नेपाली, ब्रान्ड चिया दार्जिलिङ !
रासंसा/ झापा/ भाद्र १२,
दार्जिलिङको चिया बगानका सञ्चालकहरूको एक टोलीले केही समयअघि श्रममन्त्री मन्नालाई भेटेर नेपाली चियाको आयात रोक्न अनुरोध गरेको कोलकाताबाट प्रकाशित ‘सन्मार्ग’ दैनिकले उल्लेख गरेको छ । दार्जिलिङ टी एसोसिएसनअनुसार पछिल्लो तीन वर्षमा भारतले करिब ६ करोड किलोभन्दा बढी चिया आयात गरेको छ । जसका कारण दार्जिलिङ चियाको बजार डामाडोल बनेको आरोप उनीहरूको छ । चियाको उचित मूल्य पाउन पनि दार्जिलिङको चिया बगानका सञ्चालकहरू वञ्चित भएका उनीहरू बताउँछन् । पश्चिम बंगालका श्रममन्त्री बेचाराम मन्नाले गत साता मुख्यमन्त्री ममता बेनर्जीलाई लिखित गुनासो गरे, ‘नेपालको चिया दार्जिलिङ ब्रान्डका रूपमा तेस्रो देश निर्यात भइरहेको छ । यसले भविष्यमा भारतीय चिया उद्योगमा ठूलो संकट निम्तिन सक्छ ।’ त्यसपछि मुख्यमन्त्री बेनर्जीले कारबाहीको चेतावनी दिइन् । भारतीय सञ्चारकर्मीहरूसँग बेनर्जीले भनेकी छन्, ‘प्रतिष्ठित दार्जिलिङ ब्रान्डलाई जसले असर पुर्याउने काम गर्छ, उसलाई कारबाही हुन्छ ।’ ‘नेपाली चियाका कारण दार्जिलिङ चियाको शुद्धतामा मात्रै हैन, मूल्यमा पनि असर परेको छ,’ दार्जिलिङ टी एसोसिएसन (डीटीए) का सचिव कौशिक बसुले फोनमा भने, ‘यो गम्भीर कुरा हो । दार्जिलिङ चियाको ब्रान्डमाथि नै भविष्यमा आँच आउन सक्छ ।’ भारतीयहरूले आफ्नो ब्रान्डको चिन्ता गरेभन्दा फरक छैन नेपाली चिया उत्पादकहरूको पनि चिन्ता । केही भारतीय व्यापारीले नेपाली चियालाई दार्जिलिङ ब्रान्ड बनाएर युरोप, अमेरिका जस्ता मुलुकहरूमा समेत पठाउने गरेको पाइएपछि पश्चिम बंगाल सरकारले नेपाली चिया आयातमा पुनः कडाइ गर्ने सम्भावना बढेको छ । इलामलगायतका माथिल्लो भेगमा उत्पादित चियाको स्वाद दार्जिलिङको भन्दा पनि बेजोड छ,’ इलामको गोर्खा टी स्टेटका सञ्चालक उदय चापागाईंले भने, ‘त्यही कारण अन्तर्राष्ट्रिय बजारमा आफ्नो चियाको छवि बिग्रिने डर दार्जिलिङलाई छ ।’ उनीहरूको भनाइमा इलामको अर्थोडक्स चिया दार्जिलिङको भन्दा मीठो छ । दार्जिलिङ र इलामको भौगोलिक बनावट र हावापानी लगभग उस्तै छ । दार्जिलिङका बगान धेरै पुराना भए । बोट नयाँ कम छन् । त्यही कारण इलामको चिया दार्जिलिङको भन्दा मीठो रहेको नेपाली व्यवसायीको भनाइ छ । चिया उत्पादक संघका अध्यक्ष सुरेश मित्तलले केही व्यापारीको बदमासीले सिंगो नेपाली चियाको बदनामी भइरहेको बताए । ‘नेपाली चियाले दार्जिलिङ र डुबर्सको चिया समस्यामा परेको भन्ने उनीहरूको बुझाइ छ, त्यो गलत कुरा हो,’ उनले भने । नेपाली चियाको आयात रोक्न दार्जिलिङबाट पटकपटक प्रयत्न हुँदै आएको थियो । भारतीय व्यापारीहरूका