निक्षेप संकलन तथा कर्जा विस्तारमा नेपाल बैंकको वृद्धि
रासंसा/काठमाण्डौ, चैत्र ५
मुलुकमा नेपाल बैंकले निक्षेप संकलन तथा कर्जा विस्तार दुबैमा वृद्धि भएको जनाएको छ । फागुन महिनामा २७ वटा बाणिज्य बैंकहरुमध्ये निक्षेप संकलन तथा कर्जा प्रवाह वृद्धिको आधारमा नेपाल बैंक प्रथम स्थानमा रहेको हो । २७ बाणिज्य बैंकहरुमध्ये १७ वटा बाणिज्य बैंकहरुको निक्षेप बृद्धि भएको छ भने १० वटा बाणिज्य बैंकहरुको निक्षेपमा गिरावट भएको बताइएको छ । बाणिज्य बैंकहरुको औसत निक्षेप बृद्धिदर ५ प्रतिशत रहेको छ । त्यसैगरि २७ वटै बाणिज्य बैंकहरुको कर्जा विस्तारमा बृद्धि भएको छ । औषतमा बाणिज्य बैंकहरुको कर्जा विस्तारमा १६ प्रतिशतको बृद्धि भएको हो । अहिले बाणिज्य बैंकहरुसँग कुल निक्षेप ४३ खर्ब ३३ अर्ब रुपैयाँ पुगेको छ भने कुल ऋण ४१ खर्ब ७२ अर्ब रुपैयाँ पुगेको छ । गत फागुन महिनामा नेपाल बैंकको निक्षेप २०७८ असार मसान्तको तुलनामा २१.६७ प्रतिशतले बृद्धि भएको देखिएको छ भने कर्जा विस्तार ३०.३५ प्रतिशतले बृद्धि भएको छ । फागुन महिनामा मात्रै बाणिज्य बैंकहरुको निक्षेप २२ अर्ब रुपैयाँले बढेको छ भने कर्जा प्रवाह १७ अर्ब रुपैयाँले विस्तार भएको छ । नेपाल बैंकर्स संघले उपलब्ध गराएको तथ्याङ्क अनुशार यस अवधिमा १९ वटा बाणिज्य बैंकहरुको कर्जा निक्षेप अनुपात (सिडि रेसियो) नेपाल राष्ट्र बैंकले तोकेको सिमा ९० प्रतिशत भन्दा बढि रहेको छ भने नेपाल बैंकको कर्जा निक्षेप अनुपात (सिडि रेसियो) भने ९०.०३ प्रतिशत रहेको छ । औसतमा बैंकहरुको कर्जा निक्षेप अनुपात ९०.९९ प्रतिशत रहेको छ ।