देउवा डडेल्धुरामा बेग्लै देखिए

Share to:

रासंसा/डडेल्धुरा, मार्ग ०४,

मुलुकमा केही वर्षअघिसम्म त दसैंतिहार नलाग्दै रौनक यसैगरी पहाड पस्थ्यो। सहरतर्फ पढाइलेखाइ र रोजगारीका लागि अस्थायी बसाइँ सरेका युवाहरू चाडपर्वमा उल्लास लिएर गाउँ फिर्थे। अहिले समय उल्टिएको छ, स्थायी रूपमै बसाइँ सरेका सन्तानसँग चाडपर्व मनाउन वृद्ध आमाबाहरू सहर पस्छन्। विदेशमा पुगेका कतिपय युवाले आफ्ना आमाबुबालाई चाडपर्व मनाउन उतै डाक्न थालेका छन्। बसाइँसराइले रित्तिँदै गएको सुदूरपश्चिम पहाड यतिबेला भने गुलजार छ। दसैं–तिहारमा नभित्रिएको रौनक त्यसपछि भने पहाडी रस्तीबस्ती पसेको छ। किनभने पहाडमा चलिरहेको ‘देउपर्व’ उत्कर्षमा छ । यसरी समय फेरिएपछि सुदूर पहाडले उत्सव खोज्न ‘देउपर्व’ पर्खनुपर्छ। यो समयमा सुदूरपश्चिमेलीका थरीथरी समाजले आआफ्ना इस्टकुल देवताको पूजा आराधना गर्छन्। पूजाआराधनाका क्रममा विभिन्न ठाउँ तथा गाउँटोलमा ठुल्ठुला जाँत (जात्रा)मेला लाग्ने गर्छन्। यसर्थ यस्ता ग्राम देवताका पूजामा करिया (पूजामा विभिन्न काम गर्नेहरू) त पुग्नुपर्छ नै, देवतालाई पुस्तौंपुस्तादेखि श्रद्धा वा आस्था राखेर कुलदेवता मानेकाहरू पनि त्यही आस्था बोकेर पुग्ने गर्छन्। चाडबाड घरपरिवारसँग अन्यत्र जहाँ बसेर मनाए पनि कुल देवताको पूजामा सरिक हुन भने थातथलोमै फर्कनुपर्छ। देवताका भराँण (भण्डार घर) देखि माणु (मन्दिर) सम्म प्राचीन थलोमै हुन्छन्। त्यसमा पनि कुलदेवताको पूजा एकजना व्यक्तिले भन्दा पनि समाजले सामूहिक रूपमा गर्ने उत्सव हो। यसरी एकैसाथ मानिसको भिड र जात्रामेला लाग्दा पहाडी समाज गुलजार हुनपुग्छ। यो भिडमा कैयौं व्यक्ति हुन्छन्, जो वर्षौंसम्म यो कर्ममा सहभागी हुन नसकेका हुन्छन्। सक्रिय जीवनकालको दैनन्दिन संघर्षका दौरान युगौंयुगको पुख्र्यौली सिलसिलामा सहभागी हुन नभ्याएकाहरू बुढेसकालमा भए पनि एकपटक पुग्छन्, देवताको पूजामा सहभागीसँगै आफ्ना बाल्यकालका स्मृति केलाउँछन् र पुर्खालाई सम्झन्छन्। उमेरले ८० वर्ष पुग्न लागेका देउवा यसपटक देउपर्वकै बेला गृहजिल्ला डडेल्धुरा गए। जन्मथलो गन्यापधुरा गाउँपालिका–१ रुवा खोला पुगे। २३ वर्षपछि आफ्ना कुल देवताको मेलामा सरिक भए। देशको सबैभन्दा ठुलो राजनीतिक दलका सभापति रहेका देउवा फुर्सदिलाझैं बनेर झन्डै एकसाता डडेलधुरामा बिताए। यस्ता तमाम वृद्धवृद्धाहरू सुदूर पहाडका बस्तीबस्तीमा छन्। जो जीवनका बाँकी दिनका लागि पुराना स्मृतिहरू कोट्याउँदै पुर्खाको क्रमिक सिलसिलामा ढिलै भए पनि जोडिन आइपुगेका छन्। यसपटक तीनै वृद्धमध्येका एक बनेका छन्, पाँच पटक देशको प्रधानमन्त्री