कसरी थेग्लान् जनताले ५.३२ प्रतिशत महँगी ? बढ्दो आयात घट्दो रेमिट्यान्स,

Share to:

रासंसा/काठमाण्डौ, पौष १,

मुलुकमा चालु आर्थिक वर्षको गएको चार महिना (साउनदेखि कात्तिकसम्म) भएको वस्तु तथा सेवाको आयात/निर्यात, विदेशी मुद्रा विप्रेषण (रेमिट्यान्स), विदेशी मुद्राको सञ्चिती र शोधनान्तर स्थिति इत्यादिका तथ्याङ्क हेर्दा मुलुकको अवस्थाको ठीकठाक नभएको पत्तो लाग्छ । राष्ट्र बैंकले हालै जारी गरेको चालु आर्थिक वर्ष २०७८/७९ को पहिलो चार महिनाको आर्थिक तथा वित्तीय स्थिति प्रतिवेदनले मुलुक दयनीय अवस्थामा पुगेको देखाएको छ । बैंकका अनुसार यतिखेर मुलुकको चालु खाता घाटा बढेर दुई खर्ब २३ अर्ब रुपैयाँमाथि पुगेको छ भने शोधनान्तर स्थिति एक खर्ब ५० अर्ब ३८ करोड रुपैयाँ ऋणात्मक छ ।
यस्तै, पछिल्लो समय विदेशी मुद्रा विप्रेषण आप्रवाह (रेमिट्यान्स) अधिकतम ७.५ प्रतिशतले घटेर तीन खर्ब १२ अर्ब ४२ करोड रुपैयाँमा झरेको छ । विदेशी वस्तु तथा सेवाको आयात भने ६१.६ प्रतिशत बढेको छ । गएको चार महिनामा नेपालले कुल ८२ अर्ब १२ करोड रुपैयाँ बराबरको वस्तु निर्यात गर्दै गर्दा अधिकतम ६ खर्ब ५० अर्ब २९ करोड रुपैयाँ बराबरको आयात गरेको छ । समीक्षा अवधिमा भारतबाट मात्रै नेपालले कुल ७१ अर्ब ४० करोड रुपैयाँ बराबरको वस्तु तथा सेवा आयात गरेको छ । उसो त समीक्षा अवधिमा निर्यातदर १०४.३ प्रतिशतले वृद्धि भएको छ । अघिल्लो वर्षको सोही अवधिमा १०.८ प्रतिशतले मात्र निर्यात बढेकोमा यस वर्ष अधिकतम १०४.३ प्रतिशतले निर्यात वृद्धि भएको हो । तुलनात्मक रूपमा यस वर्ष नेपालबाट पाम तेल, सोयाबिन तेल, पिना, धागो (पोलिष्टर तथा अन्य), जुटका सामान लगायतका वस्तुहरूको निर्यात बढ्नुका साथै चिया, अलैँची, तार, जस्तापाता, तामाको तार लगायत वस्तुहरूको अन्तर्राष्ट्रिय बजारमा उच्च माग बढ्नाले निर्यात वृद्धि हुनपुगेको बैंकले जनाएको छ । यद्यपि, वैदेशिक रोजगारीबाट प्राप्त रेमिट्यान्स लगायत विविध स्रोतबाट यस्तो नोक्सान परिपूर्ति गर्दै शोधनान्तर स्थिति एक खर्ब ५० अर्ब रुपैयाँमा सीमित रहन सकेको राष्ट्र बैंकले जनाएको छ । मुलुकको विदेशी मुद्रा सञ्चिति घटेर १२ खर्ब ४४ अर्ब ८५ करोड रुपैयाँमा झरेको छ । अघिल्लो वर्षको असार मसान्तसम्म कुल १३ खर्ब ९९ अर्ब ३ करोड रुपैयाँ रहेको यस्तो सञ्चिती चार महिनामा नै ११ प्रतिशतले घट्न पुगेको हो । अमेरिकी डलरमा यस्तो सञ्चिति १०.९ प्रतिशतले घटेर १० अर्ब ४७ करोड कायम भएको राष्ट्र बैैंकले जनाएको छ । यसले ७.९ महिनाको वस्तु आयात र ७.२ महिनाको वस्तु तथा सेवा आयातमात्र धान्न पुग्ने बैंकले जनाएको छ । घट्दो रेमिट्यान्स, तर बढ्दो आयातले विदेशी मुद्रा सञ्चितिमा प्रभाव पारेको छ । यसमा विदेशी पर्यटकको समेत आगमन नहुँदा विदेशी मुद्रा आर्जनमा समस्या परेको राष्ट्र बैंकले जनाएको छ । समीक्षा अवधिमा नेपालले ७.