नौ महिनामा जीवन बिमा कम्पनीले उठाए सवा खर्ब

Share to:

रासंसा/काठमाण्डौ, बैशाख २३,

मुलुकमा नेपालमा सञ्चालनमा रहेका १९ वटा जीवन बिमा कम्पनीले चैत मसान्तसम्ममा १ खर्ब २६ अर्ब १८ करोड १२ लाख रुपैयाँ कुल बिमाशुल्क संकलन गरेका छन् ।

चालू आवको तेस्रो त्रैमासमा जीवन बिमा कम्पनीहरूको बिमाशुल्क आर्जन १५ दशमलव ३२ प्रतिशतले वृद्धि भएको छ ।

गत आर्थिक वर्षमा १ खर्ब १० अर्ब रुपैयाँ बिमाशुल्क आर्जन गरेका जीवन बिमा कम्पनीले चालू आवको चैत मसान्तसम्ममा १ खर्ब २६ अर्ब रुपैयाँ कुल बिमाशुल्क आर्जन गर्न सफल भएका हुन् ।

नेपाल बिमा प्राधिकरणका अनुसार बिमा कम्पनीहरूले चैत मसान्तसम्म १ करोड ३५ लाख ३९ हजार ५ सय १० वटा बिमा पोलिसी बिक्री गरेका छन् । नौ महिनामा सबैभन्दा बढी व्यवसाय नेपाल लाइफ इन्स्योरेन्सले गरेको प्राधिकरणले जनाएको छ । सो बिमा कम्पनीले ३३ अर्ब १ करोड ७८ लाख रुपैयाँ कुल बिमा शुल्क संकलन गरेको छ ।

यसैगरी, नेसनल लाइफ इन्स्योरेन्सले १५ अर्ब ६४ करोड ११ लाख रुपैयाँ कुल बिमा शुल्क संकलन गरेको छ । तेस्रो स्थानमा रहेको लाइफ इन्स्योरेन्स कर्पोरेसनले १४ अर्ब ३ करोड ६३ लाख रुपैयाँ बिमा शुल्क उठाएको छ ।

हिमालयन लाइफले १२ अर्ब ५९ करोड रुपैयाँ कुल बिमाशुल्क संकलन गर्दा राष्ट्रिय जीवन बिमा कम्पनीले ८ अर्ब १६ करोड रुपैयाँ कुल बिमाशुल्क संकलन गरेको छ । सूर्यज्योति लाइफले ७ अर्ब ६५ करोड रुपैयाँ कुल बिमाशुल्क संकलन गरेको तथ्यांक रहेको छ । यसैगरी, एसियन लाइफले ६ अर्ब ४६ करोड रुपैयाँ कुल बिमाशुल्क संकलन गरेको छ ।

सिटिजन लाइफले ५ अर्ब ८ करोड रुपैयाँ कुल बिमाशुल्क संकलन गर्दा सानिमा रिलायन्स लाइफ ४ अर्ब ८४ करोड रुपैयाँमा सीमित रहेको छ ।

मेट लाइफले भने ४ अर्ब ४४ करोड रुपैयाँ मात्र संकलन गरेको छ । आईएमई लाइफले ३ अर्ब ७७ करोड रुपैयाँ कुल बिमाशुल्क संकलन गरेको छ । रिलायबल नेपाल लाइफले ३ अर्ब ६९ करोड रुपैयाँ कुल बिमाशुल्क संकलन गरेको छ । प्रभु महालक्ष्मी लाइफले ३ अर्ब ६७ करोड रुपैयाँ कुल बिमाशुल्क संकलन गरेको छ । सन नेपाल लाइफले ३ अर्ब ८ करोड रुपैयाँ कुल बिमाशुल्क संकलन गरेको छ ।

तथ्यांकअनुसार नेपाल लाइफ इन्स्योरेन्स कम्पनी यस अवधिसम्म सबैभन्दा धेरै बिमाशुल्क संकलन गर्ने कम्पनी बनेको छ । सो कम्पनीले २६ अर्ब ३७ करोड ३५ लाख ७८ हजार रुपैयाँ कुल बिमा शुल्क आर्जन गरेको हो ।

प्राधिकरणको तथ्यांकअनुसार सरकारी स्वामित्वमा रहेको राष्ट्रिय जीवन बिमा कम्पनीको व्यवसाय सबैभन्दा बढी अंकले वृद्धि भएको छ । गत वर्ष तेस्रो त्रैमाससम्म ५ अर्ब ४६ करोड ९७ लाख रुपैयाँ प्रिमियम संकलन गरेको राष्ट्रिय जीवन बिमा कम्पनीले ४९ प्रतिशतले आफ्नो प्रिमियममा वृद्धि गरी चालू आवको साउनदेखि चैतसम्ममा ८ अर्ब १६ करोड ३५ लाख रुपैयाँ प्रिमियम संकलन गरेको हो ।

त्यस्तै, व्यवसाय वृद्धिका आधारमा दोस्रो स्थानमा रहेको रिलायबल नेपाल लाइफको २३ प्रतिशत र तेस्रो नम्बरमा रहेको नेसनल लाइफको २१ प्रतिशतले प्रिमियम संकलन बढेको छ ।

त्यस्तै, रिलायबल नेपाल लाइफ इन्स्योरेन्सले २३ दशमलव ७५ प्रतिशत, नेसनल लाइफले २१ दशमलव २६ प्रतिशतको वृद्धिदर हासिल गरेका छन् । रिलायबल नेपाल लाइफले गत वर्ष २ अर्ब ९८ करोड २६ लाख रुपैयाँ प्रिमियम संकलन गरेको थियो भने यस वर्ष सो रकम वृद्धि गरी ३ अर्ब ६९ करोड १२ लाख रुपैयाँ पु¥याएको छ ।

नेसनल लाइफ इन्स्योरेन्सले गत वर्ष चैत मसान्तसम्म १२ अर्ब ८९ करोड ९१ लाख रुपैयाँ प्रिमियम संकलन गरेकामा अहिले १५ अर्ब ६४ करोड ११ लाख रुपैयाँ पु¥याएको छ ।

चालू आवको चैतमा मात्र जीवन बिमा कम्पनीहरूले नवीकरण बिमा शुल्कबापत १३ अर्ब ९३ करोड १३ रुपैयाँ आर्जन गरेका छन् । साउनदेखि चैतसम्ममा भने ९९ अर्ब ५५ करोड ७ लाख रुपैयाँ नवीकरण बिमा शुल्क उठाएका छन् । वैदेशिक रोजगार बिमा शुल्क भने ९ महिनामा २ अर्ब २३ करोड ३ लाख उठेको तथ्यांक रहको छ ।

Like