जीवनलाई ज्योति दिने दिव्य स्वरूपहरू

Share to:

रासंसा/तनहुँ, माघ २३,


अघोरी स्मशानेश्वोर अघोर बाबा

मानव जीवन सत्य, शान्ति र आनन्दको खोजी गर्ने यात्रा हो। जसरी अँध्यारोमा उज्यालो खोजिन्छ, त्यस्तै जीवनमा ज्ञान, प्रेम र आत्मबोधको खोज गरिन्छ। हरेक मानिस भित्र एक दिव्य प्रकाश छ, जसले सही मार्ग देखाउन सक्छ। तर, जब मन भ्रम, डर र मोहले ढाकिन्छ, तब त्यो ज्योति ओझेलमा पर्छ। आत्मअनुसन्धान, सही सोच र सद्गुणले भरिएको जीवन बिताउँदा मानिस भित्रकै यो प्रकाश प्रकट हुन्छ, जसले उसको जीवनलाई अर्थपूर्ण, सन्तुलित र आनन्दमय बनाउँदछ।

धर्तीमा अवतरित भएर अवतरणको मुलस्रोत व्रह्मवीज ज्योति सम्म अपसरित नहुदा सम्म मानव जीवनको मुल् उद्देश्य नै आत्माप्रकाश लाई खोज्ने र भेट्ने यात्रा हो। हरेक व्यक्तिको चेतना भित्र एक दिव्य ज्योति छ, जसले सही मार्ग देखाउन सक्छ। रौद्र, नित्य, गौरी, धात्री, ज्योत्स्ना र इन्दुरूपिणीजस्ता स्वरूपहरू जीवनका भिन्न-भिन्न पक्षलाई उजागर गर्दै मानिसलाई आत्मबोध, सन्तुलन र आध्यात्मिक उन्नतिको दिशामा डोहोर्याउने शक्तिरूप हुन् ।

रौद्र शक्ति र दृढताको प्रतीक हो। जब यो आत्मसंयमसहित सद्गुणमा प्रयोग गरिन्छ, तब अन्यायको सामना गर्ने साहस उत्पन्न हुन्छ। यसले व्यक्ति भित्रको निष्क्रियतासाई अन्त्य गराउदै सत्यको पक्षमा उभिन प्रेरित गराउदछ। नित्य भनेको शाश्वत सत्य हो, जुन परिवर्तनशील संसारको मूलभूत आधार हो। यसको अनुभूति गर्दा जीवनमा स्थिरता, आत्मविश्वास र निश्चयताको अनुभूति हुन्छ।

गौरी पवित्रता, करुणा र उज्यालोको प्रतीक हो। जब मन निर्मल र प्रेमले भरिन्छ, तब जीवन आफैं उज्यालो बन्छ। धात्री पालनपोषणको शक्ति हो, जसले ममताको स्पर्श दिन्छ। यसले व्यक्ति भित्र सहिष्णुता, धैर्य र सेवा भाव जागृत गराउँदछ।

ज्योत्स्ना चन्द्रमाको शीतल प्रकाश हो, जसले जीवनका कठिन घडीहरूमा शान्ति र सन्तुलन प्रदान गराउदछ। इन्दुरूपिणी चन्द्रमाजस्तै सौम्य, सौन्दर्ययुक्त र जीवनलाई शीतलतासहित सहनशील बनाउने शक्ति हो। जब व्यक्तिले आफुभित्रका यी गुणहरूलाई उजागरित गर्दै आत्मसात् गर्छ, तब उसको जीवनमा समता र समर्पणको भावना विकसित हुन्छ।

यी दिव्य स्वरूपहरू केवल बाह्य पूजा वा चिन्तनका विषय मात्र होइनन्, बरु यी त प्रत्येक व्यक्तिको अन्तरचेतनामा निहित रहेका शक्तिहरू हुन्। जब व्यक्ति आत्मजागरणको मार्गमा अघि बढ्दछ, तब उसले आफ्नो भित्री प्रकाश आत्माज्योतिलाई बुझ्न आरम्भ गर्दछ। आत्मबोधको यो अनुभूति केवल व्यक्तिगत उन्नतिका लागि मात्र होइन, यो त जीवनलाई समाज र समग्र सृष्टिसँग सन्तुलन राख्ने सत्मार्ग हो।

जीवनको वास्तविक उद्देश्य व्यक्तिगत सुखमा सीमित राख्नु मात्र होइन। जब व्यक्तिले प्रेम, सत्य र सहिष्णुताको बाटो अपनाउँछ, तब ऊ केवल आफ्नो मात्र होइन, सम्पूर्ण समाजको उन्नति गराउदछ।

यसर्थ, आध्यात्मिकता जीवनलाई सहज बनाउने माध्यम मात्र नभई मानव अस्तित्वलाई गहन अर्थ दिने राजमार्ग हो। यसले सबैलाई आपसी सम्मान, समझदारी र सह-अस्तित्वको अभ्यास गर्न प्रेरित गराउदछ। चेतनाको यो जागरण नै मानव जातिका लागि शान्ति, सामञ्जस्य र प्रगतिको आधार बन्न सक्दछ।

जय अघोर।

Like