६ महिनामा १७७ किमि सडक कालोपत्रे, २३ पुल तयार, प्रधानमन्त्री देउवा कार्यकालको उपलब्धि
रासंसा/काठमाण्डौ, माघ ८,
मुलुकमा गठबन्प्रधन सरकारका प्रधानमन्त्री शेरबहादुर देउवाले ६ महिनाको अवधिमा संघीय सरकारमातहत १ सय ७७ किलोमिटर सडक निर्माण भएको बताएका छन्। प्रधानमन्त्री देउवाले कार्यभार सम्हालेको ६ महिने अवधिमा देशवासीको नाममा सम्बोधन गर्दै सो अवधिमा संघीय सरकारमातहत १ सय ७७ किमि सडक कालोपत्रे भएको बताएका हुन्। सरकारले मुलुककै पहिलो आधुनिक सुरुङमार्गको रूपमा रहेको नौबिसे–नागढुंगा ३.३ किमि सुरुङमध्ये २ किमि निर्माण कार्य सम्पन्न भएको जनाएको छ। संघीय संसद् भवन निर्माण कार्य सन्तोषजनक ढंगले अघि बढेको दाबी गरेको छ। त्यसैगरी भैरहवा विमानस्थल र पोखरा विमानस्थलको निर्माण अन्तिम चरणमा पुगेको छ। जसको क्यालिबेसन फ्लाइटलगायत काम बाँकी छ। प्रधानमन्त्री देउवाले सोही अवधिमा २३ सडक–पुल निर्माण सम्पन्न भई सञ्चालनमा आएको जानकारी दिए। उनले ६ महिनाको अवधिमा ८२ वटा झोलुंगे पुल निर्माण भएको बताएका छन्। प्रधानमन्त्री देउवाले काठमाडौं उपत्यकाको फोहोरमैला व्यवस्थापनका लागि नुवाकोटको बन्चरेडाँडामा निर्माणाधीन ल्यान्डफिल साइटको प्रथम खण्डको निर्माण सम्पन्न भई फोहोर विसर्जनका लागि योग्य भएको ६ महिने उपलब्धिमा समावेश गरेका छन्। उनले बाढीबाट क्षतिग्रस्त मेलम्ची खानेपानी योजनाको पुनर्निर्माण गर्ने, कार्ययोजना कार्यान्वयनमा ल्याउने र यसै वर्षभित्र काठमाडौंमा पानी वितरण गर्ने गरी कार्य अगाडि बढाइएको बताएका छन्। सरकारले माथिल्लो तामाकोसी ४५६ मेगावाटको जलविद्युत् आयोजना पूर्ण रूपमा सञ्चालनमा आएको कुरालाई पनि उपलब्धिको रूपमा पेस गरेको छ। राष्ट्रिय विद्युत् प्रसारणमा ६ महिनाको अवधिमा कुल ६ सय मेगावाट बिजुली थप भएको दाबी गरेको छ। प्रधानमन्त्री देउवाले तराईका जिल्लाका विपन्न घरधुरीमा खानेपानीको व्यवस्थापनका लागि ‘तराई मधेस ट्युबवेल तथा स्वच्छता’ विशेष कार्यक्रम उच्च प्राथमिकताका साथ सञ्चालन गरिएको बताए। ‘यस अवधिमा ४३८ किलोमिटर अप्टिकल फाइबर बिछ्याउने कार्य सम्पन्न भएको छ,’ उनले भने, ‘हालसम्म ७९ किमि मोबाइल ब्रोडब्यान्ड विस्तार भएको छ।’ सरकारले कञ्चनजंगा, रुविभ्याली, दोलखा, मकालु, च्छो रोल्पा, अन्नपूर्ण, धौलागिरी, मनास्लु, सगरमाथालगायत स्थानमा पदयात्रा मार्ग निर्माण गर्ने कार्यअन्तर्गत २१५ किमि पदयात्रा मार्ग निर्माण भएको जनाएको छ। त्यसैगरी सरकारले सो अवधिमा औद्योगिक, गार्हस्थ्य तथा विभिन्न प्रयोजनका लागि बिजुली खपतमा वृद्धि गरी निर्बाध रूपमा बिजुली आपूर्तिको व्यवस्था मिलाएको जनाएको छ। विद्युत्को गार्हस्थ खपतमा २० युनिटसम्म उपभोक्तालाई महसुल छुट गरिएको छ र यसबाट २२ लाख घरधुरीलाई राहत पुग्न गएको छ। त्यसैगरी सिँचाइ सुविधा विस्तार गर्नका लागि साविकको विद्युत् महसुलमा ५० प्रतिशत कम गरी प्रतियुनिट २ रूपैयाँ कायम गरिएको छ। प्रसारण लाइनतर्फ ५९ किमि थप भएको छ र सोलु कोरिडोर ट्रान्समिसन लाइन निर्माणको कार्य सम्पन्न भएको ६ महिने उपलब्धिमा समावेश गरेको छ। सरकारले यही अवधिमा ३९ मेगावाट बिजुली भारत निर्यात गरेको विषयलाई पनि मुख्य उपलब्धिको रूपमा पेस गरेको छ। निजी क्षेत्रको लगानी रहेका मिस्त्री खोला ४२ मेगावाट र लिखु खोला ५२ मेगावाट विद्युत् उत्पादन राष्ट्रिय ग्रिडमा जोडिएको बताइएको छ। सुनकोसी–मरिन डाइभर्सन, भेरी बबई बहुउद्देश्यीय आयोजना, काठमाडौं–तराई/मधेस द्रुतमार्ग सडक आयोजनालगायत राष्ट्रिय गौरवका आयोजना निर्माण समयमै सम्पन्न गर्ने गरी तीव्र गतिमा काम अगाडि बढेको जनाएको छ। काठमाडौं–तराई/मधेस द्रुतमार्ग सडक आयोजना निर्माणका ११ वटा प्याकेजमध्ये २ वटा टनेल प्याकेजको ठेक्का सम्झौता भई सर्वे डिजाइन अन्तिम चरणमा रहेको र बाँकीका लागि खरिद प्रक्रिया अगाडि बढाइएको छ।