आज विजया एकादशी व्रत एकादशी महात्म्य

Share to:

रासंसा/काठमाण्डौ, फाल्गुण १२,

जयं ददाति विजयं नृणा चैव न संशयस् ।
पुरातनं व्रतं ह्येतत् पवित्र पापनाशनम् ।।

शुक्लपक्ष र कृष्णपक्षको ११ औं दिनलाई एकादशी भनिन्छ। नन्दादि तिथिमा पर्ने एकादशी तिथिलाई भगवान् विष्णुको प्रिय तिथिका रुपमा पनि लिइन्छ। त्यसैले वैष्णवहरु एकादशी तिथिलाई श्रद्धा भक्तिपूर्वक पूजा आराधना जप ध्यान भजन कीर्तन र व्रत उपवास गरी मनाउने गर्दछन्। एकादशी र यसको महात्म्यका सम्बन्धमा कुनै एक समयमा नैमिषारण्य क्षेत्रमा शौनकादि ८८ हजार ऋषिमुनिहरु भेलाभई विश्वकल्याणका खातिर एक हजार वर्षमा साङ्गे हुने विश्व शान्ति यज्ञ चलिरहेको थियो। त्यसै समयमा व्यासका शिष्य परम वैष्णव सुतजी तीर्थाटन गर्दै यज्ञस्थलमा आइपुग्नु भयो। यज्ञमा सुतजीलाई देख्दा ढु·ा खोज्दा द्यौता भेटेजस्तो भएका ऋषिमुनिहरुले उहाँलाई स्वागत सम्मान गर्दै व्यासासनमा राखेर एकादशी महात्म्यको कथा सुनाउन अनुरोध गरे। त्यसै समयमा सुतजीले शौनकादि ऋषिहरुलाई अगाडि राखी सबै राजा महाराजाहरुलाई सुनाइएको र युधिष्ठिर अर्जुन लगायत पाण्डवहरुलाई श्रीकृष्ण भगवानले सुनाउनु भएको एकादशी महिमाको कथाहरु सुनाउनु भयो। धर्मको जय अधर्मको नाश, विश्वशान्ति र समस्त प्राणीहरुमा एकताको साथै अहिंसा र मित्रताको भाव स्फूरण गर्ने एकादशी महात्म्य र यसको महत्व स्पष्ट पार्दै उहाँले मानिसले जान अन्जानमा गरेका पापकर्मबाट छुटकारा पाउनुका साथै यस लोकमा सुख, सम्पत्ति, आरोग्य र आनन्दका साथै परलोकमा विष्णुलोकमा मोक्ष गति पाउन एकादशी व्रतबस्ने र एकादशी महात्म्य सुन्ने सुनाउने गर्नु उत्तम हुने विचार राख्नु भयो। विजया एकादशीले महाभारत र रामायण दुवै ग्रन्थमा स्थान पाएको छ । यो एकादशी व्रतले महाभारतमा पाण्डव अनि त्रेता युगमा भगवान् रामलाई विजयको शंखनाद गर्न शक्ति प्राप्त भएको मानिन्छ । विजयको फल दिने यो फाल्गुन एकादशीमा यहाँहरू सबैलाई स्वागत छ । यो एकादशीले पृथ्वीमा रहेका सबै प्राणीहरूको उपासना गर्न आव्हान गर्नुका साथै तुलसी पातको विशेष माग गर्छ । गोलोक धामका श्रीहरिको कृपा वर्षा गर्ने यो एकादशीमा व्रत लिने, फलाहार मात्र गर्ने र कीर्तन भक्ति गर्नेहरूलाई विजय प्राप्त हुने सङ्कल्प हुन्छ । श्रुति अनुसार, श्री कृष्णले युधिष्ठिरसँग यो एकादशीको व्रत गर्नाले सबैलाई विजय मिल्नेमा सन्देह छैन भन्नुभएको छ । अनि कृष्ण पनि स्वयंले यो एकादशीको महिमा नारद मुनीबाट जानेको र यसरी यस महिमा आफू पछाडि युधिष्ठिरलाई नै बताएको भन्नुभएको छ । धेरै कालअघि भगवान् श्रीराम वनवास गएको बेला रावणले सीतालाई छलकपट गरी हरण गरे । सिता हरण गरी लगेपछि उनै सीतालाई खोज्ने क्रममा विभिन्न समस्याको समाधान गर्दै