मुलुकमा खोप छ, तर खोप नै पाइदैन
रासंसा/काठमाण्डौ, पौष १०,
मुलुकमा गत साउन २४ गते नै सरकारले असोजसम्ममा एक तिहाइ नागरिकलाई खोप लगाउने घोषणा गर्यो। चैत मसान्तसम्ममा खोप लगाउन योग्य सबैले निःशुल्क पाउने अर्को बुँदा सरकारको निर्णयमा थियो। तर, असोज सकियो। चैत आउन लागेको छ। संयुक्त सरकारको साझा कार्यक्रमको घोषणाअनुसार नागरिकले खोप पाएनन्। मुलुकमा कोभिसिल्ड, भेरोसेल, जापानिज एस्ट्राजेनेका र स्विडिस एस्ट्राजेनेका, जोन्सन एन्ड जोन्सन, फाइजर र मोडेर्ना खोप अभियानमा लगाइएको छ। स्वास्थ्य सेवा विभाग, बाल स्वास्थ्य तथा खोप शाखा प्रमुख सागर दाहालका अनुसार, हालसम्म खरिद र अनुदानको गरी ३ करोड ८५ लाख ३९ हजार ३ सय ६७ डोज प्राप्त भइसकेको छ। थप, १ करोड ८० लाख डोज प्राप्त गर्ने क्रममा छ। दुई तिहाइभन्दा बढीले अबको तीन महिनाभित्र खोपको पूर्ण मात्रा लगाउन पाउने सम्भावना ज्यादै न्यून छ। खोपसँगै सिरिन्जको कमी छ। सरकार यो विषयमा अझै गम्भीर छैन। झन्डै ११ महिनाको अवधिमा पूर्णमात्रा खोप लगाउनेको संख्या ३२ दशमलव १ प्रतिशत मात्र रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांकमा उल्लेख छ। ४० दशमलव १ प्रतिशतले एक डोज लगाएका छन्। २०७७ माघ १४ गतेदेखि खोप अभियान सुरु भएको थियो। छिमेकी भारतले सहयोगमा दिएको १० लाख मात्रा कोभिसिल्ड स्वास्थ्यकर्मीहरूलाई लगाएर पहिलो चरणको खोप अभियान सुरु गरिएको थियो। स्वास्थ्य मन्त्रालयका अनुसार १८ वर्षमाथिका खोप लगाउने लक्षित जनसंख्या १ करोड ९९ लाख २२ हजार १ सय ६४ हो। जसमध्ये झन्डै ६१ प्रतिशतले मात्र कम्तीमा एक मात्रा खोप लगाएका छन्। पूर्ण मात्रा खोप लगाउनको संख्या झन्डै ४९ प्रतिशत छ। स्वास्थ्य मन्त्रालयले केन्द्रीय तथ्यांक विभागको विवरणलाई आधार लिँदै कुल जनसंख्या ३ करोड ३ लाख ७८ हजार ५५ रहेको जनाएको छ। यद्यपि, पछिल्लो जनगणना अनुसार जनसंख्या वृद्धि भएकोले खोप लगाउने लक्षित संख्यामा पनि वृद्धि हुने विज्ञहरू बताउँछन्।
हालसम्म कुल जनसंख्याको ४० दशमलव ३ प्रतिशतले मात्र कम्तीमा एक मात्रा खोप लगाएका छन्। पूर्णमात्रा खोप लगाउनेको संख्या ३२ दशमलव १ प्रतिशत रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ। १ करोड ५५ लाख ४९ हजार डोज खोप सरकारले खरिद गरेको छ। बाँकी, २ करोड २९ लाख ९० हजार ३ सय ६७ डोज खोप अनुदानमा प्राप्त भएको हो। खोप शाखा प्रमुख दाहालका अनुसार, अहिले खोप प्रशस्त छ। ‘खोप आउने क्रम जारी छ। हिजो मात्र ३० लाख डोज खोप प्राप्त भएको छ। अब खोप आउने क्रमसँगै खपत पनि बढ्छ।’ उनले भने। सरकारले मुलुकका ५७ जिल्लामा १२ देखि १७ वर्ष उमेरसम्मका बालबालिकालाई पुस ४ गतेदेखि पहिलो मात्रा खोप दिन सुरु गरेको छ। पुस १४ गतेसम्म बालबालिकालाई पहिलो मात्रा खोप लगाइने खोप शाखा प्रमुख दाहालले जानकारी दिए। माघ २ गतेदेखि १२ गतेसम्म दोस्रो मात्रा मोर्डना खोप दिइनेछ। स्वास्थ्य सेवा विभाग, परिवार कल्याण महाशाखा निर्देशक डा. विवेककुमार लाल भन्छन्, ‘खोपहरू पूर्ण मात्रामा सुरक्षित छन्। त्यसैले निर्धक्क भई बालबालिकालाई खोप लगाउन प्रेरित गर्नुपर्छ।’ खोप शाखा प्रमुख दाहालका अनुसार, ५ देखि ११ वर्ष उमेरसमूहका बालबालिकालाई पनि कोरोनाविरुद्धको खोप लगाउने कार्यबारे छलफल भइरहेको छ। भण्डारमा खोप थुप्रिने तर नागरिको पहुँचमा नपुग्ने समस्या काठमाडौंलगायत विभिन्न जिल्लामा पाइएको छ। जनस्वास्थ्यविज्ञ डा. बाबुराम मरासिनीका अनुसार अहिलेसम्म सबै नागरिकलाई एक डोज दिइसक्नु पर्नेमा ढिलाइ भएको बताउँछन्। स्वास्थ्य सेवा विभाग, परिवार कल्याण महाशाखाका निर्देशक डा.विवेककुमार लालका अनुसार भण्डारमा रहेको खोपलाई जतिसक्दो छिटो लगाउने चुनौती छ। डा. मरासिनीका अनुसार, विगतमा खोप लगाउन गरिएको ढिलासुस्तीले अहिले झमेला बढेको छ। हिमाली क्षेत्रमा हिउँ परिसकेको छ। खोप लगाउन जान सक्ने अवस्थासमेत नहुन सक्छ। प्रदेश १ मा लक्षित जनसंख्यामध्ये ४५ प्रतिशतले मात्रै खोप लगाएका छन्। यो पूर्ण खोप लगाउनेको संख्या हो। प्रदेशस्तरको स्वास्थ्य निर्देशनालय धनकुटाको तथ्यांकअनुसार प्रदेश १ मा १८ वर्ष वा सोभन्दा माथिका खोप लगाउन योग्य जनसंख्या ३२ लाख ७५ हजार ८ सय ७७ छ। तीमध्ये १७ लाख ४५ हजार ६ सय ५४ जनाले पहिलो डोज लगाएका छन्। पहिलो लगाएकामध्ये १४ लाख ७९ हजार ६ सय १५ ले दोस्रो लगाएको निर्देशनालयका खोप अधिकृत उदेश श्रेष्ठले बताए। अब २ लाख ५६ हजार ३९ जना दोस्रो लगाउन बाँकी छन्। दीर्घरोगी तथा १२–१७ वर्ष उमेरसमूहका ५ हजार ९ सय ६९ जनाले पहिलो डोज लगाए। पहिलो डोज लगाएकामध्ये ४ हजार ५ सय ३ जनाले दोस्रो डोज लगाएका छन्। प्रदेशमा खोपको पर्याप्त मौज्दात रहेको श्रेष्ठ बताउँछन्। १२–१७ वर्ष उमेर समूहका विद्यार्थीलाई विद्यालयमा नै खोप लगाउने व्यवस्था छ। खोप अभियान अहिले चलिरहेको श्रेष्ठले बताए। प्रदेश २ मा हालसम्म ३३.२१ प्रतिशतले खोप लगाए। यहाँको कुल जनसंख्या ५४ लाख ४१ हजार ४५ हो। स्वास्थ्य निर्देशनालयको तथ्यांकअनुसार १८ वर्षभन्दा माथिका ४१ लाख ६० हजार ४ सय २७ जनालाई खोप दिने लक्ष्य राखिएको छ। तर, हालसम्म १३ लाख ८१ हजार ५ सय ९५ जनाले मात्रै पूर्ण खोप लगाए। प्रदेशका प्रत्येक जिल्लामा कोरोनाविरुद्धको खोप पर्याप्त मात्रामा भए पनि सर्वसाधारले खोप लिन चासो नै नदेखाएको प्रदेश २ स्वास्थ्य निर्देशनालयका निर्देशक विजय झा बताउँछन्। संघीय सरकारको अभियानअन्तर्गत बागमती प्रदेशमा १२ देखि १७ बर्ष उमेर समूहका दुई लाख २ हजार २ सय ८७ बालबालिकालाई कोरोनाविरूद्धको मोडर्ना खोप लगाइँदैछ। यसका लागि २ लाख ७ हजार ३ सय ८० डोज खोप उपलब्ध गराइएको बागमती प्रदेश स्वास्थ्यमन्त्री निमा लामाले बताए। बागमती प्रदेशका १८ वर्ष उमेर माथिका २० प्रतिशत नागरिकले अझै पहिलो खोप पाएका छैनन्। प्रदेशको स्वास्थ्य मन्त्रालयको तथ्याकंअनुसार १८ वर्षमाथिका ८ लाख ५९ हजार ६३ जनालाई कोरोनाविरुद्धको पहिलो मात्रा लगाउन बाँकी छ। प्रदेशका ७१ प्रतिशत अर्थात् ३० लाख ८ हजार ९ सय १५ जनाले पूरा खोप लगाएको मन्त्रालयका प्रवक्ता बसन्त अधिकारी बताउँछन्। पहिलो मात्रा खोप लगाउनेको संख्या ९ प्रतिशत छ। मन्त्रालयले लक्षित वर्गका सबैलाई खोप लगाउन उत्प्रेरित गरिरहेको र यसका लागि मन्त्रालयअन्तर्गतका सबै स्वास्थ्य संस्थालाई परिचालित हुन निर्देशन दिएको स्वास्थ्यमन्त्री निमा लामाले बताए। सुदूरपश्चिम प्रदेशमा ६१ प्रतिशत जनसंख्याले खोप पाएका छैनन्। सामाजिक विकास मन्त्रालयले दिएको जानकारीअनुसार मंसिर १६ गतेसम्म ७ लाख ५१ हजार ८११ ले मात्रै खोप पाएका छन्। सुदूरपश्चिमका लागि १८ वर्षभन्दा माथि उमेर समूहको जनसंख्या १९ लाख ४८ हजार ३ सय ८८ हो। यसमध्ये खोपको पहिलो मात्रा ९ लाख ६ हजार १ सय ७४ र दुवै मात्रा ७ लाख ५१ हजार ८११ जनाले लगाएको मन्त्रालयका प्रवक्ता नरेन्द्रसिंह कार्कीले बताए। ‘प्रतिशतमा भन्ने हो भने यो कुल लक्षित जनसंख्याको ३९ प्रतिशत मात्रै हो, खोप पर्याप्त छ तर लगाउने मान्छे आउँदैनन्’, उनले भने। कर्णालीमा खोप अभियान सुस्त छ। आधाभन्दा बढी नागरिकले खोप पाएका छैनन्।
कर्णाली प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार हालसम्म प्रदेशभर ४५ प्रतिशत नागरिकले मात्र खोप पाएका छन्। यहाँ ६ लाख ६५ हजार १८ जना नागरिक अहिले पनि खोपको पर्खाइमा छन्। कर्णालीको कुल जनसंख्या १७ लाख ९६ हजार ८ सय २२ छ। जसमध्ये १२ लाख ३ हजार २ सय ८८ जनालाई कोरोनाविरुद्धको खोप आवश्यक छ। तर, स्वास्थ्य सेवा निर्देशनालयको तथ्याकंअनुसार हालसम्म जम्मा ४५ प्रतिशत अर्थात ५ लाख ३८ हजार २ सय ७० जनाले मात्रै खोप पाएका छन्। त्यसमध्ये १ लाख ६४ हजार ६ सय ५२ जनाले कोरोनाविरुद्धको खोपको दोस्रो डोज लगाउनै बाँकी छ। निर्देशनालयको तथ्याकंअनुसार २१ प्रतिशत नागरिकले मात्रै पूर्णखोप अर्थात खोपको दुवै डोज लगाएका छन्। स्वास्थ्य निर्देशनालयका निर्देशक डा.