शेखर र प्रकाशमानको अडान यथावत्, सहमति बिनै सकियो पौडेल समूहको बैठक
रासंसा/काठमाण्डौ, मार्ग २४,
नेपाली काँग्रेसको रामचन्द्र पौडेल पक्षको बैठक बिना निष्कर्ष सकिएको छ । शुक्रबार अबेरसम्म राजधानीको बत्तीसपुतलीस्थित अनुपम फुडल्याण्डमा बसेको बैठक सभापतिको साझा उम्मेदवार तय गर्न असफल भएको हो । आफ्नो नाममा सहमति हुन नसक्ने भएपछि सभापतिका आकाङ्क्षी प्रकाशमान सिंह बैठक सकिनुअघि नै अनुपम फुडल्याण्डबाट हिँडेका थिए । सहमतिको प्रयास स्वरूप पार्टी महाधिवेशनको बन्दसत्र समेत छाडेर छलफलमा जुटेको पौडेल समूहमा सभापतिका आकाङ्क्षी प्रकाशमान सिंह र शेखर कोइरालाले आफ्नो दाबेदारीमा अडान कायमै राखेपछि सहमति हुन नसकेको एक नेताले बताए । त्यसपछि शनिबार फेरि एकपटक छलफल गर्ने भनेर बैठक टुङ्ग्याइएको ती नेताको भनाइ छ । शनिबार काँग्रेसको निर्वाचन सुरु हुँदै गर्दा पौडेलले उम्मेदवार टुङ्ग्याउन नसकेको हो । उनले आफ्नो नाममा सहमति गर्न प्रस्ताव गरे पनि बैठकमा सहमति जुटेको थिएन भने अन्य नेताको नाममा छलफल हुन थालेपछि बाहिरिएको एक नेताले बताए । उनले आफूले सभापतिमा उम्मेदवारी दिने अडानबाट पछि नहट्ने बताउँदै आएका छन्। उनी बाहिर आएपछि शेखरले पनि आफू कुनै हालतमा पछि नहट्ने अड्डी लिएका थिए ।