जडीबुटीलाई राजावादीको चोट, २८ करोडको क्षति

Share to:

रासंसा/काठमाण्डौ, चैत्र २०,

मुलुकमा गत शुक्रबार राजावादी समूहका प्रदर्शनकारीले लगाएको आगोले जलेर जडीबुटी प्रशोधन तथा उत्पादन केन्द्रको २८ करोड रुपैयाँ बराबरको भौतिक क्षति भएको वन तथा वातावरण मन्त्रालयले जनाएको छ। केन्द्रले क्षतिको अनुमानित हिसाब वन तथा वातवरण मन्त्रालयलाई पत्राचार गरी जानकारी गराएको हो। केन्द्रकी महाप्रबन्धक संगीता यादवका अनुसार तयारी अवस्थामा रहेका लाखौं रुपैयाँ बराबरका औषधि जलेका छन्। औषधि बनाउन चाहिने कच्चा पदार्थ पनि जलेपछि केन्द्रको नियमित उत्पादन ठप्प भएको छ। उत्पादन बन्द भएसँगै ७० जना महिला कर्मचारीको रोजगारी बन्द भएको छ। उनका अनुसार ती महिलाले केन्द्रमा जडीबुटी औषधि उत्पादन र प्रशोधनको काम गर्दै आएका थिए। मन्त्रालयका प्रवक्ता शिवकुमार वाग्लेको अनुसार जडीबुटी केन्द्रका सञ्चालक र कर्मचारीले प्रारम्भिक रूपमा क्षतिको यो हिसाब निकालेका हुन्। आगजनीबाट केन्द्रका १३ वटा गाडी र ६ वटा मोटरसाइकल जलेर नष्ट भए । लाखौ रूपैयाँको तयारी औषधि, औषधि उत्पादन गर्न चाहिने कच्चा पदार्थ र उपकरणसमेत जलेको केन्द्रले जनाएको छ। घटनापछि सोमबार बसेको केन्द्रको बैठकले क्षतिको हिसाब निकालेर वन तथा वातावरण मन्त्रालयलाई जानकारी दिएको हो। बन्द भएको उत्पादनलाई निरन्तरता दिन पनि कञ्चा पदार्थ आपूर्ति र मेसिन मर्मत गर्ने निर्णय बैठकले गरेकाले त्यसैअनुरूप तयारी भइरहेको जानकारी महाप्रबन्धक यादवले दिइन्। योजना तथा बजार व्यवस्थापन शाखा प्रमुख गोविन्दकुमार शर्माका अनुसार केन्द्रबाट सन्चो, सन्चो जटाकेस तेल, सन्चो मसाज तेल, शिलाजित र बाम उत्पादन हुने गरेको छ। थप दुईवटा उत्पादनको उट्घाटन तयारी भइरहेका बेला केन्द्रमा गरिएको आगजनीले त्यो कार्य पर धकेलिएको छ।केन्द्रले ४२ वर्षदेखि नेपालमै पाइने विभिन्न जडीबुटी संकलन गरी औषधि उत्पादन गर्दै आएको छ। केन्द्रको उत्पादनले देशमा आवश्यक माग सम्बोधन गरेको र विदेशी आयातलाई प्रतिस्थापन गरेकाले यसलाई चाँडै नै पुनः सञ्चालनमा ल्याउनुपर्ने आवश्यकता रहेको यादवले बताइन्। केन्द्रले विदेशी आयातलाई प्रतिस्थापन गरी स्वदेशी उत्पादनलाई बढी जोड दिएको शर्माले बताए। ‘बाम यहींबाट उत्पादन हुन्छ, जुन विदेशबाट आयात गर्दा चौबर बढी मूल्य पर्छ’, उनले भने। साथै केन्द्रबाट उत्पादन हुने सन्चोले नेपाली उपभोक्ताको विश्वास जित्न सफल भएको छ। केन्द्रले आफ्नै उत्पादनको आम्दानीका भरका करिब एक सय कर्मचारीलाई रोजगारी प्रदान गरी सरकारलाई पनि कर तिर्दै आएको शर्माले बताए। केन्द्रले घटना भएको चौथो दिनपछि आगोले जलेर क्षति पुगेको बिजुलीको तार पुनः जडान सुरु गरेको छ भने छिट्टै अन्य भौतिक संरचना मर्मतका लागि मन्त्रालयसँग पहल गर्ने महाप्रबन्धक यादवले बताइन्। यही चैत १५ गते राजतन्त्र र हिन्दु राज्य पुनर्स्थापनाको माग राखेर राजावादी समूहले आयोजना गरेको प्रदर्शनका बेला प्रदर्शनकारीले केन्द्रमा लगाएको आगोबाट भौतिक क्षति मात्र नभइ कर्मचारीको मनोबल पनि कमजोर बनेको कर्मचारी र सुरक्षाकर्मीले बताएका छन्। ‘भागेर बाँचेका हौं, ड्युटीको समयमा अहिले पनि डर लाग्छ’, एक सुरक्षागार्डले भने। शुक्रबार भएकाले धेरैजसो कर्मचारी तीन बजेभित्रै गइसकेको र केही कर्मचारी कार्यालयमा बैठकमा बसिरहेका बेला प्रदर्शनकारीले केन्द्र परिसरभित्र पसेर गाडीमा र भवनमा आगो लगाएका थिए। प्रदर्शनकारीले आगो लगाउने र तोडफोड गर्न थालेपछि बाहिर रहेका सुरक्षागार्ड भागेका थिए भने कार्यालयभित्र रहेका कर्मचारी झ्यालबाट हाम फालेर भागेका थिए। ‘अघिबाट ढुंगामुडा र आगजनी सुरु भएको थियो, पछिबाट भाग्यौं’ महाप्रबन्धक यादवले भनिन्। प्रदर्शनकारीले भित्र पस्नेबित्तिकै गाडीमा आगो लगाउन सुरु गरेका थिए। उक्त घटनापछि जडीबुटी प्रशोधन तथा उत्पादन केन्द्र निरसजस्तो देखिन्छ भने कर्मचारीमा पनि त्रासको भय देखिन्छ ।

Like