बिबाह पंचमी तथा षडानन्द जयन्तिको महत्व

Share to:

अपहृत्य शचीं भार्यां शक्यमिन्द्रस्य जीवितुम् ।
नहि रामस्य भार्यां मामानीय स्वस्तिमान् भवेत् ॥

के. बि. सम्राट

हाम्रो मुलुक बहुधर्मवालम्बिको मुलुक, बहुजातिको मुलुक, बहुसंस्कृतिको मुलुक, बहुपरम्पराको मुलुक, बहुभाषाको मुलुक, बहुरितिरिवाजको मुलुक, बहुसंस्कारको मुलुक यसैले पनि हामि भगवानका कृपा तथा प्रकृतिका बरदानस्वरूप अति नै सौन्दर्यताका धनि, मनका मनि हामि नेपालि । हाम्रा मुलुकमा विभिन्न स्थानहरुमा मनाइने जात्रा, पर्व, दिवस, महोत्सव अनुसार आज विबाह पंचमी तथा षडानन्द जयन्ति परेको छ l आजको दिनमा बिबाह पंचमी महोत्सव मनाउन मिथिलावासिहरुको धनुषाको जनकपुरमा महत्वपुर्ण रौनक भएको छ l भनिएको छ कि बरु भगवान इन्द्रकी पत्नी शचीलाई अपहरण गर्ने चैनले बस्न सक्लान् तर, मर्यादा पुरुषोत्तम रामकी पत्नीलाई अपहरण गर्ने कोही पनि सुखसँग बस्न सक्दैन । माथिको श्लोकको तात्पर्यलाई अझ सहज वाक्यमा यसरी बुझ्न सकिन्छ– भगवान रामकी पत्नीलाई अपहरण गर्नेलाई रामले विनाश गर्नुहुनेछ, यो अकाट्य छ । यो ध्रुवसत्य छ l आजको दिन विशेष दिन किन पनि हो भने आजकै दिन त्रेतायुगमा अयोध्याबाट राम आएर मिथिला राज्यको राजधानी जनकपुरधामबाट राजकुमारी सीतालाई विवाह गर्नुभएको थियो । मंसिर शुक्ल पञ्चमीको आजको दिनलाई त्यसैले त विवाह पञ्चमी पनि भनिएको हो । वैदिक सनातन हिन्दु संस्कृतिअनुसार राम र सीताको विवाह भएको प्रसंग हामीले बारम्बार सुन्दै आएका छौँ । आजको दिन यसको महिमा अझ राम्रोसँग बुझ्न सकिन्छ । विवाह बन्धनको प्रेमबाट सुरुवात भएको आदर्श प्रेम कथाको दृष्टान्त बोक्ने आजको दिन हो, विवाह पञ्चमी । रामसीताको अटुट सम्बन्ध र प्रेमलाई यसले दर्शाउने महत्त्वको विषयमा आजको दिनलाई अझ बढी सान्दर्भिक बनाएर लिन सकिन्छ । मिथिलावासीहरुले प्राचिनकालदेखि नै मनाउँदै आएको विवाह पञ्चमी अहिले पनि उत्तिकै रौनकका साथ मनाउने गरिन्छ । विशेषगरि जनकपुरमा आजको दिन ठूलै उत्सव लाग्छ; सागरहरु छेउमा आरती गरिन्छ, रामजानकी मन्दिर धुमधामले सजाइन्छ अनि साँझमा आरतीहरु मनमोहक देखिन्छ, मिथिलाकी छोरी सीता र उनका श्रीमान रामलाई विशेष श्रद्धाका साथ सम्झिने गरिन्छ, उनहरुको कीर्तिको गुणगान गाइन्छ । जनकपुरका लागि यो विशेष दिन पनि किन हो भने सीताको जन्म जनकपुरमा नै भएको मानिन्छ । मिथिला राज्यका अधिपति राजा जनककी जेठी छोरी सीताको अयोध्याका राजा