पाठेघरसम्बन्धी ल्याप्रोस्कोपी सेवालाई तीव्रता दिइँदै सेवा विस्तार गर्न जुनियर डाक्टरलाई प्रसूति गृहमा तालिम सुरु
रासंसा/काठमाण्डौ, पौष १४,
मुलुकमा सरकारी अस्पतालहरूले भएका प्रविधि र दक्षताको सही रूपमा प्रयोग नगर्दा बिरामी निजी अस्पतालमा जान बाध्य छन् । आधुनिक शल्य चिकित्सा ल्याप्रोस्कोपी सेवा बिरामीले सरकारीभन्दा निजी अस्पतालबाट लिने सरकारी अस्पतालका चिकित्सकहरू नै बताउँछन् । नेपालमा धेरै थरीका रोगहरूको ल्याप्रोस्कोपी गरिन्छ । तर, महिलाको पाठेघरमा देखिने विभिन्न खालका स्वास्थ्य समस्याको ल्याप्रोस्कोपी सरकारी अस्पतालमा न्यून मात्रा हुने उदाहरण परोपकार प्रसूति तथा स्त्री रोग अस्पतालको तथ्याङ्कले देखाउँछ । ‘जति धेरै सर्जन भए त्यति धेरैलाई ल्याप्रोस्कोपी अप्रेसन गर्न सकिन्छ । पहिलापहिला दूरबिनबाट अप्रेसन गर्न पाठेघरमा केही छुट्छ कि भनेर बिरामीले शङ्का व्यक्त गर्थे’ डा. अधिकारीले भने, ‘अहिले अप्रेसन गर्नुपर्ने बिरामीमध्ये ९० प्रतिशतले ल्याप्रोस्कोपी अप्रेसन गर्न इच्छा जाहेर गर्छन् ।’ विगतमा एक महिनामा ४ वटा ल्याप्रोस्कोपी गर्दै आएको अस्पतालले हाल महिनामा ४० जनाको ल्याप्रोस्कोपी गरे पनि दक्ष जनशक्ति र प्रविधिले पूर्णता नपाउँदा समस्या भएको चिकित्सकहरू बताउँछन् । यसअघि सातामा एक जनाको मात्रै ल्याप्रोस्कोपी प्रसूति गृह हुँदै आएको थियो । तर पछिल्लो समय भने सातामा १० जनाको पाठेघरसम्बन्धी समस्या भएका महिलाको ल्याप्रोस्कोपी हुने गरेको अस्पताल जनाएको छ । थापाथली स्थित प्रसूति गृहका उप–निर्देशक डा. श्री प्रसाद अधिकारीका अनुसार स्त्री रोगसम्बन्धी पाठेघरमा ट्युमर पलाएको, डिम्ब वा नलीमा बच्चा बसेमा, पाठेघरबाट बढी रगत बगेमा, पेटमा मासुको डल्लो पलाएमा, पाठेघर आफ्नो ठाउँबाट तल झरेमा, स्थायी बन्ध्याकरण र पाठेघरमा लाग्न सक्ने विभिन्न किसिमका रोगहरू पत्ता लगाउन र उपचार गर्न ल्याप्रोस्कोपी विधिबाट उपचार गरिन्छ ।