वर्षौकौ रेल चढ्ने सपना साकार

Share to:

रासंसा/धनुषा, चैत्र १९,

मुलुकमा जयनगरबाट औपचारिकरुपमा गुडेको रेल हेर्न प्रत्येक स्टेशनमा हजारौँ स्थानीयको भीड लागेको थियो। रेलकै प्रतिक्षाका लागि जनकपुरधामस्थित रेल्वे स्टेशनमासमेत हजारौँ नागरिकको विहान १० बजे देखि दिउँसोसम्म भीड लागेको थियो। स्वागतकै लागि नेपाल भारतको झण्डा लिएर उभिएकी छात्रा शिवानी साहले रेलको यात्रा पहिलो अनुभव रहेको बताइन्। १० वर्षिया शिवानी रेलमा चढेर जनकपुरधामसम्म आउन पाउँदा एकदमै खुशी थिइन्। उनले भनिन् ‘रेल चढ्नका लागि म एकदमै उत्साहित थिएँ, कहिल्यै मैले रेलमा यात्रा गरेको थिइन् तर स्वागतकै लागि भएपनि केही समय रेलमा यात्रा गर्न पाएँ एकदमै खुशी छु।’ दुई प्रधानमन्त्रीले संयुक्तरुपमा हरियो झण्डा देखाएपछि भारतको जयनगरबाट नेपालको जनकपुरधामस्थित कुर्थासम्मका लागि गुडेको थियो नेपाली रेल। नेपाली रेललाई स्वागत गर्नका लागि प्रत्येक स्टेशनमा नेपाली विद्यार्थीहरु नेपाल र भारतको झण्डा बोकेर उभिएका थिए। ती विद्यार्थीहरुलाई रेलमा सवार गराएर जनकपुरधामसम्म ल्याइएको थियो। टिभी वा भिडियोमा मात्रै रेल गुडेको देखेको थिएँ अर्का छात्रा रञ्जु यादवले भनिन् ‘आज आफ्नै देश आफ्नै जन्मभूमिमा रेल गुडेको देख्दा एकदमै खुशी लागेको छ।‘ १२ वर्षिया रञ्जु आफू ३/४ वर्षकै हुँदा नेपाली रेल बन्द भई सकेको थियो अब फेरी गुडेको र रेलको पहिलो यात्राले मलाई उत्साही बनाईरहेको उनले बताइन्। रेल्वेलाई व्यवस्थित गर्ने उद्देश्यले २०२१ सालमा नेपाल यातायात संस्थान अन्तर्गत राखियो। २०२५ सालमा सरकारले यसको नाम जनकपुर–जयनगर रेल्वे राख्ने निर्णय गर्यो। रेल्वेको पहिलो प्रबन्धकको रुपमा टेकजंग थापा नियुक्त भएका थिए। २०५८ मंसिर मसान्तमा यातायात संस्थान विघटन भयो र २०६१ जेठ १८ गते रेल्वे सेवालाई नेपाल रेल कम्पनीको रुपमा कम्पनी रजिस्ट्रारको कार्यालयमा दर्ता गरिएपछि हाल जनकपुर–जयनगर रेल्वे नेपाल रेल्वेको रूपमा चिनिन्छ। विक्रम सम्वत् १९९४ सालमा विवाह पञ्चमीका दिन भारतमा शासन गरिरहेका तत्कालीन बिट्रिस (इष्ट ईण्डिया) कम्पनीले महोत्तरी जंगलबाट सखुवाको गोलिया काठ ओसार्न निर्माण गरेको जनकपुर रेल्वे महोत्तरीको बिजुलपुराबाट भारतको जयनगर ५२ किलोमिटर सञ्चालनमा आएको थियो। तर, २०५९ सालमा आएको बाढीबाट विग्ही पुल क्षतिग्रस्त भएयता रेल सेवा जनकपुरदेखि जयनगर २९ किलोमिटरमा सीमित हुन पुगेको थियो। जनकपुर–जयनगरका लागि दैनिक ३ सेवा सञ्चालन हुने गरेका थिए। सुरुमा इन्धनकोरुपमा कोइला तथा दाउरा प्रयोग गरी चल्ने रेल विक्रम सम्वत् २०१८ सालदेखि यात्रु ओसारपसार कार्यको थालनी गरेको थियो। श्रम तथा यातायात व्यवस्था मन्त्रालय अन्तर्गत रहेको रेल्वे सेवालाई पछिल्लो भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्रालय अन्तर्गत रेल विभाग गठन भएपछि त्यसले हेर्दै आएको छ। जनकपुर रेल्वे व्यवस्थापनले २०६० भदौमा जनकपुर रेल्वे वर्तमान अवस्था र सुधार हुनुपर्ने कुराहरु समेटेर सरकारलाई रिपोर्ट बुझाएको थियो। जसमा ७५ प्रतिशत रेल्वे ‘स्लीपर’ जीर्ण भइसकेको, सिग्नल र टेलिकम्यूनिकेसनको व्यवस्था नभएकाले सूचना आदान प्रदान गर्न कठिनाइ हुने गरेको, इन्जिन र यात्रुवाहक कोचको मर्मत गर्नुपर्ने लगायत विषयप्रति ध्यानाकर्षण गराइएको थियो। तर अन्ततः त्यो रेल सेवा २०७१ साल माघ महिनादेखि बन्द भएको थियो। त्यसपछि नियमितरुपमा शनिवार देखि विधिवत सुरु भएको हो।

Like