भइसकेका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा। देउवाको यो डडेलधुरा भ्रमणलाई बाहिरबाट हेर्दा धेरैले राजनीतिक रूपमा बुझेका छन्। तर परिवार र नजिकबाट बुझ्नेहरू भने व्यक्तिगत एवं धार्मिक भ्रमणभन्दा बढी नरहेको बताउँछन्। देउवाको गृह पालिका गन्यापधुरा गाउँपालिका अध्यक्ष इन्द्रबहादुर कार्कीका अनुसार देउवा २३ वर्षपछि कुल देवताको मेलामा पुगेका हुन्। देउवा यसअघि २०५८ सालमा कुलदेवताको मेलामा सहभागी हुन रुवा खोला पुगेका थिए। ‘उहाँका कुलदेवता असिम हुन्। यस्तै लाटा गन्यापका पनि देउवाहरू हकदार हुनुहुन्छ,’ अध्यक्ष कार्कीले भने। ‘कुल देवताको मेलामा सहभागी हुन नपाएको धेरै वर्ष भइसकेको थियो। मेला हुने बेला जहाँ भए पनि उहाँ सम्झिराख्नुहुन्थ्यो,’ स्वकीय सचिवसमेत रहेका देउवाका भतिजा भानु देउवा भन्छन्, ‘घरायसी गफगाफमा यसपालि जसरी नि जान्छु भनिराख्नुभएको थियो। मौका पनि मिल्यो।’ गणेशपुरमा लाग्ने ‘लाटा गन्याप’ देवताको मेला ‘बडाल जाँत’को नामले प्रसिद्ध छ। जहाँ ३०–४० हजारले मेला भर्छन्। ‘यो मेलामा चौलो (देवताको मेलामा तरबार नचाएर खेल्ने खेल) मुख्यगरी देउवाहरूले नै खेल्छन्। स्वास्थ्यले साथ नदिएर होला, उहाँले खेल्नुभएन। तरबार त समात्नुभयो, युवाहरूले खेलेको हेर्नुभयो,’ कार्कीले अगाडि भने। चुनाव र राजनीतिक काममा भने देउवा पटक–पटक गाउँ पुगेको उनी बताउँछन्। सभापति देउवा गृहजिल्ला डडेलधुरा जान कात्तिक २५ गते बिहान काठमाडौंबाट हवाईमार्गबाट धनगढी उत्रिएका थिए। धनगढी विमानस्थलमा कार्यकर्ता र शुभेच्छुकको भिड थियो। उनले सबैलाई भरपूर समय दिए। त्यहाँबाट दोस्रो दिन बिहानै डडेलधुराको दक्षिणी क्षेत्रको आलिताल गाउँपालिकाको आलीताल हेरे। परशुराम नगरपालिकाको नेपाल–भारत सिमानामा पर्ने प्रसिद्ध धार्मिकस्थल परशुराम धामको दर्शन गरे। त्यहाँ वर र पिपल रोपे। भ्रमणमा भेट्न आएका स्थानीयवासीलाई पनि मनग्य समय दिए। भेटघाट सकिएपछि केही समय बिताएपछि डडेलधुराका लागि हिँडे। बाटोमा कैलालीको खानीडाँडा र चुरे गाउँपालिकामा कार्यकर्तासँग भेटघाट गर्दै राति डडेलधुराको सिमानामा पर्ने डोटीको बुडरमा बास बसे। त्यहाँबाट डडेलधुराको सदरमुकाम लागे। सदरमुकाममा रहेको एक रिसोर्टमा बास बसे। जहाँ उनले मंसिर १ गतेसम्मका ६ रात बिताए। रात त्यहाँ बिताए पनि देउवा बिहानैदेखि अबेर साँझसम्म भने गाउँगाउँ डुले। २७ गते बडाल जाँत पुगे भने २९ गते असीम जाँतका लागि रुवा खोला गए। ३० गते पत्नी डा. आरजु राणा देउवा (परराष्ट्रमन्त्री)लाई बोलाए। मंसिर १ (शनिबार) गते डडेलधुराको प्रसिद्ध उग्रतारा मेलामा लाग्ने ‘देहिजाँत’मा सपरिवार विशेष पूजा गरेर धनगढी झरे। बाँकी दिनमा