आज पूर्णिमा व्रत, विश्व मूर्ख दिवस (Poornima Vrata, April Fool’s Day) मनाइदै
रासंसा/काठमाण्डौ, चैत्र १८,
पूर्णिमा व्रत
शुक्ल पक्षको अन्तिम दिन पूर्णिमा हो । यस तिथिमा चन्द्रमा सर्वाधिक चम्किलो र तेजिलो रूपमा रहेको हुन्छ । यस दिन व्रत बस्नाले चन्द्रमाको असीम कृपा प्राप्त हुने र स्वास्थ्य, समृद्धि र शान्ति प्राप्त हुने विश्वास छ । पूर्णिमाको दिन विशेष भगवान् शिव र विष्णुको आराधना गरिन्छ । भगवान् विष्णुलाई गरिने विशेष अर्चनालाई सत्य नारायण पुजाको स्वरूपमा गरिन्छ । सामान्यतया सत्य नारायण पूजा जहिले गरे पनि हुने कार्य हो यद्यपि पूर्णिमाको दिनमा गरिने यस पुजा को फल निकै धेरै पाइन्छ । वैज्ञानिक हिसाबले हेर्दा पूर्णिमाको दिन पृथ्वीमा गुरुत्ववलको प्रभाव धेरै रहने र यस दिन व्रत बसेर भगवानको नाम सुमरण गर्दा आत्म शुद्धि हुने बताइन्छ । यस दिन व्रत बस्नाले मेटावोलीक प्रक्रिया सुदृढ रहने, ग्यास्ट्रिक समस्याहरू हल भएर जाने र शरीरमा सकारात्मक ऊर्जा बढ्ने हुन्छ । यस दिनको व्रत बिहान सूर्योदयको समय वाट साँझमा चन्द्रोदय भएसम्म गरिन्छ । कसै कसै ले निराहार र निर्जल बसेर यस व्रत लिन्छन् भने कसै कसैले एक छाक मात्र खाएर, अलिनो आहार ग्रहण गरेर व्रत बस्दछन् । साँझमा चन्द्रोदय पछि चन्द्रमाको दर्शनसँगै व्रत समापन हुन्छ ।
विश्व मूर्ख दिवस
यो अप्रिल फूल किन मनाउन थालियो भन्ने विश्वासिला कारणहरू भेटिदैन् । बोस्टन यूनिभरसिटीका प्राध्यापक जोसेफ बस्किनका अनुसार रोमन राज्यमा कन्सटेनटाईनको शासन रहेका वेला, आजकै दिनमा कैदी एवं अपराधीरुलाई एक दिनका लागी राज्य चलाउन दिइएको थियो । यसै दिनको संभनामा हरेक वर्ष अप्रिल फूल अर्थात् मूर्ख दिवस विश्वभरि मनाउन थालिएको मान्यता छ । लगभग यसै समय आसपासमा हिन्दु चन्द्र क्यालेन्डर मा होली, ज्वीस अर्थात् यहुदीहरूको क्यालेन्डर मा पुरीम र रोमनहरूको क्यालेन्डर मा अतीस पर्व पर्दछन् । मार्चको मध्य वाट र अप्रिलको प्रथम साता बिचमा यी पर्वहरू पर्ने गर्दछन् । वसन्त को आगमनको स्वागतार्थ अप्रिल फूल एउटा महत्पूर्ण दिन हो, हामी मध्य धेरैको सम्झना अप्रिल फूलसँग जोडिएको हुनसक्छ, हैन र ?
विश्व मूर्ख दिवसलाई सामान्यतया अप्रिल फूल भनेर बुझिन्छ । अरू कुरा जे सुकै होस्, तर यस दिनले चाहिँ जीवनमा हाँसोको महत्त्व स्पष्ट दर्शाँउछ ।
इतिहास र चलनहरू नियाल्ने हो भने अप्रिल फूलले सन् १७०० पछाडि विश्वव्यापी रूप लियो जब अङ्ग्रेजी हास्य लेखक अनि कलाकारहरूले यसलाई अभिव्यक्त अनि आआफ्ना रचनामा उतार्न थाले । बेलायती, स्पेनिस, पोर्चुगिस अनि नेदरल्याण्डको उपनिवेशको वृद्धि सँगै मान्यता पाउँदै गयो ।
सन् १९५७ मा त बिबिसी ले नै स्विस किसानहरूले रुखबाटै चाउचाउ टिपेको भिडियो देखाई दिएर आजको दिन संसारलाई नै नयाँ वाली आयो भनी झुक्काएको थियो । विभिन्न सञ्चार माध्यमहरूले पनि आज डर त्रास फैलाउने भन्दा पनि आशालाग्दा भ्रम अनि खबर फैलाएर आजको दिन मनाउदछन् ।
मूर्ख र सज्जन एक आपसमा वाँझिएका शब्दहरू हुन् । आज मूर्ख दिवस हो , विश्व मूर्ख दिवस । आत्मसाथ गरौँ, कालिदासको ज्ञान अनि काव्यलाई तर स्मरण गरौँ उनी पहिले कति मूर्ख थिए भन्ने कुरा । वाल्मीकिलाई संभना गरौँ जो पहिले रत्नाकर डाँकु थिए अनि हामी आफैलाई याद गरौँ न । विद्यालयमा छँदा साथीहरूको पछाडि कागजको पुच्छर जोडिदिने, ट्वाइलेटमा थुनिदिने, ब्याग र कापीहरू लुकाई दिने, पेन भित्रको रिफिल लुकाई दिने, खाली चकलेटको खोलमा मसिनो पत्थर राखेर दुरुस्त चकलेट जस्तो बनाएर बाटोमा छाडिदिने जस्ता धेरै क्रियाकलापहरू गरेका यादहरू पनि छन् नि , कि कसो ? बच्चामा गरेका मूर्ख कामहरू लाई, मूर्खपना नराम्रो हैन तर यस वाट सिक्न अनि अगाडी बढ्न जरुरी छ । आज बोलेका झुट या मूर्ख बनाउने शब्दलाई चोट नपूर्याओस्, मूर्ख वनाउनुहोस तर हँसाउन नभुल्नुहोस् । अप्रिल फूल हाउस फूल होस् ।