नेपाली कांग्रेसका जिल्ला सभापतिहरूले अनशन तोडे

Share to:

रासंसा/ काठमाण्डौ, भाद्र १२,

नेपाली कांग्रेसका  जिल्ला सभापतिहरूले अनशन तोडेका छन्  l चार दिनदेखि रिले अनशनमा रहेका कांग्रेसका जिल्ला सभापतिहरूले अनशन तोडेका छन् । शनिबार साँझ बालुवाटारमा बसेको पदाधिकारी र पूर्वपदाधिकारी बैठकले जिल्ला सभापतिहरूको माग सम्बोधन गर्ने निर्णय गरेको थियो । संस्थापन पक्षले मनोमानी ढंगले सदस्यता थप गरेको भन्दै नामावली सार्वजनिक गरेर त्यसमा थपघट गर्ने मौका दिनुपर्नेसहित तीन बुँदे माग राखेर पौडेल समूहका जिल्ला सभापतिहरू चार दिनदेखि रिले अनशनमा थिए । त्यहीअनुसार कृष्णप्रसाद सिटौला नेतृत्वको कार्यदलका नेताहरूले सानेपास्थित केन्द्रीय कार्यालयमा पुगेर माग सम्बोधन गर्ने सहमतिपछि जिल्ला सभापतिहरूले अनशन तोडेका हुन् । कार्यदलमा मिनेन्द्र रिजाल र रमेश लेखक सदस्य छन् । शनिबार अपरान्हबाट उदयपुरका सभापति विदुर बस्नेत, संखुवासभाका दिपनकुमार श्रेष्ठ र काठमाडौंका कृष्ण (सबुज) बानियाँ अनशनमा बसेका थिए । कार्यदलसँग सहमतिपछि अनशन तोडिएको काठमाडौंका सभापति बानियाँले जानकारी दिए । यसअघि शुक्रबार रोल्पाका सभापति अमरसिंह पुन, सिन्धुपाल्चोकका विकास लामा र सोलुखुम्बुका विनोद बस्नेत अनशन बसेका थिए । त्यसअघि सुर्खेतका सभापति कमलराज रेग्मी, डोल्पा सभापति अंगद बुढा, तनहुँका सभापति बैकुण्ठ न्यौपाने, नुवाकोट सभापति जगदिश्वरनरसिंह केसी, काभ्रे सभापति मधु आचार्य र धादिङ सभापति रमेश धमलाले २४ घण्टे अनशन पूरा गरेका थिए ।

Like