विश्व सम्पदा सूचीमा राख्न जानकी मन्दिरलाई जुनसुकै हालतमा पनि मन्त्री आले लाग्ने
रासंसा/काठमाण्डौ, मार्ग १८,
मुलुकमा मिथिला संस्कृति समाज नेपालले शनिबार काठमाडौंमा आयोजना गरेको श्रीराम जानकी विवाह महोत्सव–२०७८ तथा श्रष्टा सम्मान एवं विचार गोष्ठी कार्यक्रममा प्रमुख अतिथिको आसनबाट मन्त्री आलेले यस्तो आश्वासन दिएका हुन्। संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले ऐतिहासिक जानकी मन्दिरलाई छिट्टै विश्व सम्पदा सूचीमा सूचीकृत गराउने प्रतिबद्धता व्यक्त गरेका छन्। ‘सभ्यताको हिसावले मिथिला सभ्यता धेरै धनी रहेको छ। पशुपतिनाथभन्दा धेरै पूरानो रहेको जानकी मन्दिर हो,’ उनले भने, ‘म पर्यटन, संस्कृति तथा नागरिक उड्डयनमन्त्रीको हैसियतले अब छिट्टै नै जानकी मन्दिरलाई विश्व सम्पदा सूचीमा राख्नका लागि आफ्नो तर्फबाट भरपूर कोशिस गरेर जुनसुकै हालतमा पनि राख्न लाग्नेछु।’ तीन वर्ष अगाडि भारतका प्रधानमन्त्री नरेन्द्र मोदी विवाहपञ्चमीकै दिन जनकपुरधाम आएर माता जानकीको पूजाआजा गरेको स्मरण मन्त्री आलेले गरेका हुन्। उनले नेपालमा भगवान पशुपतिनाथ जति नै जानकी मन्दिर पनि महत्वपूर्ण रहेको बताए। मन्त्री आलेले नेपालकै सबैभन्दा ऐतिहासिक र धार्मिक आस्था बोकेको जनकपुरधामको जानकी मन्दिरलाई आफ्नै कार्यकालमा विश्व सम्पदा सूचीमा राख्न विशेष पहल गर्ने प्रतिबद्धता जाहेर गरेका छन्। उनले यसै विवाह पञ्चमीको दिन भारतका लाखौं भक्तजन जनकपुरधामको जानकी मन्दिरमा आएर दर्शन गर्ने गरेको उल्लेख गरे। मिथिला संस्कृति समाजका अध्यक्ष वीरेन्द्र ठाकुरको अध्यक्षतामा भएको कार्यक्रममा विशिष्ट अतिथि राष्ट्रिय समाजसेवी प्रा.डा.जगदीश वैद्यले पनि श्रीराम जानकी विवाहोत्सवको शुभकामना मन्तव्य दिएका छन्। उनले मिथिला संस्कृतिको चर्चा गर्दै यसको संरक्षणका लागि सबैले आआफ्नो तर्फबाट योगदान पुर्याउन आग्रह गरेका थिए।