दशरथका जेठा छोरा रामसँग विवाह भएको थियो । राम र सीताको विवाहको उत्सव मनाउन अहिले त रामजानकी मन्दिरमा साताव्यापी कार्यक्रम नै गरिन्छ । साताभर चल्ने विवाह उत्सवमा रामजानकी विवाह पञ्चमी महोत्सव, धनुष यज्ञ, तिल्कोत्सव, मटकोर तथा धार्मिक विधि अनुसार पूजा गरी विधिवत रुपमा विवाह पञ्चमी महोत्सव समापन गरिन्छ । अनि आजको दिन विवाह गर्न चाहने जोडीहरुले कुनै पनि साइत हेर्नु नपर्ने मान्यता रहँदै आएको छ । यो विवाहबारे एउटा प्रसंग रोचक छ । राजा जनकले संरक्षण गरेर राखेको शिव धनुलाई ठूलाठूला वीरहरुले पनि उचाल्न सकेका थिएनन् । तर, सीताले पूजा कोठा सरसफाई गर्दा एक्लै धनुलाई उचालेकी थिइन् । उनले धनु उचालेको थाहा पाएपछि राजा जनकले त्यो शिव धनु उचाल्न सक्ने वीर पुरुषसँग आफ्नी छोरीको विवाह गर्ने बताएका थिए । अयोध्याका राजकुमार रामले धनु उचालेका मात्र थिएनन्, उनले धनु उचाल्ने क्रममा त्यो भाँचिएको समेत थियो । तीन टुक्रामा धनु भाँचिएपछि राजा जनकले पहिले आफूले गरेको वाचाअनुसार रामसँग सीताको विवाह गर्न राजी भएका हुन् । भनिन्छ, राम र सीताको विवाह धुमधामका साथ भएको थियो । त्यही समयदेखि नै आजको दिनलाई विवाह पञ्चमीका रुपमा मनाउन थालिएको हो । अहिले पनि जनकपुर धाममा यो दिनका लागि विशेष तयारी गरिन्छ, मानौँ त्यहाँ साँच्चिकै सीताको विवाह हुन लागेको छ । त्यसो त भगवान रामको जन्मस्थान अयोध्याबाट आजै सीतासँग विवाहका लागि जन्ती आउने प्रचलन पनि रहेको छ, जन्ती आउनेहरुले रामको प्रतिमा ल्याउने गर्छन् । यता जनकपुरमा पनि सीताको प्रतिमा तयार पारिएको हुन्छ । राम र सीताका जीवनका अन्य कथाहरु पनि हामीले निकै सुनेका छौँ । रामसँगै सीता वनवास जाँदाको प्रसंग होस् या उनले निर्वाह गरेको असल पत्नीको चरित्र किन नहोस्, अहिले पनि हाम्रो समाजमा सीतालाई असल नारी, असल छोरी, असल बुहारी, असल भाउजू, असल आमा, असल पत्नीका रुपमा चित्रण गरिन्छ । उनको यही त्याग र सज्जन बानीलाई त हिन्दू धर्मावलम्बीहरुले देवीका रुपमा लिएका छन् । अनि पौराणिक ग्रन्थ रामायण पनि यसै वरपर घुमेको छ । अहिले पनि हाम्रो समाजमा रामायणको विशिष्ट महत्त्व रहेको छ । सीता र रामको कथा र प्रसंगहरु सदियौँसम्म चलिरहने छन् । यो आदर्श वर्षौपछि सम्म पनि रहोस् भन्ने कामनासहित यस वर्षको विवाह पञ्चमी २०७८ को पावन अवसरमा समस्त देश्वाशिहरुमा सुख, शान्ति, समृद्दी, सुस्वास्थ्य, दिर्घायु एवं उत्तरोत्तर शुभकामना ।

