रासंसा/काठमाण्डौ, बैशाख ०५,
मुलुकमा कुनैपनि राष्ट्रको एतिहाषिक, धार्मिक र प्राकृतिक सौन्दर्य या महत्व झल्काउने स्थल या संरचनाहरूलाई सम्पदा भनिन्छ। विश्वभरि भएका महत्वपूर्ण सम्पदाहरूको बारेमा नयाँ पिँढीलाई जानकारी गराउन, ति सम्पदाहरूको संरक्षण र सम्वर्द्धन गर्नका लागि पहल गर्न संयुक्त राष्ट्रसङ्घले हरेक वर्ष अप्रिल महिनाको १८ तारिखमा विश्वभरि यो दिवस मनाउन शुरु गरेको हो। नेपालका चर्चित सम्पदाहरू सगरमाथा राष्ट्रिय निकुञ्ज, लुम्बिनी, चितवन राष्ट्रिय निकुञ्ज, चाँगुनारायण मन्दिर, बौद्धनाथ, स्वयम्भूनाथ, पशुपतिनाथको मन्दिर, भक्तपुर दरवार क्षेत्र, पाटन दरवार क्षेत्र र काठमाडौँ दरवार क्षेत्र हुन् । हुन त नेपाल सम्पदाहरूको धनी देश हो । तर, युनेस्कोको विश्व सम्पदा सूचीमा समावेश भएका कारण यी १० सम्पदाहरू विश्वभरि नै चर्चित छन् । अहिले नेपालको सम्पदाहरूको संरक्षण र सम्वर्द्धन गर्नका लागि के कस्ता चुनौतीहरू छन् त ? अहिले विकासको नाममा हाम्रो मठमन्दिर, गुठी संस्थान, सार्वजनिक जग्गाजमिनहरू दिनानुदिन अतिक्रमण हुँदै गइरहेका छन् । हाम्रा देवताका मूर्ति अनि कलाहरु चोरी निकासी भएर विश्व बजारमा बेचिएका छन् । त्यसबाहेक, जीर्ण अवस्थामा रहेका हाम्रा कयौं सम्पदाहरूको सुधारका लागि पर्याप्त अनुदान न आउनु, या आएपनि कार्यान्वयन हुन नसक्नु जस्ता समस्याहरू अहिले हाम्रो सम्पदाको संरक्षणका मुख्य चुनौती हुन पुगेका छन् । सम्बन्धित निकायले यी चुनौतीहरूको यथाशीघ्र समाधान खोज्न जरूरी देखिएको छ । सन् २०२५ को विश्व सम्पदा दिवसको नारा “”Heritage under Threat from Disasters and Conflicts: Preparedness and Learning from 60 years of ICOMOS Actions” अर्थात् यो विषयवस्तु अन्तर्राष्ट्रिय स्मारक तथा स्थल परिषद् (ICOMOS) को ६०औं वार्षिकोत्सवमा केन्द्रित छ र यसले विगतमा विपद् र द्वन्द्वबाट सांस्कृतिक सम्पदाको संरक्षणमा गरिएका प्रयासहरूलाई प्रकाश पार्दछ। यस दिवसले भविष्यमा सम्पदा संरक्षणका लागि आवश्यक कार्यहरू जस्तै पूर्वतयारी, जोखिम न्यूनीकरण, विपद् व्यवस्थापन, आपतकालीन प्रतिक्रिया तथा पुनःस्थापनाका उपायहरूमा विचार गर्न र प्रतिबिम्ब गर्न प्रेरित गर्दछ।