हुम्लाको तुम्लिङमा भारी हिमपातका कारण ४ विदेशीसहित १२ पर्यटक फसे, सोलुखुम्बुको मेरापिकमा वेपत्ता ४ जना मध्ये ३ जनाको उद्धार, एक जना अझै वेपत्ता
मुलुकमा हुम्लाको तुम्लिङमा १२ जना विदेशी पर्यटक फसेका छन् । हिल्सा र लिमीको ट्रेकिङमा गएका स्लोभेनियाका ४ जना पर्यटक, ३ जना टुरगाइड र ५ जना स्थानीय नागरिक तुम्लिङमा फसेका हुन् ।
ट्रेकिङबाट सिमकोट फर्कने क्रममा ब्यापक हिमपात भएपछि उनीहरु तुम्लिङमा फसेको हुम्लाका प्रमुख जिल्ला अधिकारी गणेश आचार्यले जानकारी दिनुभएको छ । हिमपातले सिमकोट फर्कने न्यालु लेकको बाटो अवरुद्ध हुँदा उनीहरु उतै रोकिएका हुन ।
उनीहरुको साथमा आठ वटा खच्चडसमेत रहेका छन् । न्यालु लेकमा चार दिन यता बाक्लो हिमपात भईरहेको र बाटोमा तीन फिटभन्दा बढी हिउँ जमेको जनाइएको छ । उनीहरुको उद्धारका लागि हेलिकोप्टरको व्यवस्थाका गरिदिन गृह मन्त्रालयमा आग्रह गरिएको पनि प्रजिअ आचार्यले बताउनु भएको छ ।
मौसममा सुधार हुने वित्तिकै उनीहरुलाई उद्धार गर्ने तयारी गरिएको पनि जिल्ला प्रशासन कार्यालय हुम्लाले जनाएको छ । यता, सोलुखुम्बुको मेरापिक आरोहण गरी फर्कने क्रममा गत मंगलबारदेखि वेपत्ता भएका चार जना मध्ये तीन जनालाई फेला पारी उद्धार गरिएको छ ।
एक जना भने अझै वेपत्ता छन् । उद्धार गरिएका तीनै जनाको अवस्था गम्भिर रहेको नेपाल पर्वतारोहण संघले जनाएको छ । मेरापिकको पाँच हजार ७ सय मिटर उचाइमा रहेको मेराला नजिकको ओडारमा बसेको अवस्थामा तीन जनालाई फेला पारी उद्धार गरिएको हो ।
उद्धार गरिएका मध्ये मकालु एड्भेन्चर प्रालिबाट आरोहणका लागि गएका गाइड पासाङ शेर्पा, वेलायती पर्यटक सेउ र शेर्पा इभेन्ट अर्गानाइगर कम्पनीबाट पुगेका छेतेन शेर्पा रहेको जनाइएको छ । इभेन्ट अर्गानाइजरकै अर्का छिरिङ शेर्पा भने अझै वेपत्ता रहेका छन् ।