अपहरण मुद्दाका अभियुक्त वडाध्यक्षले चिन्छु भन्दा भन्दै ‘मान्छे नचिनेर’ अदालतले छाड्यो
मुलुकमा न्याय प्रशासन फितलो हुदै गएको र जनासरोकारहरु खिन्नता हुँदै गएको एक तथ्यांकले जनाएको छ । २०६५ साल पुस १ गते साँझ बालाजु औद्योगिक क्षेत्र हाताबाट अपहरणमा परेका बाबुराजा रावलका बुवा हरिकृष्ण रावलले दिएको जाहेरीका आधारमा अपहरणकारीको समूहमाथि काठमाडौं जिल्ला अदालतमा अपहरण तथा शरीर बन्धक मुद्दा चलेको थियो । तत्कालीन समयमा जिल्ला अदालत काठमाडौंमा दायर गरिएको अभियोगपत्रमा सोले वा कुमार भन्ने दुर्गाबहादुर बुढाथोकी फरारको सूचीमा रहेका कारण पछि प्रमाण बुझेपछि वा पक्राउपछि पूरक अभियोगपत्र पेस गर्नेगरी मुल्तवीमा राखिएको थियो । उक्त मुद्दामा प्रल्हाद महत, विष्णु जिसी, टासी गुरुङ, विकास कार्की लगायतका प्रतिवादीहरु तत्कालै पक्राउ परी उनीहरुमाथि मुद्दा चलेर दोषी ठहरसमेत भइसकेको थियो । घटनामा संलग्न भए पनि सोले तथा कुमार बुढाथोकी उपनाम भएका दुर्गा बहादुर बुढाथोकी भने घटनालगत्तै फरार भएका थिए । १ करोड ५० लाख रुपैयाँ फिरौती लिएर अपहरणमुक्त गरिएको घटनामा योजनाकार मध्येकै एक रहेका बुढाथोकीमाथि प्रहरीको नजर थियो । प्रहरीले उनलाई खोजी गरिरहेकै थियो । जब बुढाथोकी दार्जीलिङमा रहेर व्यापार गरिरहेको प्रहरीले सूचना पायो, त्यसलगत्तै केन्द्रीय अनुसन्धान ब्यूरो, सीआइबीको टोली दार्जीलिङतर्फ हानियो ।
२०७७ साल माघ १३ गते जिल्ला न्यायाधीश अम्बिकाप्रसाद निरौलाको इजलासले बुढाथोकीलाई तत्काल प्राप्त प्रमाणबाट कसुरदार होइनन् भन्ने नदेखिएको भन्दै थुनामा राखेर मुद्दाको पुर्पक्ष गर्ने आदेश दिएको थियो । उक्त आदेशपछि बुढाथोकी थुनामै रहेर मुद्दाको पुर्पक्ष गरिरहेका थिए । तर, २०७८ साल असोज ५ गते यो मुद्दाको पेसी उनै न्यायाधीश निरौलाको इजलासमा पर्यो । र, झण्डै ९ महिना थुनामा राखिएका उनलाई नाम फरक परेका कारण ‘अभियोग दावी नपुग्ने’ भन्दै सफाइ दिइयो ।२०७७ साल पुस १४ गते भारतको दार्जीलिङ पुगेर बुढाथोकीलाई पक्राउ गरी नेपाल ल्याउन सीआइबी सफल भयो । पक्राउ गरेलगत्तै सीआइबीले महानगरीय प्रहरी परिसरमा पेस गर्यो । र, २०७७ साल माघ ११ गते सरकारी वकिलमार्फत् काठमाडौं जिल्ला अदालतमा अपहरण तथा शरीर बन्धक मुद्दामा अभियोगपत्र दर्ता भयो ।प्रतिवादी सोले, कुमार भन्ने दुर्गाबहादुर बुढाथोकीले प्रहरी र सरकारी वकिलसमक्ष दिएको बयानमा बाबुराजा रावल अपहरण एवं शरीर बन्धक मुद्दामा आफ्नो संलग्नता रहेको स्वीकार गरेका थिए । सीआइबीले पक्राउ गरिसकेपछि २०७७ साल पुस १९ गते जिल्ला सरकारी वकिल कार्यालय बबरमहल काठमाडौंमा जिल्ला न्यायाधिवक्ता सुदीपकुमार दंगालसमक्ष महानगरीय प्रहरी परिसर काठमाडौंका अनुसन्धान अधिकृत प्रहरी निरीक्षक नानीकाजी थापाले बुढाथोकीसँग वयान लिएका थिए । त्यसबेला पनि भिडोसहितको बयान लिइएको थियो । बयानमा बुढाथोकीले अपहरणको घटनामा आफ्नो संलग्नता के कसरी थियो भन्ने उल्लेख गरेका छन् । सीआइबीको टोलीले दार्जीलिङबाट ल्याउँदै गर्दा आफ्नै प्रयोजनका लागि लिएको भिडियो (अनअफिसियल) र सरकारी वकिलसमक्ष लिएको भिडियो अन्तरवार्तामा पनि आफ्नो संलग्नताबारे खुलेर बोलेका छन् । भिडियोमा प्रतिवादीले हाँसीहाँसी बयान दिएको देखिन्छ । उक्त वयानमा उनले उक्त घटनाभन्दा बाहिरका केही अपराधका घटनाबारे पनि बयान दिएका छन् ।
