एमालेको केन्द्रीय सदस्यमा दुर्गा प्रसाईं, उनि केन्द्रिय सदस्य बन्दा अरु को–को छुटे त?
रासंसा/काठमाण्डौ, मार्ग २७,
मुलुकमा झापाको बीएण्डसी मेडिकल कलेजका सञ्चालक दुर्गा प्रसाई एमालेमा प्रवेश गरेको धेरै महिना बितेको छैन । तर, विगतमा सँगै मार्सी चामलको भात खाएका केपी ओलीले प्रसाईलाई केन्द्रीय सदस्यमा मनोनित गरेका छन् । प्रसाई केन्द्रीय सदस्यमा मनोनित हुँदै गर्दा छुटेका नामहरू हेर्ने हो भने एमालेमा निष्ठाको राजनीति बेकारजस्तै लाग्न सक्छ । कञ्चनपुर क्षेत्र नम्बर ३ मा काँग्रेस नेता रमेश लेखकलाई हराएर प्रतिनिधिसभाको सदस्य बनेका डा. दीपकप्रकाश भट्ट एमालेका बौद्धिक नेता हुन् । नेपालको शान्ति प्रक्रियामा पनि महत्वपूर्ण भूमिका खेलेका भट्टले दुर्गा प्रसाईले जस्तो केपी ओलीको गुणगान नगाए पनि कञ्चनपुरमा एमालेको प्रभाव कायम गर्न योगदान गरेका छन् । तर, भट्टलाई पनि ओलीले सम्झेनन् । सिन्धुपाल्चोकका सुवास कर्माचार्य नेकपा एमालेका पूर्वसांसद हुन् । उनी एमालेका त्यागी एवं सादगी नेताका रुपमा चिनिन्छन् । तर, दुर्गा प्रसाईं केन्द्रीय कमिटीमा अटाउँदा कर्माचार्यलाई केपी ओलीले सम्झिएनन् । ओलीको कोपभाजनमा परेका अर्का नेता हुन् कर्णाली प्रदेशका डा. योगेन्द्र शाही । शाहीलाई प्रकाश ज्वालाले कर्णाली प्रदेशको अर्थमन्त्री हुँदा प्रदेश योजना आयोगको प्रमुख बनाएका थिए । उनी पनि माधव नेपालको पार्टीमा जान तयार भएर बसेका थिए । तर, पार्टीमा १० बुँदे सहमति भएपछि एमालेमै बसेर योगदान गर्न सकिन्छ भन्ने ठानेर एमालेमै बसेका थिए । एमालेका अर्का नेता सुरेन्द्र मानन्धर पूर्वकेन्द्रीय सदस्य हुन् । माधव नेपालसँग निकट रहँदै आएका उनी एमालेकै रहनुपर्छ र पार्टी एकताको पक्षमा लाग्नुपर्छ भनेर एकीकृत समाजवादीमा नगई बसेका थिए । तर, ओलीले उनलाई पनि दुर्गा प्रसाईजस्तो योग्य सम्झेनन् ।