आज तिन बर्षमा एक पटक आउने पद्मिनी एकादशी व्रत बसिदै

Share to:

रासंसा/काठमाण्डौ, ज्येष्ठ १३,

नमो स्तवन अनंताय सहस्त्र मूर्तये, सहस्त्रपादाक्षि शिरोरु बाहवे।
सहस्त्र नाम्ने पुरुषाय शाश्वते, सहस्त्रकोटि युग धारिणे नमस्।।
“ॐ नारायण विदमहे वासुदेवाय धिमही थन्नो विष्णु प्रचोदय”

कर्तव्य अर्जुनको जन्म हिन्दु क्यालेन्डरको १३औँ महिनामा भएको हो, मलमास या अधिमास जेसुकै भए पनि यस अधिक महिना पुरुषोत्तम महिनाका रूपमा मनाइन्छ । शरीर, आत्मा, दिमाग अनि विचारको शुद्धि करणका लागि पद्मिनी एकादशीलाई लिइन्छ, पुरुषोत्तम महिनाको गुरुत्व बल, पवित्रता अनि दैविक शक्तिको प्रभावले यस एकादशी झनै फलिफाप गराउने एकादशीका रूपमा स्थापित रहेको पाइन्छ । अधिका अर्थात् अधिक महिना जसलाई मलमास पनि भनिन्छ । त्यसै , मासको शुक्ल पक्षको शुक्ल पक्षको एकादशी तिथिमा पद्मिनी एकादशी पर्दछ । यस एकादशीको महिमा कर्तव्य अर्जुनको जन्मसँग जोडिएको छ, यी सबै प्रसङ्गलाई हामी आज केलाउने छौँ । एकादशी महत्मयबाट हामी यस एकादशीको व्रत कथा, विधि अनि आधुनिक समयमा भएको यसको सान्दर्भिकता सम्म केलाउने छौँ । यस एकादशीलाई कमला एकादशी पनि भनिन्छ । श्री हरि विष्णुको महिमा गान गरिने यस एकादशीलाई कमला एकादशी पनि भनिन्छ । मनमा हरि हुनु अति आवश्यक मानिन्छ, हरि एउटा चेतना हो अनि परमात्माको स्वरूप पनि तसर्थ हरेक मानवले मनमा हरिलाई बसाउन जरुरी रहेको हाम्रो पूर्वीय सनातन संस्कारले आव्हान गर्दछ । वेद अनि पुराणहरूमा भगवान् विष्णुलाई सृष्टिको पालन हार मानिएको छ, मानव जीवनसँग सम्बन्ध राख्ने सुख र दुखको चक्र हरिको हातमा रहेको भनिन्छ । हरिको यही गुणलाई महत्त्व दिएर लक्ष्मी पती हरिको हजारौँ नामहरू समावेश गरिएको बिष्ण्सहस्रनाम ग्रन्थ कुँदिएको छ । यसमा हरिका नामहरू अनि व्याख्या रहेको छ, संस्कृत भाषाको अपार मिठास अनि पवित्रतालाई यस ग्रन्थमा उजागर गरिएको छ । नेपाली जीवन परिवेशमा केही दशक अघिसम्म यस ग्रन्थलाई अक्षर चिन्न, पाठ गर्न र हरेक बिहानको पाठमा समावेश गरिन्थ्यो तर समय सँगै यस्ता उपासना, अध्ययन अनि भक्तिहरू हामीले आधुनिकताका नाममा फाल्दै आएका छौँ ।
श्रीमद्भागवतमा पनि कलियुगमा पापको अधिकता हुने भएकाले हरि नामको भजन, अनुसरण अनि आत्मसाथले मुक्ति पाउन सकिने सरल मार्ग प्राप्त हुने बताइएको छ । पद्मपुराणको अनुसार हरि नामको जापले वैकुण्ठ प्राप्त हुने बताइएको छ ।
नमो स्तवन अनंताय सहस्त्र मूर्तये, सहस्त्रपादाक्षि शिरोरु बाहवे।
सहस्त्र नाम्ने पुरुषाय शाश्वते, सहस्त्रकोटि युग धारिणे नमस्।।

