थप १३ जनामा कोरोना संक्रमण पुष्टि
रासंसा/काठमाण्डौ, चैत्र २६,
मुलुकमा देशभर पछिल्लो २४ घण्टामा थप १३ जनामा कोरोना भाइरस (कोभिड–१९)को संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो समय चार हजार १५५ को परीक्षण गर्दा उक्त संख्यामा संक्रमण पुष्टि भएको हो। यससँगै संक्रमणमुक्त हुने संख्या नौ लाख ६५ हजार ९८० पुगेको छ। यो दर ९८ दशमलव सात प्रतिशत रहेको मन्त्रालयले जनाएको छ। हालसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या ११ हजार ९५१ पुगेको छ भने पछिल्लो २४ घण्टामा कसैको पनि ज्यान गएको छैन। यससँगै नेपालमा पिसीआर विधिबाट गरिएको परीक्षणमा संक्रमितको संख्या नौ लाख ७८ हजार ५६८ पुगेको छ। एन्टिजेन परीक्षण गर्नेको संख्या एक लाख ४० हजार १४९ रहेको छ। पछिल्लो समय थप ४४ जना संक्रमणमुक्त भएका छन्। संक्रमणबाट हुने मृत्युदर १.२ प्रतिशत रहेको छ। हाल सक्रिय संक्रमितको संख्या६३७ रहेको छ। अहिले होमआइसोलेशनमा ६१३ रहेका छन्। त्यसैगरी संस्थागत आइसोलेशनमा २४ आइसीयूमा ११ र भेन्टिलेटरमा एक जनाले उपचार गराइरहेका छन्।