लालपुर्जा पाएपछि मुस्कुराए कीर्तिपुरको पाँगाबासी, आफ्नै जग्गाको लालपुर्जा लिन ५७ वर्षको मिहिनेत !

Share to:

रासंसा/काठमाण्डौ, चैत्र १,

मुलुकमा आफूले उपभोग गरिरहेको जग्गा आफ्नै नाममा दर्ता हुनु नागरिकको मौलिक अधिकार नै हो । तर कीर्तिपुरको पाँगामा रहेको खाँचो टोलका ३२ परिवारले आफ्नै घरजग्गा आफ्नो नाममा ल्याउन ५७ वर्ष कुर्नुपर्‍यो । पटकपटकको ताकेता, जनप्रतिनिधिसँग गुनासो र नापी कार्यालयका हाकिमलाई भन्दा भन्दा थाकेका खाँचो टोलवासीले अब लालपुर्जा पाएका छन् । तीन पुस्ताभन्दा बढी समय एउटै स्थानमा बिताएको भए पनि उनीहरूले प्रयोग गरिरहेको घर र जग्गाको लालपुर्जा उनीहरूको नाममा थिएन । तत्कालीन समयमा नापी गर्दा छुट्टाछुट्टै कित्ताकाट नगरी गाउँ ब्लकको रूपमा मात्रै नापी हुँदा उनीहरूले आफ्नै जग्गाको लालपुर्जा प्राप्त गर्न सकेका थिएनन् । नापी विभाग, नापी कार्यालय कलङ्की र कीर्तिपुर नगरपालिकाको संयुक्त पहलमा मंगलबार कीर्तिपुरको पाँगामा रहेको खाँचो टोलका ३२ घर परिवारलाई भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री शशी श्रेष्ठले लालपुर्जा हस्तान्तरण गरिन् ।
सरकारले जग्गाको हदबन्दी कायम गर्ने निर्णय गरेसँगै २०२१ सालमा देशैभर नापी भएको थियो । २०१९ सालदेखि भएको नापी कीर्तिपुर क्षेत्रमा २०२१ सालमा भएको नापी विभागका उप महानिर्देशक सुशील डंगोलले बताए । उक्त समयमा नापी गर्दा खाली जग्गाको नापी राम्रोसँग भएको भए पनि बाक्लो बस्ती रहेको स्थानको नापी ब्लकमा भएको थियो । घनाबस्ती भएको स्थानको क्षेत्रफललाई छुट्टाछुट्टै नापी नगरी पुरै टोललाई एउटै कित्तामा राखेर नापी गरिएको थियो । छुट्टाछुट्टै नापी गर्न समय लाग्ने र झन्झटिलो हुने भएकाले त्यतिबेला ‘गाउँ ब्लक’का रूपमा नापी गरिएको डंगोलले बताए । यही विषयले बारम्बार पिरोलिरहेको अवस्थामा नापी विभाग अन्तरगतको नापी कार्यालय कलङ्कीले यसपटक कीर्तिपुरको पाँगोमा रहेको खाँचो टोलमा नापी गरी कित्ताकाट गर्दै जग्गा उपभोगको आधारमा उनीहरूलाई लालपुर्जा प्रदान गरेको हो । हुन त उक्त टोलमा २०६५ सालदेखि २०६९ सालसम्म नापी भएको नापी विभागले जनाएको छ । यद्यपि विविध कारणले गर्दा समयमै लालपुर्जा दिन नसकिएको कारण पहिलो नापी भएको ५७ वर्षपछि लालपुर्जा दिन सकिएको नापी विभागले बताएको छ । पछि नापी हुने भनिए पनि त्यसपछि उक्त क्षेत्रको नापी हुन सकेन । त्यहाँका स्थानीय जनप्रतिनिधि, राजनीतिक दल आदिले पटकपटक हाल साबिक