राम समुद्रको किनारमा पुग्नुभयो । यो एकादशीको महिमा वर्णन गर्दा रामायणमा चाहिँ योगी वकदालभ्यको चर्चा पाइन्छ । यी मुनीले रामलाई यो एकादशीको महिमा बताएपछि राम र उनका सेनाले लङ्का जाने समुन्द्र पार गर्न र विजय हासिल गर्न सफल भएको मानिन्छ । त्यहाँ एउटा मुनिलाई दण्डवत् गरी आफ्नो सबै दुःख सुनाउँदा मुनीले विजया एकादशीको व्रत गर्ने उपाय बताइदिनु भयो र लङ्कामा विजया प्राप्त गर्नुभयो । यही कारणले यो एकादशीको नाम विजया एकादशी रहन गएको हो । अतः यस्तो प्रकारको विजया एकादशीको व्रत गर्नाले विजया मिलेको हो मान्यता हाम्रा धर्मग्रन्थ तथा श्रुतिहरूमा उल्लेख छ । यो दिन लक्ष्मी नारायणको प्रतिमामा विधिवत् यथाशक्ति एवं भक्तिका साथ व्रत गरेमा अवश्य भक्तले विजया प्राप्त गर्न सकिने कुरा श्री स्कन्द पुराणमा उल्लेख गरिएको छ । एकादशीमा नुहाई, जप ध्यान गरी नित्यकर्म सहित शुद्धमनले
क्र.सं. एकादशीको नाम महिनापक्ष
१. उत्पन्ना मार्गशीर्ष कृष्णपक्ष एकादशीको उत्पत्ति भएको
२. मोक्षदा मार्गशीर्ष शुक्लपक्ष पापहरको मोक्ष वचन
३. सफला पौष कृष्णपक्ष आफ्नो उद्देश्यमा सफल हुने
४. पुत्रदा पौष शुक्लपक्ष सन्तति प्राप्तिमा सफलता
५. षट्तिला माघ कृष्णपक्ष दुःखकष्ट र दरिद्रता हुने
६. जया माघ शुक्लपक्ष पापहरण गरी मुक्ति दिने
७. विजया फागुन कृष्णपक्ष सबै क्षेत्रमा विजयी हुने
८. आमलकी फागुन शुक्लपक्ष मोक्षगति र वैकुण्ठ वास
९. पापमोचनी चैत्र कृष्णपक्ष पापनष्ट हुने
१०. कामदा चैत्र शुक्लपक्ष मानिसको कामनापूर्ण हुने
११. वरुथिनी वैशाख कृष्णपक्ष आनन्द र सौभाग्य प्राप्ति
१२. मोहिनी वैशाख शुक्लपक्ष पापकर्म र मोह हट्ने
१३. अपरा जेष्ठ कृष्णपक्ष लोकमा प्रसिद्ध हुने
१४. निर्जला जेष्ठ शुक्लपक्ष पाप नाश भई मोक्षगति
१५. योगिनी आषाढ कृष्णपक्ष श्रापबाट मुक्ति पाउने
१६. हरिशयनि आषाढ शुक्लपक्ष सद्गति र सद्वृद्धि पाउने
१७. पवित्रा श्रावण कृष्णपक्ष पापबाट पवित्र भई विष्णुलोक
१८. पुत्रदा श्रावण शुक्लपक्ष पुत्रसुख प्राप्त हुने
१९. अजा भाद्र कृष्णपक्ष सुख सम्पत्ति प्राप्त हुने
२०. हरिपरिवर्धिनी भाद्र शुक्लपक्ष दुष्कर्मबाट मुक्ति
२१. इन्दिरा आश्विन कृष्णपक्ष पितृमुक्ति र सद्गति
२२. पापाड्ढकुशा आश्विनशुक्लपक्ष पापकर्मबाटमुक्ति
२३. रमा कार्तिक कृष्णपक्ष सत्मार्गमा उन्मुखहुने
२४. हरिबोधिनी कार्तिक शुक्लपक्ष मुक्ति विष्णुलोक प्राप्ति
२५. पाश्मिनी मलमास कृष्णपक्ष भुक्ति मुक्ति प्रदान गर्ने
२६. रमा मलमास शुक्लपक्ष सुख सम्पत्ति प्राप्त हुने
