नेपाल चेम्बर अफ कमर्स र फेडरेसन अफ इजरायल चेम्बर अफ कमर्स बीच समझदारी पत्रमा हस्ताक्षर
काठमाडौं संवाददाता , २७ पौष-सोमबार नेपाल चेम्बर अफ कमर्स र फेडरेशन अफ इजराइल चेम्बर अफ कमर्स बीच आज एक समझदारी पत्रमा हस्ताक्षर भएको छ । दुवै पक्षका पदाधिकारी तथा इजरायल स्थित नेपालका राजदूत डा.अन्जान शाक्य र नेपाल स्थित इजरायलका राजदूत हनान गोडर गोल्डबर्गरको भर्चुअल उपस्थितिमा सो सम्झौता सम्पन्न भएको हो । उक्त समझदारी पत्रमा नेपाल चेम्बर अफ कमर्सको तर्फबाट वरिष्ठ उपाध्यक्ष राजेन्द्र मल्ल र फेडरेशन अफ इजराइल चेम्बर अफ कमर्सको तर्फबाट उपाध्यक्ष अमिर सानीले हस्ताक्षर गरेका छन् ।
समझदारीपत्रमा इजरायल चेम्बर अफ कमर्ससँगको सम्बन्ध मार्फत इजराइलबाट नेपालमा लगानी भित्राउन पहल गर्ने, नेपाल र इजरायलमा आपसी रुपमा व्यापारलाई बिस्तार गर्ने, दुइ–पक्षिय तथा बहु–पक्षीय ब्यापार तथा लगानीसँग सम्बन्धित साझा स्वार्थहरुको प्रबर्द्धन गर्ने, आर्थिक सहकार्य र व्यापारिक भ्रमणको आदान–प्रदान, व्यवसायीक सूचना आदान प्रदान गर्ने लगायतका बुंदाहरु समाबेश छन् ।
कार्यक्रममा नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेश काजी श्रेष्ठले यस समझदारीले दुवै मुलुकका व्यावसायीक निकायवीच व्यापारिक सम्बन्ध कायम हुने विश्वास व्यक्त गर्दै नेपाल र इजरायल बीच आर्थिक सम्वन्ध सुदृढ हुने उल्लेख समेत गरे । नेपाल र इजरायल बीच कुटनीतिक सम्वन्ध स्थापना भएको ६० वर्ष पुगेको अवसरमा निजी क्षेत्रका अग्रणी संस्था बीच भएको समझदारीले ठुलो महत्व राख्ने पनि उनले बताए ।
इजरायलका लागि नेपाली राजदूत डा.अन्जान शाक्यले नेपाल र इजरायलको निजी क्षेत्र बीच सोझै सम्पर्क कायम राख्न तथा सम्बन्ध बिस्तारका लागि दुवै चेम्बर बीचको यस सम्झौता कोशे ढुङ्गा साबित हुने विश्वास व्यक्त गरिन । साथै उनले इजरायलमा नेपालबाट उत्पादित चियाको बजार क्रमशः बिस्तार हुंदै गएकोले नेपाली उत्पादनका लागि इजरायल राम्रो गन्तव्य हुने धारणा व्यक्त गरिन ।
सो अवसरमा नेपालका लागि इजराइलका राजदूत हनान गोडर गोल्ड वर्गरले नेपाल पर्यटकीय संभावना भएको मुलुक भएको उल्लेख गर्दै साहसिक पर्यटनको निमित्त इजरायली पर्यटकको आकर्शक गन्तव्य रहदै आएको उल्लेख गरे ।
इजराइल नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष अनात वर्नस्टीन राइसले यस सम्झौताले नेपाल इजराइल नेपाल बीच आर्थिक सम्बन्ध बढाउन उपयुक्त मंच प्राप्त भएको र कोभिड पश्चात नेपाल र इजरायल बीच व्यवसायीक प्रतिनिधिमण्डलको आदान प्रदान हुने आशा व्यक्त गरे ।
त्यसैगरि, फेडरेसन अफ इजराइल चेम्बर अफ कमर्सका उपाध्यक्ष अमीर शानीले दुइ मुलुक बीचको आर्थिक सम्वन्धको क्रममा प्रस्तुत समझदारीपत्र कोशेढुंगा भएको र यसबाट निजी क्षेत्र बीच सम्बन्ध बिस्तार हुन गइ दुवै राष्ट्रलाई फाइदा हुने कुरा उल्लेख गरे ।
नेपाल चेम्बर अफ कमर्सका वरिष्ठ उपाध्यक्ष राजेन्द्र मल्लले बिश्वको सबै भन्दा अग्लो शिखर सगरमाथा नेपालमा रहेको र बिश्वको सबै भन्दा होचो मृत सागर इजरायल समीममा भएको कुरा उल्लेख गर्दै दुवै मुलुक पर्यटकीय हिसाबले संभावनायुक्त गन्तव्य स्थल रहेको उल्लेख गरे । वरिष्ठ उपाध्यक्ष मल्लले इजरायलले सूचना तथा प्रबिधिको क्षेत्रमा गरेको प्रगति, कृषिमा भएको यान्त्रीकरणबाट नेपालले फाइदा लिन सक्ने पनि औल्याउदै नेपाल जलश्रोतको अपार भण्डार भएको मुलुक भएकोेले जल उर्जाको क्षेत्रमा लगानीको लागि समेत आव्हान गरे ।
हालसम्म नेपाल चेम्बर अफ कमर्सले अन्य देशका ७० वटा बिभिन्न अन्तर्रा्ष्ट्रिय चेम्बर अफ कमर्ससंग समझदारी पत्रमा हस्ताक्षर गरिसकेको छ ।
उक्त समझदारी पत्र हस्ताक्षर कार्यक्रममा नेपाल महिला चेम्बरकी अध्यक्ष समेत रहेकी नेपाल चेम्बर अफ कमर्सकी कार्य समिति सदस्य उर्मिला श्रेष्ठ तथा अर्का सदस्य दिपेश रत्न तुलाधरको सहभागिता रहेको थियो ।