एमालेका पसिना अंग अंगमा छिपेका छन्, तर रुपान्तरण गर्न अझै सकेनौँ , ‘झिल्काबाट डढेलो सिर्जना हुन्छ, क्रान्तिको विकास त्यसरी नै हुन्छ’
रासंसा/ काठमाण्डौ, भाद्र १४,
नेपालमा अझै दिगो शान्ति स्थापना भइसकेको छैन । त्यो दिगो शान्ति स्थापना गर्ने र समाजवादको बाटोमा जाने कुराका निम्ति मेरो सम्पूर्ण जीवन समर्पित हुने छ । मैले दिएको वक्तव्य ‘धन्यवाद वक्तव्य’ हो । मेरो ‘कमिटमेन्ट’ हो । मेरो जीवन नाफाको जीवन हो यो । बोनसको जीवन हो यो । म ७१ वर्ष त यसै पार गरिसकेँ । अब म आफ्नो सास रहुन्जेल यो देशको निम्ति, यो राष्ट्रको निम्ति, यो राष्ट्रको राष्ट्रियताका निम्ति र कम्युनिस्ट आन्दोलनको विकास, विस्तार, क्रान्तिकारीकरण र मार्क्सवादी, लेनिनवादी पार्टीको निर्माण, साँचो अर्थमा समाजवाद निर्माण गर्ने प्रतिवद्धता भएको पार्टी निर्माण गर्ने काममा मेरो समय खर्चिने छु । म ७० वर्ष पुगिसकेको हुनाले मैले अब कुनै कार्यकारी पोस्टको दाबी गर्ने विचार गरेको छैन । तर, पनि पार्टीले मलाई के दिन्छ, के गर भन्छ, त्यसका लागि मैले ठाउँचाहिँ राखेको छु । तर, आफ्नो तर्फबाट भने मलाई कार्यकारी पोस्ट माग गर्ने कुनै नैतिक अधिकार छैन । किनभने, म नवौं राष्ट्रिय महाधिवेशनमा अध्यक्षका हैसियतले जुन विधान निर्माण गरियो, त्यो विधानमा एउटा मापदण्ड सर्वसम्मतिले पास गरिएको थियो, ७० वर्षको मापदण्ड । त्यो कुरा पास गर्ने मुख्य नेता मै हो । त्यसैले त्यसमा दृढतापूर्वक अडिएर जानुपर्छ भन्ने कुरा म आफ्नो निम्ति माग गर्छु । सबै अन्य नेताहरुलाई पनि त्यो कुरालाई ध्यान राख्नुस् भनेर आग्रह गर्न चाहन्छु ।