अस्पतालमा बढ्यो चुनौती, एकातिर ‘कोभिड–१९’ संक्रमितको चाप, अर्कोतिर ‘नन्–कोभिड’ का बिरामी पनि उत्तिकै
रासंसा / काठमाण्डौ, भाद्र १,
मुलुकमा बिरामीको चाप बढ्न थालेपछि इमरजेन्सीमा उपचाररत बिरामीलाई केही सहज हुनासाथ अक्सिजनसहित जनरल बेडमा सार्न थालिएको छ । ‘कोभिड भइ अस्पतालमा भर्ना भएकालाई हल्का निको भएपछि घरमै आरामका लागि पढाएका छौंँ,’ डा. बमले भने, ‘इमरजेन्सी वार्डमा उपचाररत बिरामीलाई केही सहज हुनासाथ अक्सिजनसहित सामान्य वार्डमा सार्न सुरु गरेका छौँ ।’ त्रिवि शिक्षण (टिचिङ) अस्पताल, महाराजगञ्जमा कोरोनाभाइरस (कोभिड—१९) संक्रमित गम्भीर खालका बिरामीको चाप बढ्न थालेको छ । सरकारले कोरोना महामारीको तेस्रो लहर आउने प्रक्षेपण गरिसकेको छ । यद्यपि त्रिवि शिक्षण अस्पतालमा भने शनिबारदेखि कोभिड बिरामीलाई छुट्याइएको बेड भरिन थालेको आईओएमका सहप्राध्यापक तथा छाती रोग विशेषज्ञ एवम् कोभिड संयोजक डा. निरज बमले बताए । दिन प्रतिदिन संक्रमितको ग्राफ उकालो लागिरहँदा त्रिवि शिक्षण अस्पतालमा भर्ना हुने संक्रमितको संख्या पनि उकालो लाग्दैछ । सो अस्पतालमा भर्ना भएका कोभिड बिरामीमध्ये युवा बढी छन् । पहिलो लहरमा वृद्धवृद्धा बढी प्रभावित थिए भने दोस्रो लहरमा वृद्धवृद्धासँगै दीर्घरोगी बढी प्रभावित भएका थिए । अस्पतालमा हाल भर्ना भएका बिरामी तुलनात्मक रुपमा युवा पिँढीको संख्या धेरै रहेको उनले सुनाए । सरकारले तेस्रो लहर आउने संकेत गरिरहँदा बालबालिका बढी प्रभावित हुने विज्ञहरु बताउँछन् । यद्यपि त्रिवि शिक्षण अस्पतालमा हालसम्म कोभिड–१९ संक्रमित बालबालिकाको भर्ना दर बढेको छैन । तर, संक्रमित बिरामी बढ्न थालेपछि आइसियू र भेन्टिलेटर भरिन थालेको अस्पतालको भनाइ छ । पहिलो र दोस्रो लहरमा कोरोना संक्रमितको संख्या बढ्दा नन्–कोभिड बिरामीको उपचार गर्ने कक्ष तथा इमरजेन्सी लगभग खाली भइसक्थ्यो । तर, अहिले नन्–कोभिडतर्फ दीर्घरोगी फलोअप, अप्रेसन, श्वासप्रश्वाससम्बन्धी समस्या लिएर आउने बिरामी दैनिक ७÷८ सय हुने उनले सुनाए । कोरोनाको अघिल्ला लहरहरुमा कोभिड बिरामी बढ्दा नन्–कोभिडका बिरामी घटेका थिए । तर, हाल कोभिड वार्डमा बिरामीको चाप बढ्दै गएको छ भने नन्–कोभिड वार्डमा पनि बिरामीको चाप बढेसँगै चुनौती थपिएको डा. बमले बताए । ‘नन्–कोभिड वार्डका बेडहरु पनि खचाखच भरिएका छन्, कोभिडका कारण धनजनको क्षति भएका मानिस अलि सजग अनि सचेत भए, संक्रमित भएर होम आइसोलेशनमा बसी निको भएका त्यति सजग नभएकाले चुनौती थपियो,’ उनले भने । संक्रमणलाई आफैले सामान्यीकरण गरी जनस्वास्थ्यमा मापदण्ड पालना नगरी नन्–कोभिड वार्डमा उपचारका लागि आउने धेरै रहेको उनको भनाइ छ । कोरोनाविरुद्धको खोप लगाएका मानिससमेत संक्रमित भएर अस्पतालमा उपचारका लागि पुग्ने गरेका छन् । पहिलो मात्रा खोप लगाएका र दुवै मात्रा खोप लगाएकासमेत संक्रमित भएर उपचारका लागि अस्पताल आएको उनले सुनाए । तर खोप लगाएर पनि संक्रमित भएकाहरुलाई अहिलेसम्म आइसियू र भेन्टिलेटरमा राख्न नपरेको उनले बताए । जनस्वास्थ्यका मापदण्ड पालनामा लापरवाही बढ्दै गएका कारण अब संक्रमण बढ्ने निश्चितजस्तै भएको संयोजक डा. बम बताउँछन् । संक्रमित भएर अस्पताल भर्ना हुने बिरामीको संख्या पुनः तीव्र रुपमा बढेसँगै अस्पतालले बेड संख्या बढाउन थालेको छ तर नन्–कोभिडका बिरामीलाई कहाँ राखेर उपचार गर्ने भन्नेबारे अर्को चुनौती थपिएको उनले सुनाए । खोप लगाए पनि, नलगाए पनि मास्क, सामाजिक दूरी र नियमित हातको सरसफाइ गर्नुको विकल्प नभएको उनले सुनाए । डा. बमका अनुसार हालसम्म खोप लगाउनेमध्ये बढी मात्रामा शिक्षित वर्ग छन् । खोप