यस मन्त्र हरिको सबैभन्दा शक्तिशाली र अर्थपूर्ण मन्त्र मध्य हो जसले सनातन संस्कारका दुई धार शिव मार्ग र वैष्णवलाई एकै धारमा जोड्ने कार्य पनि गर्दछ । हरिलाई शिव, शम्भु, ईशान र रुद्रका नाममा सम्बोधन गरिएको छ ।
महाभारतमा इच्छा मृत्यु वरदान भएका भीष्म पितामह वाणहरूको शय्यामा मृत्यु पर्खेर रहँदा युधिष्ठिरले उनलाई जगतका पालन हारका विषयमा सोधेका हुन्छन् । य भीष्मले हरिको महत्त्व दर्शाँउदै विष्णु सहस्र नाम उल्लेख गरेका छन् । हरिका हरेक नामको सैयौं तवर अनि अर्थबाट उजागर गरिएको यस सहस्र नामको जापले हरेक युगमा मनुष्यलाई साथ दिने र जीवनको अर्थ र उपस्थिति बढाउने भीष्मले बताएका छन् ।
कर्तविर एउटा प्रकाण्ड विद्धान अनि कुशल राजा थिए तर पुत्र लाभ नभएको कारणले उनलाई धेरै सताएको हुन्छ । यज्ञ, दान, अनुष्ठान आदि जेसुकै गरे पनि उनलाई पुत्र लाभ हुँदैन तसर्थ सबै राजकाज त्यागेर जङ्गलमा घोर तपस्या गर्ने उनले निर्णय लिन्छन् । यसरी उनले जगंलमा हजारौ वर्ष तपस्या गर्दछन् र यसरी कठोर तपस्या गर्दा उनकी श्रीमती पद्मिनीले उनलाई साथ दिन्छिन् । कठोर तपस्याले राजाको शरीर सिन्का जस्तै भइसक्दा पनि उनले भगवानको दर्शन पाँउदैनन । उनकी श्रीमती पद्मिनी ले प्रकाण्ड तपस्वी अत्रि महर्षिसँग सल्लाह गर्दछिन् र महर्षिले राजा रानीको पूर्वजन्मको पापका कारणले तपस्याको फल नपाएको तर पुरुषोत्तम मासमा हुने एकादशीको व्रत लिएमा सबै पाप मोचन हुने वताँउदछन् । रानी पद्मिनी ले भने बमोजिम गर्दछिन्, यस एकादशीमा रितपूर्वक भगवान् विष्णुको प्रतिमा स्थापना गर्दछिन् । चोखोनितो भएर निष्ठापूर्वक एकादशीको व्रत गरेर, विष्णुको भक्ति भाव गर्दछिन् । यसो गर्नाले भगवान् प्रसन्न भएर राजा कर्तवीर र रानीले भगवान् हरिको दर्शन पाँउछन । उनीहरूको पुत्र कर्तव्य अर्जुनको जन्म यसपश्चात् भएको मानिन्छ । कर्तव्य अर्जुनलाई विश्वमा केवल विष्णु स्वयमले मात्र वध गर्न सक्ने नत्र उनलाई अमरत्वको वरदान हुन्छ, भविष्यका लेखहरूमा हामी यी कर्तव्य अर्जुनको बारेमा पनि वर्णन गर्ने छौँ भने आजका लागि यस एकादशीको व्रतविधीमा संक्षेप प्रस्तुत गर्न तर्फ लाग्दछौँ । सूर्योदय अघि उठ्ने, प्रातस्नान गर्ने अनि मन र तन दुवै शुद्ध गर्न भनिन्छ । एक दिन अगावै लसुन, प्याज लगायत माछा मासु बिनाको सात्त्विक भोजन गर्नुपर्ने हुन्छ । पीतलका भाँडाको प्रयोग यस एकादशीमा विशेष रूपमा बन्देज लगाइएको छ । दिनभरि भगवानको भजन, कीर्तन, व्रत कथा श्रवण गर्ने अनि राती जाग्राम गर्न जरुरी मानिएको यस एकादशीमा व्रतालुहरूले फलाहारको सेवन गर्नुपर्ने हुन्छ । राती सुत्न परेमा पनि जमिनमा सुत्न पर्ने हुन्छ भने भोलीपल्ट पञ्चामृतको सेवन र अभिसेचनका साथ तुलसीको पात, धूप अनि अगर बत्तीको सुगन्धसँगै व्रत अन्त्य गरिन्छ ।
