नेकपा एमालेको मेरियट वार्ता निष्कर्षविहीन आआफ्नै अडानमा

Share to:

रासंसा/काठमाण्डौ, आषाढ २३,

मुलुकमा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीचको छलफल निष्कर्षविहीन भएको छ । ओली र नेपालबीच दुई घण्टा भएको छलफलमा कुनै सहमति जुट्न सकेन। तथापि माधव नेपाल पक्षका नेताहरु भने आफूहरुले कुनै भागवण्डा वा ‘पावर सेयरिङ’ खोजेको नभई पार्टीभित्र सम्मानजनक एकता र प्याकेजमा सहमति खोजेको बताउँछन् । नेपाल पक्षका एक कार्यदल सदस्यले भने, ‘हामीले पावर सेयरिङ खोजेको होइन ।’ बैठकमा अध्यक्ष ओली ‘पावर सेयरिङ’ मा सहमत नभएपछि एमाले विवाद समाधानमा कुनै प्रगति हुन नसकेको बैठकमा सहभागी एक नेताले रातोपाटीलाई बताए । ‘खासगरी अध्यक्ष ओली ‘पावर सेयरिङ’ मा सहमत नभएपछि वार्ता निष्कर्षविहीन​ बन्यो,’ ती नेताको भनाइ छ । उता ओली पक्षले भने जेठ २ मा फर्किसकेको दाबी गर्दै केन्द्रीय कमिटीको बैठकमा आउन आग्रह गर्दै यसबाहेक नेपाल पक्षसँग कुनै पनि डिल नगरिने बटमलाइन बनाइएको छ । बुधबार दुई नेतावीचको कुराकानीमा यसैमा कुरो अड्किएको स्रोतले बतायो ।  मेरियट भेटवार्ताअघि बुधबार दिउँसो ओली र नेपालबीच फोन संवादसमेत भएको थियो । उक्त भेटमा ओलीले गम्भीर सङ्कट आइलागेको नेता नेपाललाई बताएका थिए । तर साँझको भेटमा ओलीले पूर्ववत् अडानबाट पछि नहट्ने अडान राखे पछि सहमति हुन सकेन । मेरियटमा नेताहरुबीच भएको छलफलपछि नेता भीम रावल र सुरेन्द्र पाण्डेले भेटवार्ताले समस्या समाधान गर्न सहज हुने प्रतिक्रिया मात्रै दिए । बैठकस्थलबाट बाहिरिने क्रममा बरिष्ठ नेता नेपालले पत्रकारलाई केही पनि प्रतिक्रिया दिन मानेनन् ।

नेता नेपालभन्दा केही ढिलो गरी राति ९ बजेर ५२ मिनेटमा होटलबाट बाहिरिएका प्रधानमन्त्री केपी शर्मा ओलीले पनि मिडियालाई कुनै प्रतिक्रिया दिएनन् । होटल मेरियटमा ओली र नेता नेपाललाई पार्टी विवाद समाधान गर्न गठित कार्यदलका सदस्यहरूले कार्यदल तहमा भएका सहमति र हुनसक्ने प्रगतिबारे ब्रिफिङ गरेका थिए । ओली र नेपाललाई कार्यदलका नेताहरू नेपाल पक्षका कार्यदल संयोजक भीम रावल, सदस्य सुरेन्द्र पाण्डे तथा ओली पक्षका कार्यदल संयोजक सुवास नेम्वाङ छलफलमा सहभागी भएका थिए । कार्यदलका सदस्य भीम रावलले पत्रकारहरुसँग भने, ‘कार्यदलका तर्फबाट कुराकानी गरिरहेको यहाँहरुलाई थाहा छँदैछ, शीर्ष नेताहरुवीच कुराकानी भयो । सकारात्मक दिशामा कसरी लैजाने भन्नेमा कुराकानी भइरहेको छ । फेरि कुराकानी हुनेछ । कुराकानीलाई गहिराइमा लानुपर्ने महसुस भएको छ ।  फेरि पनि कुराकानी गर्ने छौं । जति पनि वार्ता भइरहेको छ, समस्या समाधानका लागि भइरहेको छ ।’ कार्यदलका अर्का सदस्य सुरेन्द्र पाण्डेले  ओली र नेपालवीच एक्लाएक्लै कुराकानी भएको र त्यो सकारात्मक भएको बताए । अब विहीबार पुनः कार्यदलको बैठक बस्ने नेता पाण्डेले बताए ।  अझै नेकपा एमाले जुट्न पहल गरिने पनि उहाले बताए l  

Like