लगाइसकेपछि पनि उनीहरु अन्य व्यक्तिको तुलनामा जनस्वास्थ्यका मापदण्ड पालनामा इमानदार हुने भएकाले नेपालमा खोपको प्रभावकारिताबारे विलेश्षण गर्न सकिने अवस्था नरहेको उनको भनाइ छ । दोस्रो लहर उचाइमा पुग्दा त्रिवि शिक्षण अस्पतालले दैनिक चार सय कोभिड बिरामीको उपचार गरेको थियो । तेस्रो लहर आएर त्यही अवस्था सिर्जना भए पनि उक्त परिस्थितिको सामना गर्न अस्पताल तयार रहेको उनले सुनाए । कोभिड भएर इमरजेन्सीमा आएका बिरामीलाई कुनै पनि हालतमा फिर्ता नपठाउने अठोटका साथ लागि परेको उनको जिकिर छ । ‘दोस्रो लहरमा संक्रमण उचाइमा पुग्दा अक्सिजनको चरम अभाव भयो । तेस्रो लहरको संक्रमण ग्राफ उचाइ पुगेको खण्डमा अक्सिजनको अभाव हुँदैन,’ उनले भने, ‘किनभने दोस्रो लहरमा संक्रमित त्यसरी स्वाट्ट बढ्ला भनेर कल्पना गरिएको थिएन, त्यसैले अक्सिजनको हाहाकार भएकै हो ।’
आगामी दिनमा पूर्वाधार, जनशक्ति र अक्सिजनको समस्या नहोस् भनेर पूर्वतयारी स्वरुप व्यवस्थापनका लागि जुटेको उनले बताए । अस्पतालको बाल रोग विभागको उपचार कक्षमा कोभिड संक्रमित बालबालिका लागि ३० बेड, आइसियू, भेन्टिलेटर छुट्याइएको उनले जानकारी दिए । दोस्रो लहरमा कोभिड बिरामीका लागि प्रतिमिनेट ८००० हजार लिटर अक्सिजनको आवश्यकता थियो । हाल टिचिङ अस्पतालले संक्रमित बढेर प्रतिमिनेट ८००० हजार लिटर अक्सिजन चाहिएको खण्डमा समेत पु¥याउन सक्ने क्षमता बढाएको छ । पछिल्लो समय नन्–कोभिड वार्डमा पनि हाइफ्लो अक्सिजन चाहिने बिरामी ह्वात्तै बढेको अस्पतालले जनाएको छ । यसअघि अप्रेशन गरेका, इमरजेन्सीमा भर्ना भएका दीर्घरोगी तथा श्वासप्रश्वासको समस्या भएका केही बिरामीलाई अक्सिजन दिनुपर्थ्यो । हाल नन्–कोभिड वार्डमा उपचाररत पोष्ट कोभिड बिरामीलाई समेत अक्सिजन दिनुपर्ने अवस्था छ । बालरोग विभागले कोभिड बालबालिकाको उपचार कसरी गर्ने भन्नेबारे समिति नै गठन गरेको उनले सुनाए । कोभिड बिरामीको चाप बढ्न थालेपछि ३० बेड थप्ने तयारी भएको उनले बताए । कोभिड वार्डकै लागि नर्सहरु भर्ना गर्न अन्तरवार्ता चलिरहेको र ४ जना मेडिकल डाक्टर थपेको उनले सुनाए । कोभिड वार्डमा ३० वटा आइसियूसहित भेन्टिलेटर, ४० आइसियू बेड, १० एसडियू, १०५ जनरल बेड छन् । दोस्रो लहरमा दैनिक ४ सय कोभिड बिरामी भर्ना गरेर उपचार गरेको अस्पतालले अब पनि स्वास्थ्य पूर्वाधार तथा जनशक्ति बढाएर तेस्रो लहरसँग जुध्न तयारी अवस्था बसेको उनले सुनाए । डा. बम भन्छन्, ‘कोेरोना संक्रमितको संख्या तीव्र रुपमा बढ्दै गयो भने पनि विगतमा भन्दा कोभिड र नन्–कोभिड वार्डमा भर्ना भएका बिरामीलाई अक्सिजन तुलनात्मक रुपमा बढी चाहिन सक्छ ।’ हिजोआज निजी अस्पतालमा कोभिडको उपचार गराइरहेका बिरामी चर्को शुल्कका कारण सरकारी अस्पताल आउने गर्दा सरकारी अस्पतालमा संक्रमितको संख्या बढेको उनले सुनाए । हाल सो अस्पतालमा ११ जना भेन्टिलेटरमा उपचाररत छन् भने नन्इन्भेसिबल भेन्टिलेरमा फेसमास्कको सहयोगमा अन्य बिरामीलाई पनि भेन्टिलेरमा राखेर उपचार गरिएको छ । इमरजेन्सीमा १० जना बिरामी उपचाररत छन् । कोभिड बिरामी बढेकाले अब कोरोना सरकारी अस्पतालमा बिरामीको चाँप बढ्ने चिकित्सकहरुको अनुमान छ । दोस्रो लहरमा वैशाख ५÷६ गते संक्रमण ह्वात्तै बढे पनि अब भने कोरोना संक्रमणको ग्राफ उच्च नभएर विस्तारै भित्रभित्र संक्रमण गाउँदेखि सहरसम्म वर्षौंसम्म फैलिएर धेरैलाई मृत्युको मुखमा पु¥याउन सक्ने उनले बताए । नेपालमा अब कोरोना संक्रमण भित्रभित्र भुसको आगो झैं फैलिन सक्ने कोभिड संयोजक डा. बम बताउँछन् । कोरोना संक्रमणले सुनामीको जस्तो गति नलिएर वर्षौँसम्म भुसको आगोजस्तो फैलिने उनको अनुमान छ ।