सुशासन र चुस्त सेवा प्रवाह समृद्धिको पहिलो आधार – राष्ट्रपति
रासंसा/काठमाण्डौ, बैशाख १,
मुलुकमा राष्ट्रपति रामचन्द्र पौडेलले समृद्धिको बाटोमा बाधक बेथितिको अन्त्य, सुशासन प्रवर्द्धन र सेवा प्रवाहमा चुस्तता पहिलो आवश्यकता भएको बताएका छन्। विक्रम संवत् प्राचीन हिन्दू परम्परा र वैदिक समयाङ्कनमा आधारित शौर्य संवत् हो। यो संवत्ले नेपालको सभ्यता, सामाजिक जीवन र परम्परालाई प्रतिनिधित्व गर्छ। यो गौरवमय विगत सम्झाउँदै उन्नत भविष्यतिर प्रेरित गर्ने विश्वास उनकाे छ। नयाँ वर्ष २०८२ को शुभकामना सन्देशमा उनले जनताको चाहना पूरा गर्ने सङ्कल्प गर्न आग्रह गरे। ‘आज राष्ट्रको उन्नति र समृद्धिका लागि उत्साहका साथ जुट्न र साझा सङ्कल्प लिएर अघि बढ्न म सबैलाई अपिल गर्छु,’ उनले जारी गरेकाे शुभकामना सन्देशमा भनिएकाे छ। ‘नयाँ वर्षमा हामी विगतको समीक्षा गर्छौँ र आगामी दिनका लागि सङ्कल्प गर्छौँ,’ उनले भने, ‘यो हाम्रा साझा राष्ट्रिय लक्ष्य बनाउने र प्राप्त गर्न सङ्कल्प गर्ने दिन हो।’ प्रविधिमैत्री विश्वमा प्रविधिको प्रयोगलाई अझ प्रभावकारी बनाउनुपर्ने उनको तर्क छ। कृषि, पर्यटन, जलस्रोत, ऊर्जा, सूचना प्रविधि र उद्योगलाई अर्थतन्त्रको आधार मानेर उनले यी क्षेत्रका समस्या हटाई उपयुक्त नीति, कानुन र अवसर बनाएर समृद्ध राष्ट्र निर्माणको सङ्कल्प गर्न आग्रह गरे। राष्ट्रपति पौडेलले ठूलो राजनीतिक परिवर्तनपछि जनताको आकाङ्क्षा पूरा गर्न भएको ढिलाइ र कमजोरीलाई लिएर भ्रम फैलाउने प्रयासहरू बिस्तारै कम हुँदै जाने विश्वास व्यक्त गरेका छन्। ‘आजको दिनले हाम्रा राजनीतिक दल, नेतृत्व, सरकार र नागरिकलाई अझ लोकतान्त्रिक, न्यायपूर्ण र परिणाममुखी बन्न प्रेरित गर्छ भन्ने मेरो विश्वास छ,’ उनले भनेका छन्।
