फौजदारी मुद्दा चलाइयो शंकर पोखरेल र भूमिश्वरमाथि
रासंसा / काठमाण्डौ, श्रावण २०,
देशमा गणतन्त्र आएको छ । संविधान र कानुनभन्दा कोही पनि माथि छैन । अपराध गर्नेहरू कसैले पनि सत्ताको आडमा उन्मुक्ति पाउनु हुँदैन । यदि विमलाले गलत आरोप लगाएकी हुन् भने उनीमाथि कारबाही हुनुपर्छ । आरोप सही हो भने मुख्यमन्त्री शंकर पोखरेललाई जेल हाल्नुपर्छ । तर, त्यसअघि यो घटनाबारे फौजदारी संहिताको प्रक्रियाअनुसार अनुसन्धान जरुरी छ । कसैलाई शारीरिक रूपमा बन्धक बनाउनु र उसको इच्छाविपरीत कागजपत्रमा सही गराउनु गम्भीर प्रकारको फौजदारी अपराध हो । एकल महिलासमेत रहेकी लुम्बिनी प्रदेशकी सांसद विमला ओलीले आफूलाई मुख्यमन्त्री शंकर पोखरेलको निवासमा ५ दिनसम्म बन्धक बनाइएको र विभिन्न कागजपत्रमा जबरजस्ती हस्ताक्षर गर्न लगाएको बिहीबार पत्रकारसमक्ष बयान दिएकी छिन् । यो सामान्य बयान होइन, मुलुकको फौजदारी कानुन आकर्षित हुने गम्भीर घटना हो । हामीसँग विगतको नजिर पनि छ, राजनीतिक शक्तिकेन्द्रमा रहेका बहालवाला सभामुख कृष्णबहादुर महरामाथि गम्भीर फौजदारी आरोप लागेपछि उनले तत्कालै राजीनामा दिए । महरालाई प्रहरीले गिरफ्तार गरेर कानुन सबैका लागि समान हुन्छ भन्ने सन्देश दियो । उनी पुर्पक्षका क्रममा थुनामा बसे । फौजदारी घटना भएको थाहा पाएपछि प्रहरी आफैँले सक्रिय भएर अनुसन्धान गर्नुपर्छ, कसैको मुख ताक्नुहुँदैन । तर, सांसदलाई बन्धक बनाइएको पीडितबाटै बयान आउँदासमेत गृह प्रशासन लाचार एवं मूकदर्शक बनेर बसेको छ । एक जना माननीयले आफूलाई मुख्यमन्त्रीको निवासमा पाँच दिनसम्म बन्धक बनाइएको, कागजपत्रमा जबरजस्ती हस्ताक्षर गराइएको र अन्ततः ट्वाइलेटको चप्पल लगाई भागेर खुल्ला संसारमा आएको बयान दिएकी छिन् । तर, यस्तो गम्भीर अभियोग लागेका मुख्यमन्त्री शंकर पोखरेललाई प्रहरीले पक्रनुको साटो उल्टै सुरक्षा दिइरहनु कानुनी राजको खिल्ली उडाइनु हो ।
पाँच दिनसम्म विमला ओलीलाई निवासमा बन्धक बनाएर राखेको र जबरजस्ती हस्ताक्षर गराइएको आरोप लागेका मुख्यमन्त्री पोखरेल भोलि अनुसन्धानको सिलसिलामा कृष्णबहादुर महराजस्तै निर्दोष साबित हुन सक्लान् । तर, एक जना एकल महिलासमेत रहेकी निहत्था माननीयले यति गम्भीर आरोप बित्थामै लगाइन् होला भनेर गृह प्रशासनले ढुक्क भएर बस्न मिल्दैन । देशमा यदि कानुनको शासन छ भने एक अबला नारीले बाहुबली शासकबाट भएको ज्यादतीमा न्याय पाउनैपर्छ । कमसेकम यो घटनामा दोषी भनिएका व्यक्ति जतिसुकै शक्तिशाली भए पनि तिनलाई तत्काल हिरासतमा लिएर छानबिन हुनैपर्छ ।
के भनिन् विमलाले ?
एमाले सांसद उत्तरकुमार ओलीको दुर्घटनामा निधन भएपछि गत उपनिर्वाचनमा दाङबाट नेकपाको ब्यानरमा प्रदेश सभामा विजयी विमलाले पार्टी फुटेपछि माओवादी पार्टी रोजेकी थिइन् । त्यसयता उनलाई एमाले नेताहरूले बारम्बार एमालेमा लाग्न दबाब दिँदै आएका थिए । तर, विमलाले पत्रकार सम्मेलन नै गरेर आफू माओवादीमा रहेको स्पष्ट पारिसकेकी थिइन् । तर, केही दिनअघि अकस्मात् विमला एमालेमै रहेको वक्तव्य आयो, जुन वक्तव्य मुख्यमन्त्रीको निवासमा बन्धक बनाएर हस्ताक्षर गर्न लगाइएको बिहीबार उनले खुलासा गरेकी छिन् ।
बिहीबार पत्रकारसमक्ष प्रस्तुत भएकी विमलाले भनिन्– ‘म अहिले (बुटवल) जाँदैन भन्दाखेरि पनि हैन, तपाई जानैपर्छ भनेर उहाँहरू (भूमिश्वर ढकाल)ले घरबाट गाडीमा लिएर आउनुभयो ।…. ‘म मुख्यमन्त्रीको निवासमा पाँच दिन बसेँ । माइन्युटमा सिग्नेचर गर्दिनँ भन्दा पनि पहिलाको दलको बैठकको र जिल्लाको… तीनवटा माइन्न्युटमा सिग्नेचर गराउनुभयो । विज्ञप्ति पनि निकाल्ने भन्नुभो । म उतै (माओवादीमै) जान्छु भन्दा पनि हैन, तपाई यतै एमालेमा आउनोस्, तपाईंका श्रीमान् यस्तो गरे, उस्तो गरे भनेर विगतका कुराहरू लिएर यस्तो गरे ।’ पत्रकार सम्मेलनमा विमलाका तर्फबाट जारी दुई पन्ने विज्ञप्तिको दोस्रो पृष्ठमा घटनाबारे यसरी वर्णन गरिएको छ–