यस्तै आजको दिन षडानन्द जयन्ति पनि परेको छ l नेपालका प्रसिद्ध समाजसेवी, आबाल ब्रह्मचारी, साधु तथा शिक्षाप्रेमी षडानन्द अधिकारी अर्थात् बाला गुरु षडानन्दको जन्म आजको दिन भोजपुर जिल्लामा भएको थियो । भोजपुरको दिङ्ला गडीगाउँमा बाला गुरु षडानन्दको जन्म भएको थियो । पिता लक्ष्मीनारायण अधिकारी र माता रुक्मिणी अधिकारीको कान्छो सुपुत्रका रुपमा जन्मिनुभएका षडानन्द पछि गएर आबाल ब्रह्मचारी गुरु षडानन्दको नामले प्रसिद्ध हुनु भएको हो । उहाँ जन्मिँदा उहाँका बाबु लक्ष्मी नारायणको मृत्यु भइसकेको थियो । अत्यन्त दुःखले शिक्षा आर्जन गर्नुभएका षडानन्दले आफ्नो जीवनमा कठोर तपस्या गरेर योग साधना, अष्टांगयोग साधक तथा पूर्वी दर्शनका ज्ञाताको रुपमा आफूलाई स्थापित गराउनु भयो । उहाँले पूर्वी नेपालमा शिक्षाका लागि गर्नु भएका पहलहरु अतुलनीय रहेका छन् । तत्कालीन समयमा राणा शासनका कारण नेपालमा सर्वसाधरण जनताका छोराछोरी पढ्ने भन्ने थिएन । अत्यन्त सिमित व्यक्तिहरुले मात्र विद्यालयसम्म जान पाउँथे । त्यो समयमा भोजपुरमा संस्कृत पाठशाला निर्माण गरेर गुरु षडानन्दले पूर्वी नेपालमा शिक्षाको बिउ रोप्नु भएको थियो । उहाँले कठोर तपस्याले उहाँलाई दैवीशक्तिको उपहार पनि मिलेको विश्वास गरिन्छ । पछि उहाँलाई श्री १०८ को उपाधिले समेत सम्मान गरिएको थियो । उहाँको सम्मानमा भोजपुर जिल्लामा एउटा नगरपालिकाको नाम षडानन्द नगरपालिका राखिएको छ । उहाँको सम्मानस्वरुप २०५१ सालमा नै नेपालमा हुलाक टिकट सुरु गरिएको थियो । त्यहाँबाट फर्किएपछि १९३२ साल चैत शुक्ल राम नवमी सोमबारको दिन बाला गुरु षडानन्दले दिङ्लामा नर्मदेश्वर शिव मन्दिर निर्माण गर्नुभएको थियो । र, त्यहाँ नै विद्यालय स्थापना गरेर आफैंले अध्यापन कार्य सन्चालन गर्नु भएको थियो ।
भोजपुरमा सती प्रथाको अन्त्य, छुवाछुतको विरोध गरेर गुरु षडानन्दले समाज सुधारमा पनि ठूलो योगादन गर्नु भएको छ ।
१९६६ सालमा धर्म पत्रिका मार्फत आफ्नो सिर्जना प्रकाशित गरी विद्यालयको सञ्चालन, व्यवस्थापन तथा मन्दिरको पूजापाठ, मेलापर्व आदि सञ्चालनको सम्पूर्ण व्यवस्था मिलाएपछि उहाँ काठमाडौं, टेकुको पचली घाटमा अवस्थित आश्रममा फर्किनु भएको थियो । १९७३ सालको जेष्ठ शुक्ल त्रयोदशीका दिन योग साधनामा रहँदा रहँदै उहाँ ब्रह्मलीन हुनु भएको मानिन्छ । ब्रतबन्ध गरेलगत्तै जनकपुरमा गएर बाला गुरु षडानन्दले संस्कृतको अध्ययन गर्नुभएको थियो । जनकपुरमा रहँदा संस्कृतका धुरन्धर विद्वानहरुसँग उहाँको सानिध्यता रहेको बताइन्छ । आज उहाकै सम्झनामा यो लेखको स्मरण गरिएको छ l

Like

Leave a Reply

Your email address will not be published. Required fields are marked *