आधुनिक सनातन संस्कार ओझेलमा पक्कै परेका हुन तर विज्ञानको जड भने यतै रहेको र यतै वाट गएको पाइन्छ । हरेक एकादशीको १५ दिनको फरकमा सात्त्विक भोजन, फलाहार, भक्ति भाव र समर्पण भावले मानव हृदयलाई पुलकित गराउँदछ । अहिलेका विभिन्न पेट, अनिन्द्रा, डिप्रेसन, रक्तचाप लगायतका रोगहरूको दिर्घनिदान यी नै एकादशीहरूको व्रत र भक्ति भावमा हुन्छ । मान्छेलाई आफ्नो उपस्थिति अनि प्रेम भाव तथा शान्तिप्रिय बनाउन सदियौँदेखि एकादशीहरूले प्रेरित गरिआएका छन् ।
दशमीबाटै तामसी भोजन नगरी शुद्ध भएर र भोगविलासमा बन्देज गर्दै ब्रह्मचर्य पालन गर्नुपर्दछ । बिहानै श्रीमान् श्रीमती उठेर प्रातकालिन स्नान गर्ने र सम्भव भएसम्म पतिपत्नी दुबैका आमाबुवा पनि यस व्रतविधीमा सहभागी हुन जरुरी मानिन्छ । एकादशी महात्मैको कथा श्रवण, भोजन नगरी भक्ति भावमा लीन हुने अनि तनमन दुवैको शुद्धीकरण गरेर व्रत बस्न आव्हान गरिएको पाइन्छ । एकादशीको भोलीपल्ट द्वादशीमा सकल परिवार प्रातः स्नान गरेर अनि पञ्च रात्रिकी व्रत बस्न र दान पुण्य गर्न जरुरी रहेको बताइन्छ । धन अनि समृद्धिका लागि यस एकादशीको महिमा जति अन्य कुनै एकादशीको महिमा पाइन्न, ३ वर्षमा एकफेर आउने भएकाले यस एकादशी विशेष अनि अत्यन्त फलदायी पनि मानिन्छ भनी एकादशी महात्मै अनि स्कन्द पुराणमा पनि उल्लेख गरेका पाइन्छ । एउटा सामान्य वर्षमा २४ वटा एकादशी हुन्छन् तर पुरुषोत्तम मासमा एकादशी बढेर २६ हुने गर्दछ । यसरी अधिकमासमा थपिने २ एकादशीमा परमा र पद्मिनी एकादशी पर्दछन् ।
“ॐ नारायण विदमहे वासुदेवाय धिमही थन्नो विष्णु प्रचोदय”
यसको अर्थ हुन्छः मलाई भगवान् नारायणको शरणमा पर्न देऊ, भगवान् वासुदेवले मलाई सद्बुद्धि प्रदान गरुन् र भगवान् विष्णुले मलाई ज्ञानको ज्योति प्रदान गरुन् । कुनै पनि मन्त्रोच्चारण गर्दा यसले हाम्रो शरीरमा शक्ति उत्पन्न गर्दछ र यसलाई ब्रह्माण्ड वा हाम्रो वातावरणमा नै सञ्चार गर्नुपर्ने हुन्छ । यसरी यो शक्ति सञ्चारपछि तत्स ब्रह्मर्पण मास्तु मन्त्रको उच्चारण गर्दै तर्पणका रूपमा ब्रह्माण्डमै प्रदान गर्न सकिन्छ । अथवा, आशीर्वादको रूपमा यो शक्तिलाई हाम्रा इष्टमित्र तथा परिवारजनसम्म पनि पुयाउन सकिन्छ । ब्रह्माण्डमा तर्पणको रूपमा प्रदान गर्दा, हामी स्वयम्लाई ब्रह्माण्डले पुनः शक्ति प्रदान गर्छ । धार्मिक हिसाबले मात्र नभई स्वास्थ्यको हिसाबले पनि एकादशीको व्रत प्रभावकारी हुने भएकाले यसले भलो नै हुन्छ । अबको ३ वर्षपछि मात्र पुन परमा एकादशी आउनेछ, यस पावन तिथिको सबैलाई शुभकामना । सबैको मन अनि तनमा हरिको वास होस्, मनमा दया होस् अनि आँखामा करुणा होस् ।

Like