८८५ मिटर छिचोलियो नागढुंगा सुरुङ

Share to:

रासंसा/काठमाण्डौ, माघ २२,

एक वर्षको अवधिमा मुख्य सुरुङमार्गको एक तिहाइभन्दा धेरै खन्ने काम सम्पन्न भइसकेको छ। आयोजनाको मुख्य सुरुङको कुल लम्बाइ २६ सय ८८ मिटरमध्ये हालसम्म ८ सय ७५ मिटर खन्ने काम सकिएको छ। नागढुंगा सुरुङमार्ग खन्न थालेको एक वर्षमा एक तिहाइभन्दा धेरै छिचोलिएको छ। आयोजनाले आर्थिक वर्ष २०७७/७८ को पुसको पहिलो साता सुरुङमार्ग खन्न सुरु गरेको थियो। अहिले आयोजनामा दैनिक चार सयभन्दा धेरै कामदार खटिएर सुरुङ खन्ने काम गरिरहेका छन्। तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले २०७६ कात्तिक ६ गते सुरुङमार्गको औपचारिक शिलान्यास गरे पनि सुरुङ खन्ने काम झन्डै १४ महिनापछि २०७७ पुस ८ गतेदेखि मात्रै सुरु भएको थियो। इभाक्युएसन टनेलतर्फ १ हजार ३ सय ४० मिटर खनिएको छ। काठमाडौंतर्फको इभाक्युएसन ७ सय ७८ मिटर र धादिङतर्फ ५ सय ६२ मिटर खनिएको छ। आयोजनाका अनुसार मुख्य सुरुङमार्ग, इभाक्युएसन टनेल, वर्किङ अडिट र क्रस प्यासेजतर्फको भौतिक प्रगति ४३.२५ प्रतिशत छ। आयोजनाका अनुसार अहिलेसम्म समष्टिगत ३० प्रतिशत निर्माण कार्य सकिएको छ। आयोजनाका निर्देशक नरेशमान शाक्यले छोटो अवधिमै मुख्य सुरुङतर्फ ८ सय ७५ मिटर छिचोल्न सफल भएको बताए। काठमाडौंतर्फ ४ सय ३७ मिटर र धादिङतर्फ ४ सय ३८ मिटर सुरुङ खनिएको छ। मुख्य सुरुङको कुल लम्बाइ भने २६ सय ८८ मिटर रहेको छ। आयोजनाको समष्टिगत वित्तीय प्रगति ३७ प्रतिशत छ। यो वित्तीय प्रगति मोबिलाइजेसन बापतको रकम सहितको हो। ‘कोभिड १९ को जोखिमका बाबजुद निर्माणको काम रोकेका छैनौं। कोभिड कै कारण लक्ष्यभन्दा एक÷डेढ महिना मात्रै पछि रहेका छौं। सम्भवतः लक्ष्य अनुसार नै सुरुङमार्ग निर्माणले गति लिनेमा आशावादी छौं,’ उनले भने, ‘आगामी साउनभित्रै सुरुङमार्गको ब्रेक थ्रु गर्ने गरी काम गरिरहेका छौं।’ अहिले आयोजनामा ५ सय ३३ जना कामदारले कार्यरत रहेका छन्। निर्देशक शाक्यले आयोजनाको समष्टिगत भौतिक प्रगति ३० प्रतिशत भएको बताएका हुन्। उनले भने, ‘पछिल्लो साता आयोजनामा कार्यरत १३३ जना कामदारमा कोभिड–१९ संक्रमण देखिएसँगै सुस्ताएको निर्माणले अहिले गति लिइसकेको छ।’ कामदार संक्रमित भएसँगै आयोजनाको निर्माण कार्य केही सुस्ताएको थियो। अहिले सुरुङ निर्माणको कार्य पहिलाकै गतिमा फर्किसकेको उनको भनाइ छ। अहिले पनि आयोजनामा कार्यरत २३ जना कोभिड संक्रमित छन्। आयोजनाका निर्देशक श्रेष्ठका अनुसार सुरुङमा तीनवटा अन्डरपास निर्माण गर्नुपर्नेमा अहिलेसम्म दुईवटा अन्डरपास निर्माणको काम सम्पन्न भइसकेको छ। धादिङ र काठमाडौंतर्फको एउटा–एउटा अन्डरपास निर्माण सकिएको छ। काठमाडौंतर्फ एउटा अन्डरपास निर्माण बाँकी छ। ‘फ्लाई ओभरको जग खन्ने काम सुरु भइसकेको छ,’ निर्देशक श्रेष्ठले भने, ‘फ्लाई ओभर क्षेत्रको मुआब्जा वितरण पनि भइरहेको छ।’ सुरुङमार्गमा एक सिफ्टमा २ सय १७ जनाका दरले दुई सिफ्टमा काम भइरहेको छ। आयोजनाका अनुसार अहिले दैनिक १० मिटर सुरुङ काम नियमित छ। मासिक ३ सय मिटर सुरुङ खन्ने काम भइरहेको छ। आयोजनाका अनुसार अहिलेसम्म मुख्य सुरुङतर्फ ८ सय ७५ मिटर खनिएको छ। आयोजनाको अनुसार इभाक्युसन सडकतर्फ ७५ प्रतिशत र फिलिङतर्फ २५ प्रतिशत भौतिक प्रगति भएको छ। वर्किङ अडिटतर्फ १२६ मिटर खनिएको छ। त्यसैगरी, क्रस प्यासेजतर्फको १ सय २६ मिटरमध्ये अहिलेसम्म ४३ मिटर खनिएको छ। आयोजनामा रात–दिन दुवै सिफ्टमा काम भइरहेको छ। आयोजनाले अहिले विस्फोटक पदार्थ प्रयोग गरेर खनिरहेको छ। यो सुरुङमार्ग ड्रिल एन्ड ब्लास्ट प्रविधिमा खनिएको हो।यो मेलम्ची खानेपानी आयोजनाको जस्तै गरेर खनिनेछ। आयोजनाका अनुसार चारवटा बक्स कल्भर्ट निर्माण गर्नुपर्नेमा अहिलेसम्म तीनवटा तयार भइसकेको छ। त्यसैगरी तीनवटा पुल निर्माण गर्नुपर्नेमा दुईवटा तयार भइसकेको छ। एउटा ओभरपास पनि निर्माण सम्पन्न भइसकेको छ। धादिङ र काठमाडौंतफ ५–५ सय मिटर सडक तथा दुई फ्लाई ओभर र सुरुङमार्ग तथा मुआब्जासहित उक्त आयोजनामा करिब साढे २२ अर्ब खर्च हुनेछ। यो आयोजना निर्माण गर्ने ठेक्का जापानी कम्पनी हाज्मा आन्दो कर्पोरेसनले पाएको छ। सुरुङमार्ग निर्माण गर्न जापान सरकारले ०.०१ प्रतिशत ब्याजदरमा ४० वर्षका लागि ऋण दिने सम्झौता भइसकेको छ। यो आयोजना निर्माणमा जापानी सहयोग नियोग जाइकाको साढे १६ अर्ब ऋण र नेपाल सरकारको करिब ६ अर्ब गरी कुल साढे २२ अर्ब रूपैयाँ लाग्नेछ। सुरुङमार्गको कुल लम्बाइ २.६८ किलोमिटर हुनेछ। साढे ९ र ४ मिटरका दुईवटा सुरुङ निर्माण गर्ने आयोजनाको लक्ष्य छ। २.६८ किलोमिटर सुरुङ निर्माण आयोजनाले सन् २०२३ को अप्रिलसम्म सम्पन्न गर्ने लक्ष्य राखेको छ।

Like