ ?’ पोखरामा प्रजातान्त्रिक विचार समाजको कार्यक्रमलाई सम्बोधन गर्दै कोइरालाले शनिबार अघिल्लो निर्वाचनपछि ३६ लाख नयाँ मतदाता थपिएका भन्दै उनीहरूका लागि पनि सोचेर निर्णय लिन आग्रह गर्नुभयो । ‘दुई वटा धारजस्तो बन्यो । एउटा धार गठबन्धन गर्ने र अर्को गठबन्धन नगर्ने । हिजो गठबन्धन किन गर्यौं भन्दा तत्कालिन सरकारले संविधान कुल्चिएर अगाडी बढ्न थाल्यो । नेपाली कांग्रेसको नेतृत्वमा अरु दल सामेल भए,’ कोइराला अघि भन्नुहुन्छ, ‘त्यो गठबन्धन निर्वाचनसम्म जानुपर्छ भन्ने तर्क छ । सरकार सन्चालन गर्ने गठबन्धन एउटा हो, निर्वाचनमा तालमेल गर्नु अर्को हो भन्ने बुझ्नु जरुरी छ । त्यो नबुझिकन गठबन्धनलाई निरन्तरता दिनु अलि मिल्दैन ।’ ‘पहिलो पटक उनीहरूले मत दिँदैछन् । उनीहरूलाई हसिया हथौडामा भोट हाल भन्यौं भने आमनिर्वाचन र त्यसपछिका चुनावमा रुखमा मत हाल भनेर कसरी भन्ने ? यो गम्भीर विषय हो,’ उहाँले भन्नुभयो, ‘यो कुरालाई कसरी म्यानेज गर्ने ? तालमेल गर्ने कुरालाई म खराब भन्दिनँ । तर, यो कुरालाई पनि हामीले मध्यनजर गर्नुपर्छ । एकातिर घरघर जाऔं कांग्रेस जिताऔं भनेका छौं । अर्कोतिर माओवादीलाई भोट हाल भनेका छौं । यो त मिलेन नि ।’