बाजेको नाम थाहा छैन । बुवाको शम्भु बुढाथोकी, आमाको चिनामाया बुढाथोकी र मेरो नाम दुर्गा बहादुर बुढाथोकी, उपनाम कुमार हो । साथीहरुले सोले पनि भन्ने गर्छन् । वतन सर्लाही जिल्ला साविक ढुङ्ग्रेखोला गाविस वडा नम्बर ५ र हालको बागमती नगरपालिका वडा नम्बर २ डुम्रीटोलमा हो । ऐ जिल्ला हरिवन नगरपालिका वडा नम्बर ५ नयाँरोडमा घर बनाई परिवारसहित बस्छौँ । म हाल भारत दार्जीलिङमा बस्छु । वर्ष ३८ को भएँ । एसएलसी पास गरेको छु । हिन्दु धर्म मान्छु । भारत दार्जीलिङमा कपडाको व्यापार गर्छु । नेपाली हुँ । जिल्ला प्रशासन कार्यालय सर्लाहीबाट नागरिकता र राहदानी लिएको छु, नम्बर थाहा छैन । श्रीमती, छोरा र मसमेतको परिवार छ । पारिवारिक तथा आर्थिक अवस्था सामान्य छ । सम्पर्क नम्बर छैन, प्रकाश क्षेत्री नामको फेसबुक चलाउँछु, अन्य सामाजिक सञ्जाल चलाउँदिन । गहुँ गोरो वर्ण, मझौला शरीर, ५ फिट ६ इञ्च उचाई, घाँटीमा कोठी भएको मेरो हुलिया छ ।’
बयानको सुरुआतमै प्रतिवादीले शारीरिक तथा मानसिक अवस्था कस्तो छ र बयान दिन सक्नुहुन्छ भनी सोधिएको छ । जवाफमा प्रतिवादी बुढाथोकीले आफू ठीक भएको र बयान दिन सक्ने अवस्थामा रहेका बताएका छन् । बयानका क्रममा प्रतिवादीलाई बाजे, बुवा–आमाको नामथर, वतन, पेश, धर्म, राष्ट्रियता आदि खुलाउन भनिएको छ । प्रल्हाद महत, विष्णु जीसी, टासी गुरुङ, विकास कार्की र म समेतको संलग्नतामा मिति २०६५ पुस १ गते साँझ काठमाडौं बालाजु औद्योगिक क्षेत्र नजिकबाट हरिकृष्ण रावलको छोरा बाबुराजा रावललाई अपहरण गरी बन्धक बनाई हरिकृष्ण रावलमार्फत् १ करोड ५० लाख रुपैयाँ फिरौती लिई मिति २०६५ पुस २ गते साँझ बाबुराजा रावललाई अपहरण मुक्त गरिएको हो । सरकारी वकिलसमक्ष लिइएको बयानको सवाल नम्बर ९ मा बाबुराजा रावलको अपहरणको सम्बन्धमा के कसो भएको हो, खुलाइदिनु भनी सोधिएको छ । जवाफमा बुढाथोकीले यस्तो लेखाएका छन्–
त्यसैगरी अपहरणको योजना कसरी बन्यो भन्ने सरकारी वकिलको सवालमा बढाथोकीले प्रल्हाद महत, विष्णु जीसी, टासी गुरुङ, विकास कार्की समेतले बाबुराजा रावललाई अपहरण गर्ने योजना बनाइसकेको, निजहरुमध्येको विकासबहादुर कार्कीसँग आफ्नो पूर्वचिनजान रहेको र उसले आफूलाई प्रल्हाद महत, टासी गुरुङ । विष्णु जिसीसँग भेट गराई परिचय गराएको बताएका छन् । भेटघाटपछि रावललाई बन्धक बनाउने घरको चौकीदार तथा रेखदेख गर्ने जिम्मा आफूलाई दिएको र सोहीअनुसारको जिम्मेवारी आफूले लिएको बताएका छन् । प्रल्हाद महत, विष्णु जीसी, टासी गुरुङ, विकासबहादुर