१० जना भन्दा कम विद्यार्थी रहेका विद्यालयलाई मर्ज गर्ने

अन्जनराज न्यौपाने
गण्डकी प्रदेश
तनहुँ
व्यास नगरपालिकले १० जना भन्दा कम विद्यार्थी रहेका विद्यालयलाई मर्ज गर्ने व्यवस्था गरिएको व्यास नगरपालिकाका नगरप्रमुख बैकुण्ठ न्यौपानेले बताएका छन्।
शिक्षा विकास तथा समन्वय ईकाई तनहुँको आर्थिक वर्ष २०८२/०८३ को स्वीकृत वार्षिक कार्यक्रम अन्तर्गत मंगलबार दमौलीमा आयोजित “अनिवार्य तथा निःशुल्क शिक्षा सम्बन्धी एक दिने अभिमुखीकरण तथा अन्तरक्रिया कार्यक्रम” मा बोल्दै नगर प्रमुख न्यौपानेले विद्यार्थी संख्या न्यून भएका विद्यालयलाई व्यवस्थापन गर्दै शिक्षा क्षेत्रमा गुणस्तरीय सुधार ल्याउने नीति लिइएको स्पष्ट पारे।
कार्यक्रममा उनले सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर अभिवृद्धि, शिक्षक व्यवस्थापन तथा विद्यार्थी आकर्षण बढाउन स्थानीय तहले विभिन्न योजनाहरू अघि बढाइरहेको जानकारी दिए। साथै अनिवार्य तथा निःशुल्क शिक्षाको प्रभावकारी कार्यान्वयनका लागि अभिभावक, शिक्षक, विद्यालय व्यवस्थापन समिति तथा स्थानीय समुदायको साझा सहकार्य आवश्यक रहेको उल्लेख गरे।
अभिमुखीकरण तथा अन्तरक्रिया कार्यक्रममा शिक्षा क्षेत्रसँग सम्बन्धित सरोकारवाला निकायका प्रतिनिधि, शिक्षक, जनप्रतिनिधि तथा विभिन्न विद्यालयका प्रधानाध्यापकहरूको सहभागिता रहेको थियो।