महिला उद्यमी महासंघमा नयाँ नेतृत्व
रासंसा/काठमाण्डौ, पौष १०,
महिला उद्यमी महासंघ नेपालको १८औं वार्षिक साधारणसभा तथा आठौं अधिवेशनमा बोल्दै मन्त्री रेग्मीले लघु उद्यमले व्यापार व्यवसायमार्फत राज्यको नीतिनिर्माण तथा महिला सशक्तीकरणको क्षेत्रमा मात्र नभई आत्मनिर्भर अर्थतन्त्रमा समेत पुर्याएको योगदानबारे चर्चा गरिन्। महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री उमा रेग्मीले स्थानीय स्रोत, साधन र जनशक्ति परिचालनबाट महिलाले लघु उद्यमशीलताको विकाससँगै समृद्ध मुलुक निर्माणमा जोड दिनुपर्ने बताएकी छन्। एक तिहाइ महिलाको सिट सुनिश्चित रहेको अहिलेको अवस्थामा पुरुषबराबरको अधिकार र योगदानमा महिला उद्यमशीलता, सिपमूलक तथा प्राविधिक तालिममार्फत पुरुषकै हैसियतमा लाग्नुपर्ने मन्त्री रेग्मीको भनाइ छ। लत्ताकपडा र खाद्यसामग्री आयातका लागि वर्षेनि अर्बौं रकम बाहिरिरहेको अवस्थामा महिला उद्यमीलाई उद्यमशीलताको विकाससँगै आत्मनिर्भरताको मार्गमा लाग्न महासंघले निर्वाह गरेको महत्वपूर्ण भूमिका सराहनीय रहेको उनले बताइन्। ५७ जिल्लामा रहेका महिला संघहरूको विकास गर्न सरकार र विकास साझेदारी संस्थासँगको सहकार्यमा उद्योग व्यवसायलाई बजारमुखी बनाउनेमा जोड दिने उनको भनाइ छ। उनका अनुसार वित्तीय पहुँचमा वृद्धिसँगै उद्यमशीलता कोष, सञ्जाल निर्माण र सामाजिक उत्तरदायित्वका कार्यक्रमलाई वर्तमान कार्यसमितिले निरन्तरता दिनेछ। त्यस्तै महासंघकी अध्यक्ष निरु राईमाझी खत्रीले चयन भएको नयाँ कार्यसमितिले प्रभावकारी रूपमा महासंघलाई थप उचाइमा पुर्याउने विश्वास दिलाएकी छन्। नयाँ नेतृत्वले उद्योगको विकास, व्यावसायिक योजना निर्माण, वित्तीय पहुँच, सहजीकरण तथा परामर्शको विकासका साथै उद्यमशीलता र दिगो विकासमा जोड दिने उनले बताइन्। त्यस्तै महासंघकी प्रथम उपाध्यक्ष शोभा ज्ञवालीले ‘स्वदेशी खाऔं, स्वदेशी लगाऔं, उद्यमशीलता बढाऔं’ भन्ने नारासहित नयाँ कार्यसमितिले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा उद्यमशीलताको क्षेत्रबाट योगदान जारी राख्ने विश्वास व्यक्त गरिन्। उनले उद्यमशीलतालाई उकासेर देशको विकासमा लगाउनु पर्नेमा जोड दिइन्। अन्तर्राष्ट्रिय व्यापार मेला तथा ब्रान्डलाई सहयोग गर्न र महासंघअन्तर्गत सदस्य संख्यासमेत थप्न नेतृत्व लागि पर्नेमा उनले जोड दिइन्। महासंघका ऊर्जाशील कर्मचारीको सहयोगकै कारण महासंघले कोरोना महामारीको समयमा समेत महत्वपूर्ण उपलब्धि हासिल गर्न सफल भएको उनले जनाइन्। कोरोना कहरकै बीच पनि महिलाले उत्पादन गरेका वस्तुलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बजारमा प्रचारप्रसार, प्रवद्र्धन र बजारीकरण गर्न महासंघ सफल रहेको उनको भनाइ छ। यस्तै आफू बसेको पद लामाे समयसम्म पनि हस्तान्तरण नगर्ने प्रवृत्ति देखिएकोमा दुःख व्यक्त गर्दै उनले भनिन्, ‘वर्षौवर्षसम्म पनि एउटै पदमा बस्ने गरेको प्रवृत्ति अहिले देखिएको छ। त्यसैले पद हस्तान्तरणका लागि हामीले हरेक २ वर्षमा महाधिवेशन गर्ने परिपाटी बनाएका छौं। सोही अनुरुप आज ८औं महाधिवेशनमार्फत नयाँ नेतृत्व चयन गरेका हौं।’ सरकारका तर्फबाटसमेत महासंघको आफ्नै भवन निमार्णका लागि आश्वासन प्राप्त भएको जनाउँदै उनले वर्तमान कार्यसमितिले यस विषयमा जोडदार पहल गर्ने उनको भनाइ छ। वित्तीय पहुँच, बैंकिङ क्षेत्रमा सहजीकरण र महिला उद्यमीको आर्थिक सशक्तीकरणमा जोड दिँदै देशभरका ७७ वटै जिल्लामा महिला उद्यमी संघको विस्तार अहिलेको आवश्यकता रहेको उनले बताइन्। साथै उनले विभिन्न दातृ निकाय र अन्तर्राष्ट्रिय विषयगत छाता संगठनहरूसँग सम्बन्ध विस्तारमा समेत महासंघ केन्द्रित रहनेमा जोड दिएकी छन्। त्यस्तै,महासंघको प्रगतिविवरण सार्वजनिक गर्दै उनले वकालत, बहस र पैरवीको क्षेत्रमा सरकार र सम्बन्धित सरोकारवालासँग विभिन्न अन्तरक्रिया, बैंक तथा वित्तीय संस्थासँग सहकार्य, क्षमता अभिवृद्वि, व्यापारमा सहयोग र बजारीकरण, पहुँच विस्तार र महामारीको समयमा विभिन्न सहयोगका कार्यक्रम गर्न सफल भएको बताइन्। त्यस्तै निवर्तमान अध्यक्ष रिता सिंहले खेर गइरहेको स्रोत र साधनमार्फत महिलालाई आन्मनिर्भर बनाउन आफ्नो कार्यकालमा महासंघले विशेष पहल गरेको स्मरण गराइन्। प्रविधिको पहुँचबाट टाढा रहेका महिलाई विविध किसमका तालिममार्फत आत्मनिर्भरबाट उद्यमी बनाउन महासंघले सातै प्रदेशमा महिला सिप विकासका काम गरेको जनाइन्। बाँके जिल्ला उद्यमी संघलाई १५ हजार नगदसहित प्रशंसापत्र प्रदान गरिएको हो। त्यस्तै, द्वितीय पुस्कार चितवन जिल्ला उद्यमी संघलाई प्रदान गरिएको छ भने तृतीय पुरस्कार कास्की जिल्ला उद्यमी संघलाई प्रदान गरिएको छ। चितवन जिल्ला उद्यमी संघलाई १० हजार र चितवन जिल्ला उद्यमी संघलाई ७ हजार रूपैयाँसहित प्रशंसापत्र प्रदान गरिएको हो। यस वर्षको सान्त्वना पुरस्कार भने मोरङ जिल्ला उद्यमी संघले पाएको छ। कार्यक्रममा देशभरबाट सहभागी विभिन्न महिला संघमध्ये केहीलाई पुरस्कृतसमेत गरिएको छ। जिल्ला उद्यमी संघको तर्फबाट यस वर्षको उत्कृष्ट महिला संघ पुरस्कार बाँके जिल्ला उद्यमी संघलाई प्रदान गरिएको छ। महिला उद्यमी महासंघ नेपालले नयाँ कार्यसमिति चयन गरेको छ। बिहीबार सम्पन्न महासंघको १८औं वार्षिक साधारणसभाले निरु राइमाझी खत्रीको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको हो। बिहीबार काठमाडौंमा भएको १८औं साधारणसभा तथा आठौं अधिवेशनले खत्री नेतृत्वमा २७ सदस्यीय कार्यसमिति चयन गरेको हो। त्यसैगरी महासचिवमा लक्ष्मी श्रेष्ठ, सचिवमा सविता सुवेदी र कोषाध्यक्षमा कुन्नम पोखरेल निर्वाचित भएका छन्। महासंघका अनुसार कार्यकारी सदस्यमा निता प्याकुरेल, श्रद्धा जोशी, दीपा थपलिया, सरिता तुलाधर, सुमित्रा पलाञ्चोके, सोनी जोशी र हिमा विष्ट चयन भएका छन्। प्रदेशतर्फको कार्यकारी सदस्यमा कृति उपाध्याय (प्रदेश १), देवकुमारी पौडेल (प्रदेश २) अर्पना भण्डारी प्रधान (वाग्मती प्रदेश), पार्वती पौडेल (गण्डकी प्रदेश), सरस्वती शर्मा (लुम्बिनी प्रदेश), कविता थापा (कर्णाली प्रदेश) र मीना फुलारा (सुदूरपश्चिम प्रदेश) चयन भएका छन्। नयाँ कार्यसमितिको प्रथम उपाध्यक्षमा शोभा ज्ञवाली निर्वाचित भएकी छिन्। त्यस्तै द्वितीय उपाध्यक्षमा दर्शना श्रेष्ठ, तृतीय उपाध्यक्षमा सुनिता वैद्य श्रेष्ठ र चौथो उपाध्यक्षमा बासन्ती प्रधान रहेका छन्। त्यस्तै आमन्त्रित कार्यकारी सदस्यमा आरती नेपाल र मलिका श्रेष्ठ चयन भएका छन् भने मनोनीत सदस्यमा प्रतिभा पाण्डे र डिकिला लामा चयन भएको महासंघले जनाएको छ।