रविन खड्काले हालसम्म प्रदेशभर ३ लाख ७३ हजार ६ सय १८ जनाले मात्र खोपको दुवै मात्रा पाएको बताए। जिल्ला स्वास्थ्य कार्यालय कैलालीका प्रमुख लालबहादुर धामीले अहिले १८ वर्षभन्दा माथिका सबैका लागि खोप पर्याप्त रहेको बताए। तर, स्थानीय तहहरूले खासै चासो नलिएको धामी बताउँछन्। यहाँ ५ लाख बालबालिका १२ वर्षदेखि १८ वर्ष उमेर समूहका छन्। उनीहरूका लागि फाइजर र मोडर्ना खोप आएको सामाजिक विकास मन्त्रालयका प्रवक्ता नरेन्द्रसिंह कार्कीले जानकारी दिए। गण्डकी प्रदेशमा अहिलेसम्म १४ लाख ७८ हजार ३ सय ८२ जनाले खोप लगाएका छन्। यो ११ जिल्लाको तथ्यांक हो। त्यसमध्ये ११ लाख ३० हजारभन्दा बढीले दोस्रो डोज पनि पाए। हिमाली जिल्ला मुस्ताङ र मनाङ पूर्ण खोपयुक्त भएका छन्। त्यहाँ लक्ष्यको १७५ प्रतिशतमा खोप पुगेको निर्देशनालयको तथ्यांकमा छ। ती जिल्लामा जनसंख्या अति न्यून छ। मुस्ताङमा १३ हजार ५ सय ९१ जनाले दुवै डोज खोप लगाइसकेका छन्। प्रदेशभरिकै तथ्यांकअनुसार सबै ११ जिल्लाका ८८ प्रतिशतले पहिलो खोप पाइसकेको प्रदेश निर्देशनालयले जनाएको छ। लुम्बिनी प्रदेशमा हालसम्म ४१ प्रतिशतलाई मात्र पूर्ण खोप लगाइएको छ। यहाँको कुल जनसंख्या ५१ लाख ६४ हजार ८ सय १९ हो। कुल जनसंख्यामध्ये १४ लाख ९ हजार ३ सय ४३ जनालाई दुवै डोज लगाइएको स्वास्थ्य निर्देशनालय लुम्बिनी प्रदेशका प्रवक्ता वरिष्ठ जनस्वास्थ्य प्रशासक रोशनलाल चौधरीले बताए। सबैभन्दा धेरै अर्घाखाँचीमा ५७ प्रतिशत र कम कपिलवस्तुमा ३२.८ प्रतिशतले मात्र खोप लगाएका छन्। हाल ८ जिल्लामा भेरोसेल खोप लगाउने अभियान चलिरहेको छ। खोप भण्डारणमा १ करोड २० लाख डोज खोप मौज्दात छ। तर, खोप लगाउँदा प्रयोग हुने सिरिन्ज भने करिब एक सातालाई मात्र पुग्ने मौज्दात छ। अर्थात्, १६ लाख सिरिन्ज मात्र मौज्दात छ। स्वास्थ्य सेवा विभाग, बाल स्वास्थ्य तथा खोप शाखा प्रमुख सागर दाहालका अनुसार, एक सातासम्म खोप अभियान सञ्चालन गर्न पुग्ने सिरिन्ज मात्र मौज्दात छ। निर्देशनालयका प्रमुख डा. खिमबहादुर खड्काले जिल्लाहरूमा मागअनुसार खोप आपूर्ति भइरहेको बताए। उनी भन्छन्, ‘खोपको कुनै अभाव छैन, दिनदिनैजसो लगाइरहेका छौं, बालबालिकालाई खोप लगाउन सुरु गरिसकिएको छ।’ स्याङ्जा, पर्वत, मुस्ताङ, बागलुङ, म्याग्दीलगायतमा बालबालिकाका लागि पनि खोप सुरु भएको खड्काले जनाए। कोभ्याक्स सुविधाअन्तर्गत झन्डै ३० लाख सिरिन्ज आइसकेको छैन। युनिसेफले प्रतिबद्धता जनाएअनुसार ५० लाख सिरिन्ज पनि आइसकेको छैन। दाहालले भने, ‘युनिसेफले दिने सिरिन्ज कोलकातामा आइपुगिसकेको जानकारी पाएका छौं। तीन/चार दिनभित्रमा प्राप्त गर्छौं। कोभ्याक्स सुविधाअन्तर्गत उपलब्ध हुने सिरिन्ज कहिले आइपुग्छ। यकिन छैन।’ सिरिन्जको खरिद प्रक्रिया पनि अघि बढाइएको छ। ६० लाख सिरिन्ज खरिदको लागि भुक्तानी गरिसकिएको स्वास्थ्य सेवा विभागले जनाएको छ। दाहालले सिरिन्जको विश्वभर नै अभाव भएकोले चाहेको समयमा खरिद एवं अनुदानमा प्राप्त हुन नसकेको बताए।