५ प्रतिशतले विदेशी मुद्रा विप्रेषण आप्रवाह (रेमिट्यान्स) गुमाएको छ । गत आर्थिक वर्षको पहिलो चार महिना (साउनदेखि कात्तिकसम्म) करिब ११.२ प्रतिशतले बढेको रेमिट्यान्स यस वर्ष ७.५ प्रतिशतले गुमाउँदै कुल तीन खर्ब १२ अर्ब ४२ करोड मात्र सीमित भएको हो । अमेरिकी डलरमा यस्तो विप्रेषण ७.८ प्रतिशतले कमी आई दुई अर्ब ६३ करोड मात्र आयात भएको राष्ट्र बैंकले जनाएको छ । सरकारले चालु आर्थिक वर्षको चार महिना बितिसक्दा समेत कुल पुँजीगत खर्चको १० प्रतिशत पनि खर्च गर्न सकेको छैन । नेपाल महालेखा नियन्त्रक कार्यालयका अनुसार २०७८ कात्तिक मसान्तसम्ममा चालु खर्चतर्फ दुई खर्ब ३३ अर्ब ५१ करोड खर्च गरेको सरकारले पुँजीगत खर्च जम्मा २० अर्ब ७९ करोड र वित्तीय व्यवस्था अन्तर्गत ३३ अर्ब २४ करोड गरी कुल दुई खर्ब ८७ अर्ब ५४ करोड रुपैयाँ मात्र खर्च गर्न सकेको छ । जबकि चालु आर्थिक वर्षका लागि सरकारले चालु खर्च तर्फ १० खर्ब ३७ अर्ब ४० करोड, पुँजीगत खर्चतर्फ चार खर्ब ३९ अर्ब ६५ करोड र वित्तीय परिचालन तर्फ एक खर्ब ८९ अर्ब ४३ करोड रुपैयाँ लक्ष्य तोकिएको छ । समीक्षा अवधिमा सरकारको कर राजस्व तीन खर्ब पाँच अर्ब ४० करोड र गैरकर राजस्व २८ अर्ब ९१ करोड गरी कुल राजस्व तीन खर्ब ३४ अर्ब ३१ करोड रुपैयाँ (प्रदेश सरकार तथा स्थानीय तहमा बाँडफाँट हुने रकमसमेत) परिचालन भएको छ । गत वर्षको तुलनामा यस वर्ष घिउ तथा तेल, यातायात, माछा तथा मासु, गैर–मदिराजन्य पेय पदार्थ, सुर्तीजन्य वस्तु र दाल तथा गेडागुडी उपसमूहको मूल्यवृद्धि क्रमशः २९.११ प्रतिशत, १२.३६ प्रतिशत, १०.९१ प्रतिशत, १०.७० प्रतिशत, १०.३० प्रतिशत र १०.२४ प्रतिशत रहेको बैंकले जनाएको छ । वार्षिक विन्दुगत आधारमा कात्तिक महिनाको उपभोक्ता मुद्रास्फीति (बजार महँगी) ५.३२ प्रतिशत रहेको राष्ट्र बैंकले जनाएको छ । अघिल्लो वर्षको सोही महिनामा यस्तो मुद्रास्फीति ४.०५ प्रतिशत मात्र रहेको थियो । समीक्षा महिनामा खाद्य तथा पेय पदार्थ समूहको मुद्रास्फीति ४.७९ प्रतिशत र गैरखाद्य तथा सेवा समूहको मुद्रास्फीति ५.७३ प्रतिशत रहेको बैंकले जनाएको छ । यस्तो महँगी क्षेत्रगत आधारमा काठमाडौँ उपत्यकामा अधिकतम ६.१४ प्रतिशत, तराईमा ३.९५ प्रतिशत, पहाडमा ७.१४ प्रतिशत र हिमालमा ५ प्रतिशत रहेको छ । महँगीले पछिल्ला दिनहरूमा सर्वसाधारण उपभोक्ताहरूको भान्सा निकै महँगिन पुगेको छ ।

– ५.३२ प्रतिशत बजार महँगी (वार्षिक विन्दुगत आधारमा)

– ६१.६ प्रतिशतले आयात वृद्धि

– ७.५ प्रतिशतले विप्रेषण आप्रवाहमा संकुचन

– १५० अर्ब ३८ करोडले शोधनान्तर स्थिति घाटामा

– ११ प्रतिशतले विदेशी मुद्राको सञ्चितिमा गिरावट

– पुँजीगत खर्च २० अर्ब ७९ करोड मात्रै

– सहुलियतपूर्ण कर्जा २ खर्ब ५ अर्ब २ करोड बक्यौता

Like

Leave a Reply

Your email address will not be published. Required fields are marked *