कार्कीसमेतले जाहेरवाला हरिकृष्ण रावलको छोरा बाबुराजा रावललाई अपहरण गरी बन्धक बनाई फिरौती लिने योजना बनाई काठमाडौं धापासीमा बन्धक बनाउने घर कोठा भाडामा लिएका रहेछन् । अपहरण गर्नु केही दिन अगाडिदेखि मलाई सोही घरमा बस्ने खाने व्यवस्था गरी दिई घर कोठाको चौकीदार गर्ने जिम्मा दिए । सोहीअनुसार मैले सोही घरकोठामा बस्ने खाने र घर कोठा कुर्ने चौकीदारको काम गर्न थालेँ यस्तैमा मिति २०६५ पुस १ गते साँझ बाबुराजा रावललाई बालाजुबाट अपहरण गरी ल्याउने कुरा भई प्रल्हाद महत, विष्णु जीसी, टासी गुरुङ, विकास कार्कीसमेतका मानिसहरु बाबुराजा रावललाई अपहरण गर्न गए । सोही दिन साँझ एउटा भ्यानमा राखी बाबुराजा रावललाई ल्याई घरको कोठामा आँखामा पट्टि बाँधी राखी बन्धक बनाई बाबुराजा रावलको रेखदेख गर्ने जिम्मा दिए । त्यस्तै सरकारी वकिलसमक्ष लिइएको बयानमा घटनामा क–कसको कस्तो भूमिका थियो भनेरसमेत सोधिएको छ । जवाफमा उनले यस्तो बेलिबिस्तार लगाएका छन् । प्रल्हाद महत, विष्णु जीसी, टासी गुरुङ, विकासबहादुर कार्कीसमेतका अन्य व्यक्तिहरुले बाबुराजा रावललाई धम्काउने, थर्काउने गरी निज बाबुराजा रावलकै मोबाइलबाट निजको बुवालाई फोन गर्न लगाउने र रकम माग्ने कार्य गरे । यस्तैमा मिति मिति २०६५ पुस २ गते बेलुका प्रल्हाद महत समेतका व्यक्तिहरुले बाबुराजा रावलको बुवा हरिकृष्ण रावलमार्फत् १ करोड ५० लाख रुपैयाँ फिरौती रकम लिई बन्धक बनाइएका बाबुराजा रावललाई अपहरण मुक्त गरी दिएका हौँ । त्यसैगरी सवालमा फिरौतीको रकम क–कसले कति कति लिएको हो भनी सोधिएको छ । जवाफमा बुढाथोकीले सुरुमा प्रल्हाद महतले आफूलाई ११ लाख दिएको र पछि ५ लाख रुपैयाँ प्रल्हादले नै फिर्ता लगेको र आफूले ६ लाख रुपैयाँ पाएको बताएका छन् । तर, अन्य को–को व्यक्तिले कति कति पाए थाहा नभएको बताएका छन् । प्रतिवादी दुर्गाबहादुर बुढाथोकीले मुद्दा अदालतमा पुगेलगत्तै वकिल राखे । बुढाथोकीले अधिवक्ता पुष्पराज उप्रेती र वरिष्ठ अधिवक्ता लव कुमार मैनालीलाई आफ्नो वकिल बनाए, उनीहरुसँग कुराकानी गरे । अनि न्यायाधीशसमक्ष दिने बयानमा उनको नाम परिवर्तन भयो । अनि, सोले वा कुमार बुढाथोकी भन्ने व्यक्ति एकाएक प्रकाश क्षेत्री बने । यसरी प्रतिवादी बुढाथोकीले सरकारी वकिलसमक्ष आफ्नो अपराध कबुल गरेको भिडियो बयानसमेत अदालतमा पेस गरिएको थियो । त्यतिबेलासम्म उनले कुनै वकिल राखेका थिएनन् । काठमाडौं जिल्ला अदालतका न्यायाधीश अम्बिकाप्रसाद निरौलासमक्ष प्रतिवादी बुढाथोकीले बयान दिँदा आफ्नो नाम थर, ठेगाना, उमेर आदि सबै फरक रहेको बयान दिएका छन् । बयानसँगै उनले भारतीय आधार कार्ड, प्यान नम्बर कार्डको फोटो पनि पनि पेस गरेका छन् । उनले प्यान नम्बर कार्ड भने २१ मे २०१७ मा बनाएको पाइएको छ ।