र नापीका लागि आग्रह गरेको भए पनि नापी कार्यालयले कुनै चासो दिएन । गाउँ ब्लकको रूपमा रहेको जग्गा त्यहाँका स्थानीयले आ–आफ्नै नाममा गरिदिन आग्रह गरे पनि त्यो सम्भव नभएपछि वर्षौँदेखि अंशवण्डा, धितो बन्धक आदिमा समस्या परिरहेको थियो । लालपुर्जाकै लागि वर्षौँदेखि सङ्घर्ष गरेका रमेश श्रेष्ठले पनि आफू जन्मनुभन्दा १९ वर्ष पहिले भएको नापीको लालपुर्जा आफू ६० वर्ष पुगेपछि पाएको भन्दै आश मारिसकेको कुरा प्राप्त हुँदा खुसी मिलेको बताए । रमेशले रातोपाटीसँग भने, ‘बाउबाजेको पालामा नापी भयो, आफ्नै जग्गाको लालपुर्जाचाहिँ बल्ल पाएँ । धेरै खुसी लागेको छ । अबचाहिँ मेरो आफ्नै जग्गा हो जस्तो लाग्यो ।’ आफ्नो सासू आमाको पालादेखि नै लालपुर्जाको अपेक्षा गर्दै गरेकी खाँचो टोलकी मनमाया सिंहले लालपुर्जा पाएपछि अत्यन्तै खुसी लागेको बताइन् । लालपुर्जा आउँछ आउँछ त भनेको तर लालपुर्जा नै नपाएको अवस्थामा लालपुर्जा प्राप्त गर्दा ठुलै कुरा प्राप्त गरेको अनुभूति भएको सुनाइन् । लालपुर्जा हस्तान्तरणपछि भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री शशी श्रेष्ठले आफूले प्रत्यक्ष सहभागी भएरै पाँगावासीलाई लालपुर्जा दिलाउन सकेको भन्दै खुसी व्यक्त गरिन् । कीर्तिपुरक्षेत्रमा अझै पनि करिब २ सय घरपरिवारले आफ्नै जग्गाको लालपुर्जा नपाएको भन्दै चाँडै नै उनीहरूलाई लालपुर्जा दिलाउन लागि पर्ने भन्दै छिटोभन्दा छिटो काम गर्न नापी विभागलाई निर्देशन दिइन् । खाचोटोलका अर्का स्थानीय ओम प्रकाश श्रेष्ठले पनि हजुरबुवाको पालादेखि प्रयोग गरिरहेको जग्गा आफ्नो नाममा आउँदा खुसी लागेको बताए । उनले भने, ‘वर्षौँदेखि उपभोग गरिरहेको जग्गाको स्वामित्व आफ्नो नाममा नआउने हो कि भन्ने चिन्ता थियो । अब त्यो चिन्ता सकियो, हातमै लालपुर्जा आइपुग्यो ।’ २०२१ सालमा नापी हुँदा नापीका कर्मचारीले घनावस्तीको नापी नगरिदिँदा कीर्तिपुरबासीले धेरै दुख पाएका थिए । नापी कार्यालयले पुरै टोललाई नै एक कित्ता हुने गरी ब्लकमा नापी गरिदिँदा पाँगाको खाचोटोल बासीले आफ्नै घरजग्गाको स्वामित्व आफूसँग राख्न पाएका थिएनन् । आफ्नो नाममा लालपुर्जा नहुँदा उनीहरूले अंशबण्डादेखि धितो बन्धक राख्न पनि पाएका थिएनन् । मंगलबार टोलमै पुगेर उनीहरूलाई लालपुर्जा दिएपछि उनीहरूले ५७ वर्षपछि युद्ध जितेको अनुभूति गरेका छन् । आफ्नै सम्पत्ति आफ्नो नाममा ल्याउन धेरै दुख झेलेको भन्दै लालपुर्जाले खुसी दिलाएको स्थानीयले बताए ।

Like