यसरी सामान्यत एक वर्षमा २४ ओटा एकादशी पर्दछन् भने मलमासको बेला २ ओटा एकादशी थप हुन्छन्। एकादशीको महत्व र गरिमा धेरै छ। यो व्रत सबै व्रतहरुमा उत्तम व्रत भएको र सदाचारमा केन्द्रित रहने भएकोले आध्यात्मिक एवम् धार्मिक पक्ष एकातिर छ भने अर्कोतिर स्वास्थ्य र सन्तुलनका दृष्टिकोणले पनि एकादशी व्रत उत्तम मानिन्छ। एकादशी व्रत विष्णु भगवानसँग सम्बन्धित हुने भएकाले विष्णुको रुप तुलसीसँग पनिविशेष सम्बन्ध राख्दछ। जेष्ठशुक्लपक्षमा पर्ने निर्जला एकादशीमा तुलसीदल रोप्ने, आषाढ शुक्लपक्षमा पर्ने हरि तुलसीको बिरुवा रोप्ने र कार्तिक शुक्लपक्षमा पर्ने हरिबोधिनी वा देवोस्थानी एकादशीमा तुलसीको विवाहोत्सव गर्ने परम्परा रहेको छ। सूर्यदर्शन गरी एकादशी महात्म्य पढ्ने र सुनाउने सुन्ने गर्नाले मानिसले आफ्नो जन्म सार्थक बनाउनुका साथै उत्तम फल प्राप्त गर्दछ। एकादशीमा व्रत बसी विष्णु भगवानको पूजा आराधना गर्नाले मानिसको भूत, वर्तमान र भविष्य सफल हुनुका साथै आफूसहित आफ्ना पूर्वजले सद्गति प्राप्त गर्नुका साथै भावी सन्ततिको समुज्वल भविष्य हुने कुरा पुराणमा उल्लेख भएको छ। यसरी हेर्दा एक वर्षमा बाह्र महिना २४ पक्षमा २४ एकादशी हुन्छन् भने मलमास परेको वर्षमा थप २ गरी २६ एकादशीको उल्लेख गरिएको छ। कार्तिक शुक्लपक्षको हरिबोधिनी एकादशीलाई नेपाली लोक परम्परामा ठूली एकादशी पनि भनिन्छ। यद्यपि धर्मशास्त्र र श्रीकृष्ण भगवान् स्वयंले एकादशी सबै समान हुन् विभेद गर्नु हुँदैन भन्नु भएको छ। आषाढ शुक्लपक्षको हरिशयनी एकादशीमा चर्तुमास व्रतआरम्भ गरी भगवान् विष्णुसमेत देव देवीहरुको नियमित पूजा आराधना गरेर एक छाक शुद्ध सात्विक खोनकुरा खाई चार महिनासम्म भगवानको नाममा व्रत गर्ने प्रचलन छ। व्रत समापनको क्रममा हरिबोधिनी एकादशीमा नजिकको नदी वा तीर्थमा गई भजन कीर्तन बाजा गाजा सहित नाचगान गर्दै फूल प्रसाद विसर्जन गर्ने र तोरण वा फूल तार्ने परम्परा विद्यमान रहेको छ। यसरी व्रतगर्दा मानिसले मोक्ष गति प्राप्त गर्नुका साथै आफ्ना कुल र सन्ततिहरुलाई उत्तम फल प्राप्त हुने जनविश्वास रहेको छ। हरिबोधिनी एकादशीमा सुनसरीको बराहक्षेत्रमा धार्मिक मेला लाग्दछ भने खोटाङको बराहक्षेत्रमा पनि मेला लाग्ने गर्दछ। यस दिन चितवन देवघाट, पोखरा रामघाट, गुल्मीको सरुक्षेत्र लगायतका ठाउँमा श्रद्धालु भक्तजनहरु उपस्थित हुने, फूल प्रसाद चढाउने परम्परा रहिआएको छ। एकादशी महात्म्यमा उल्लेख भए अनुसार एकादशीको व्रतलिनाले मानिसहरुले जान अन्जानमा गरेका पाप कर्महरुबाट मुक्ति पाउँदै छन्। साथै यस लोकमा सुख, सम्पत्ति, मान मर्यादा, सन्तान सहितका फल प्राप्त गर्नुका साथै परलोकमा मोक्षगति प्राप्त गर्नका लागि एकादशी व्रत उत्तम मानिन्छ। हरिशयनी एकादशीमा चर्तुमास व्रतआरम्भ गरी हरिबोधिनी एकादशीसम्म निष्ठा र भक्तिपूर्वक व्रत गर्ने मानिसले जन्म मृत्युको संस्कारबाट मुक्तभई विष्णुलोक प्राप्त गर्ने पुराणमा उल्लेख गरिएको छ ।

Like