न जमिन रह्यो, न पैसा कस्तो परियो मिटर ब्याजको जालोमा
रासंसा/ सप्सतरी, भाद्र ३१
सप्तरीको खडक नगरपालिका–८ का बच्चालाल साहले गाउँकै महाजन रामदेव साहबाट २०६६ साउन ३० मा ४ लाख २९ हजार ऋण लिए । ७ नम्बर वडावासी साहबाट बच्चालालले आफ्नो नामको १२ कठ्ठा १६ धुर जमिन धितोमा राखे । ऋण लिएको १० वर्षमा २५ लाख रुपैयाँ बुझाएतर अहिलेसम्म उनले जमिन पाएका छैनन् । ‘४ लाख ऋणको एकपटक २१ लाख र एकपटक ४ लाख गरी २५ लाख रुपैयाँ बुझाइसकेँ, न अहिले जमिन फिर्ता आयो, न पैसाको हिसाब नै छ,’ उनले भने, ‘२०७६ जेठ ५ गते जमिन फिर्ता गर्ने भने पनि अहिलेसम्म पाइएको छैन ।’ साहूको चक्रवर्ती ब्याजको चपेटमा पर्ने उनी एक प्रतिनिधि पात्र मात्रै हुन् । सप्तरीको खडक नगरपालिका, शम्भुनाथ नगरपालिका र बोदेबर्साइन नगरपालिकाका सयौं दुई दर्जनभन्दा बढी मानिस रामदेव साहबाट प्रताडित छन् । अहिले रामदेव सुनसरीको धरानमा लुकिछिपी बस्ने गरेको उनको भनाइ छ । ‘कहिले झुम्का, कहिले धरान त कहिले विराटनगर बोलाउँछ,’ उनले राजधानीकर्मीसँग भने, ‘हालसम्म ८१ लाख रुपैयाँ तिरिसकेँ, न्यायका लागि एक्लै त लडिरहेको छु, एक्लै केही नहुँदो रहेछ ।’ उनका अनुसार यहाँका धेरैजसो मानिसहरूले रामदेवसँग जग्गा किन्नका लागि त, केहीले विदेश जानका लागि आफ्नो जमिन धितोमा राखेर ऋण लिएका थिए । रामदेवले चलाखी गरी धितोको जग्गा आफ्नो नाममा बनाएका छन् । उनीहरू ब्याज बुझाइरहेका छन् । रामदेवले विभिन्न मान्छे लगाएर धम्कीदिने गरेको पीडित बताउँछन् । बोदेबर्साइन ५ का मोहम्मद तैयब अलीले ३८ लाख रुपैयाँ ऋण लिए । ३८ लाख ऋणको अहिलेसम्म ८१ लाख रुपैयाँ बुझाइसके तर अहिलेसम्म जग्गा फिर्ता पाएका छैनन् । ‘मेरो जग्गा फिर्ता गरिदिनुहोस् भनेर धेरैपटक भनियो, अहिले भागेर हिँडिरहेछ,’ उनले भने, ‘कहिले एक करोड, कहिले डेढ करोड माग्दै छ ।’ रामदेवले अझै एकदेखि डेढ करोड माग्ने गरेकाले आफू अन्यायमा परेको उनले बताए । सुरुंगा नगरपालिका सप्तरीकी सबुत चौधरीले २०७५ सालमा १४ कठ्ठा जमिन राखेर २ लाख ५० हजार रुपैयाँ ऋण लिइन् । श्रीमान् कुशुमलाल चौधरीलाई वैदेशिक रोजगारीका लागि साउदी अरब पठाउनका लागि लिएको साढे २ लाख ऋणको ब्याज अहिलेसम्म ६ लाख रुपैयाँ तिरिसकिन् । तर, उनले पनि अहिलेसम्म जग्गा फिर्ता पाएकी छैनन् । ‘अहिले पनि श्रीमान्ले साउदीमा कमाएर पठाएको पैसा ऋण तिर्दै ठिक्क छ,’ उनले आफ्नो वेदना सुनाइन्,‘ जग्गा फिर्ता माग्दा अरू ६ लाख रुपैयाँ माग्ने गरेको छ ।’ शम्भुनाथ नगरपालिका–११ की ललिता मण्डलले जमिन किन्नका लागि १५ कठ्ठा जमिन धितोमा राखेर ४ लाख ५० हजार रुपैयाँ ऋण लिइन् ।
अहिलेसम्म २५ लाख रुपैयाँ तिरिसके पनि न त जग्गा फिर्ता भयो, न त श्रीमान्ले विदेशमा कमाएको पैसा नै बाँकी रह्यो । सन् २००६ मा श्रीमान् विनोद मण्डल रोजगारका लागि मलेसिया गए । करिब १० वर्ष विदेशमा कमाएको पैसा साहुकै हातमा बुझाउनु पर्दा पीडामा रहेको उनले बताइन् । ‘जमिन किन्नका लागि जमिन नै धितो राखेर ऋण लिएँ,’ रोदनमिश्रित अनुहार पारेर उनले भनिन्, ‘श्रीमान्ले मलेसियामा कमाएको सबै पैसा तिर्दै ठिक्क भयो, न अहिले जमिन रह्यो, न विदेशमा दुःख गरेको पैसा नै बाँकी छ ।’ यस्ता दुई दर्जनभन्दा बढी पीडितहरू अहिले एकआपसमा आफूले भोगेका पीडा साटासाट गर्दै दिन कटाउँछन् । रामदेव साहबाट पीडित मात्रै भएनन्, आफ्नो पीडा सुन्ने कोही नहुँदा थप पीडित बनेका छन् । स्थानीय रवीन्द्र यादव, छेदिलाल पासवान, रामप्रसाद खत्वे, मैजबुल रहमानलगायत थुप्रै पीडित अहिले आफ्नो जमिन फिर्ता नभएकामा छटपटाइरहेका छन् । पीडितका अनुसार रामदेव साह कल्याणपुर (हालको खडग नगरपालिका), राजविराज, बोदेबर्साइन जनकपुरजस्ता ठाउँमा पहिले बसेको भए पनि अहिले धरान–१९ मा बस्दै आएका छन् । पीडितहरूले सम्पर्क गर्दा कहिले आफू काठमाडौं, विराटनगर त कहिले धरान भन्ने गरेका छन् । आफ्नो जमिनफिर्ता माग्दै उनीहरू अहिले साहविरुद्ध आन्दोलन गर्ने तयारीमा लागेका छन् । साहले सबैबाट चक्रवर्ती ब्याज लिइरहेका छन् । जब मुलुकी देवानी संहिता ऐन २०७४ को परिच्छेद १५ मा लेनदेन व्यवहारसम्बन्धी व्यवस्थाको दफा २(१) मा ऋणीबाट लिन पाउने ब्याजको रकम सावा रकमको वार्षिक १० प्रतिशतभन्दा बढी नहुने भनिएको छ । यस्तै, बोदेबरसाइन नगरपालिका–९ मा रहेको साढे १२ कठ्ठा जमिन धितोमा राखेर शीतल यादवले २ लाख ७० हजार रुपैयाँ ऋण लिइन् । उक्त पैसाको हालसम्म ८ लाख रुपैयाँ ब्याज भनेर तिरिसकिन् । ‘अहिलेसम्म ८ लाख रुपैयाँ तिरिसकेँ, अहिले जग्गा फिर्ता गर्नका लागि ४८ लाख रुपैयाँ माग्ने गरेको छ,’ उनले भनिन्, ‘सोझासाझा मानिसमाथि रामदेव साहूले अत्याचार गरेको छ ।’