‘बाजेको नाम तीर्थ क्षेत्री हो । बुवाको नाम शिवा क्षेत्री, आमा तारा क्षेत्री, मेरो नाम प्रकाश क्षेत्री हो, उमेर ३६ वर्ष भएँ । तर, अभियोग पत्रमा मेरो बाजे, बुवा, आमा र मेरो नामसमेत फरक लेखिएको छ । अभियोग पत्रमा उल्लेखित नाम मेरो होइन । पेसा भारतको दार्जीलिङमा कपडा पसल गरेको छु । कक्षा ५ पास गरेको छु । घर भारतको वेष्ट बंगाल, टकभर टिस्टेट फोर्थ डिभिजन दार्जीलिङमा पर्छ । अभियोगपत्रमा उल्लिखित वतन मेरो होइन । मेरो सम्पर्क नम्बर ७४७७७…. हो ।’ अभियोगपत्रसाथ अदालतमा पेस भएको भिडियो बयानका बारेमा पनि अदालतबाट सोधिएको छ । तर, प्रतिवादी बुढाथोकीले भिडियो आफ्नो भएको तर भिडियोमा बोलिएको कुरा आफूले राजीखुसीमा नबोलेको, प्रहरीले कुटेर त्यस्तो बोल्न लगाएको बताएका छन् । तथापि रातोपाटीलाई प्राप्त उक्त भिडियो बयानमा प्रतिवादी बुढाथोकीले हात चलाउँदै, हँसिलो मुद्रामा बयान दिएको देखिन्छ । अपहरण घटनाका सम्बन्धमा के जानकारी छ भनी सोधिएको प्रश्नमा उनले घटनाबारे केही थाहा नभएको बताएका छन् । त्यस्तै सरकारी वकिलको रोहवरमा अनुसन्धान अधिकृतसमक्ष दिएको साविती बयान के हो त भनी सोद्धा प्रतिवादीले आफूले त्यस्तो नभनेको तर प्रहरीले त्यस्तो बनाएको दावी गरेका छन् । त्यसैगरी आफूलाई कुटपिट गरी बेहोरा लेखाई सहीछाप गराएको उनले बताएका छन् । फैसलाको पूर्णपाठ आइनसकेका कारण के कति आधारमा सफाइ दिइयो, भनिएको छैन, यद्यपि काठमाडौं जिल्ला अदालत स्रोतका अनुसार राय कितावमा भने अभियुक्त र पक्राउ परेका व्यक्ति फरक–फरक भएको उल्लेख गरिएको छ । अभियोजकले पक्राउ परेका व्यक्ति र अभियुक्त एकै व्यक्ति हुन् भनी प्रमाण पेस गर्न नसकेको आधारमा सफाइ दिइएको छ । यो मुद्दामा २०७७ साल माघ १३ गते जिल्ला न्यायाधीश अम्बिकाप्रसाद निरौलाको इजलासले बुढाथोकीलाई ‘तत्काल प्राप्त प्रमाणबाट कसुरदार होइनन् भन्ने नदेखिएको’ भन्दै थुनामा राखेर मुद्दाको पुर्पक्ष गर्ने आदेश दिएको थियो । तर त्यसको ८ महिनापछि उनै न्यायाधीश निरौलाले प्रतिवादी दुर्गाबहादुर बुढाथोकीलाई सफाइ दिएका छन् । फैसला खण्डमा अभियोग दावी नपुग्ने उल्लेख छ । बुढाथोकीको पहिलेको तस्बिर र हालको दुवै तस्बिर वडाध्यक्ष लामाले सनाखत गरे । अध्यक्षले भने, ‘तपाईले पठाउनुभएको फोटो हेरेँ । त्यो व्यक्ति मेरै टोलको हो । हामी उसलाई सोले वा कुमार भनेर चिन्थ्यौँ । खास नामचाहिँ दुर्गा बहादुर बुढाथोकी हो । फोटो दुर्गाको नै हो र उसको परिवार अहिले हरिवन नगरपालिकाको वडा नम्बर ५ मा पर्ने नयाँरोडमा बस्छ । आर्थिक अवस्था पहिले पनि राम्रो नै भएको परिवार हो । दुर्गाचाहिँ अहिले दार्जीलिङमा बस्छ भन्ने सुनेको छु । अपहरणको मुद्दाको फरार अभियुक्त हो भन्ने थाहा थियो । पछि नेपाल पुलिसले दार्जीलिङबाटै पक्रेर ल्यायो रे भन्ने सुनेको हुँ ।’ काठमाडौं जिल्ला अदालतले दुर्गाबहादुर बुढाथोकीलाई अभियोग दावी नपुग्ने भन्दै सफाई दिएपछि हामीले दुर्गा बहादुरको पहिलेको तस्वीर र हालको तस्वीर बुढाथोकीको स्थायी ठेगाना भएको हालको बागमती नगरपालिका २ का वडाध्यक्ष ङेमा लामालाई पठाएर सनाखतको प्रयास गर्यौँ ।