कारण नेपाली चियाप्रति भारतमा अनावश्यक भ्रम सिर्जना भएको नेपाल चिया उत्पादक संघ झापाका अध्यक्ष मित्तल बताउँछन् । पूर्वी नाकाबाट निकासी हुने सीमित नेपाली उत्पादनमध्ये चिया पहिलो नम्बरमा छ । वार्षिक करिब ४ देखि ५ अर्बको चिया भारत निकासी हुँदै आएको मेची भन्सार कार्यालयले जनाएको छ । अघिल्लो वर्ष लकडाउनलगत्तै पश्चिम बंगाल सरकारले नेपाली चिया निर्यातमा अवरोध गरेको थियो । नेपाली चिया गुणस्तरहीन र स्वास्थ्यका दृष्टिले अखाद्य भएको भन्दै दार्जिलिङकी तत्कालीन राज्यसभा सांसद शान्ता क्षत्रीले तत्काल आयात रोक्न संसद्मा माग गरेकी थिइन् ।त्यसअघि दार्जिलिङ टी एसोसिएसनले तत्कालीन भारतीय राष्ट्रपति प्रणव मुखर्जीको दार्जिलिङ भ्रमणका बेला ज्ञापनपत्रमार्फत नेपाली चियाको आयात रोक्न पहलका लागि आग्रह गरेको थियो । जसमा पहाडी जिल्लामा उत्पादित अर्थोडक्सको निकासीसमेत उच्च छ । तराईमा उत्पादित सीटीसी चियाको माग भारतमा अत्यधिक छ । सरकारले निर्यातजन्य वस्तुको प्रवर्द्धन गर्ने उद्देश्यका साथ चिया, अदुवा, अलैंची, कुचो, दाल, भेनियर जस्ता वस्तुमा भन्सार मिनाहा गरेको छ । भन्सार सेवा दस्तुरबापत प्रतिकन्साइन्टमेन्ट सय रुपैयाँ र भ्याटबापत १३ रुपैयाँ अतिरिक्त शुल्क मात्रै लाग्छ । नेपाली सीटीसी चियाको मुख्य बजार भारत हो । भारतले आफ्नो चिया भने पाकिस्तानलगायत तेस्रो मुलुकमा निर्यात गर्छ । जसका कारण भारतीयहरू नेपाली सीटीसी चियामा भर पर्ने व्यवसायीको भनाइ छ । नेपालमा १६ हजार ९ सय ५ हेक्टरमा चिया खेती हुने गरेको चिया तथा कफी विकास बोर्डको तथ्यांक छ । इलाममा ७ हजार २ सय ३६ र झापामा ७ हजार ३ सय ३९ हेक्टरमा खेती हुँदै आएको छ । आर्थिक वर्ष २०७६/७७ मा नेपालबाट ११ हजार १ सय ८५.२ मेट्रिक टन चिया विदेश निर्यात भएको तथ्यांक छ ।
ट्रेडमार्क सीटीसीमा छैन
नेपाली अर्थोडक्स चिया आफ्नै ब्रान्डमा निर्यात हुन्छ । १२ कम्पनीहरूले ‘नेपाल टी क्वालिटी फ्रम द हिमालयाज’ नामक ट्रेडमार्कबाट इलामका ९, तेह्रथुमका २ र संखुवासभाको एउटा कम्पनीले अर्थोडक्स चिया उत्पादन र निर्यात गर्छन् । ट्रेडमार्कले मूलतः अर्थोडक्स चियालाई अन्तर्राष्ट्रिय बजारमा पहिचान दिएको छ । यो चिया सबैभन्दा बढी झापामा उत्पादन हुन्छ । अर्थोडक्सको आफ्नै ट्रेडमार्क छ । तर, सीटीसीका लागि भने छैन । त्यही भएर यो चिया धेरैजसो भारत निर्यात हुन्छ । नेपाली सीटीसी चियालाई नै दार्जिलिङ ब्रान्डमा निर्यात हुने गरेको खुलेको छ । समुद्र सतहदेखि ५०० मिटरभन्दा माथि उत्पादन हुने चिया अर्थोडक्स हो । सबैभन्दा बढी इलाममा उत्पादन हुन्छ । ५०० मिटरभन्दा तल उत्पादन हुने चिया सीटीसी हो ।