जिल्लाका सबैजसो स्थानीय तहका केन्द्र पुगे। भ्याएसम्म अन्य आसपासका गाउँबस्ती पनि पसे। त्यसक्रममा भेटिने सबैसँग गफिए, पुराना कुरा सम्झिए, नयाँ फरक केलाए। आइतबार कैलालीमा केही राजनीतिक भेटघाटमा सरिक भए। ती भ्याएर धनगढीको बेहडाबाबाको दर्शन गर्ने इच्छा जाहेर गरे। त्यहाँ दर्शन गरेपछि गेटा मेडिकल कलेज निरीक्षण गरी त्यहाँ आयोजित कार्यक्रममा सहभागी भएर साँझ काठमाडौं फर्किएका छन्। देउवाको यो भ्रमणलाई डडेलधुरावासीले पहिलेभन्दा भिन्न रूपमा महसुस गरिरहेका छन्। उसै पनि आफ्नो निर्वाचनको मनोनयन दर्ता वारेसनामाबाट गराउने, प्रचारमा आक्कलझुक्कल पुग्ने देउवा यसपटक हप्ता नै बिताएपछि झन् धेरैको मन छोएको छ। ’पत्रकार पन्त देउवाको यो भ्रमणलाई एक वृद्ध नेताको भावुक भ्रमणका रूपमा अथ्र्याउँछन्। उनी भन्छन्, ‘उहाँ उमेर र राजनीतिक हिसाबले उत्तरार्धतिर हुनुहुन्छ, फेरि आउन सकिएला–नसकिएला। यो ठाउँ र यहाँका देवताले मलाई यति दिए, मैले के गरेँ ? भन्ने स्वमूल्यांकन गर्न पनि अहिले आउनुभएको होला।’ देउवा डडेलधुरा भ्रमणका क्रममा आफ्नो पूर्ववत् स्वभावभन्दा फरक शैलीमा प्रस्तुत भएको नजिकबाट हेरेकाहरूको बुझाइ छ। ‘उहाँ हाटहुटे शैलीको मान्छे हो। जहिले हतारमा देखिने, केही कुरा गरे पछिपछि भन्ने खालको,’ डडेलधुराका पुराना पत्रकार डिआर पन्त भन्छन्, ‘यसपटक कुनै हतारो देखिएन। न कहिँकतै झर्किने, रिसाउने देखिनुभयो। सकेसम्म भ्याएको ठाउँ पुग्नुभयो। जसलाई भेटे पनि मजाले कुराकानी गर्नुभयो। आफ्नो वा पराई भन्नुभएन। पन्तका अनुसार देउवाले व्यवहारमै त्यसो देखाएका पनि छन्। उनी सकेसम्म सबै सडक पुगे, पूर्वाधार निर्माण भएका र भइरहेका ठाउँ पनि गए। डडेलधुरा नै घर भएका कांग्रेस केन्द्रीय सदस्य नैनसिंह महरले पनि यसपटकको डडेलधुरा भ्रमणमा देउवाको स्वभाव फरक पाएका छन्। ‘धेरै फरक प्रस्तुत हुनुभएको छ। खुसी, ऊर्जासँगै भावुकता पनि छ। साह्रै सहज पनि देखिनुभयो,’ उनी भन्छन्, ‘सात पटक जिताएका मतदाता र आफ्नो भूगोलमा पुग्दाको स्नेह होला। आफ्ना पुराना स्मृतिका दिनको पुनरावृत्ति भएर पनि होला।’ डडेलधुरामा देउवाको लगातार जितमा जनता मात्र नभई देवताको पनि भूमिका रहेको पत्रकार पन्त बताउँछन्। ‘उसै पनि उहाँ आस्तिक नै हो। त्यसमा पनि रुवा खोलाका देउवाहरू संकट पर्दा बडाल जाँत पुग्छन्। बडाल जाँतबाटै सबै करियालाई सन्देश पुग्छ। २०६४ को संविधानसभामा बडाल जाँतबाटै देउवाले जितेका हुन्,’ उनले सुनाए। बडाल जाँतको सन्देशले त्यसका आस्तिक एकढिक्का हुँदा देउवा माओवादीका खगराज भट्टसँग थोरै मतान्तरले जितेको पन्तको बुझाइ छ। भावनात्मक कुराले नै देउवालाई डडेलधुरा डो¥याएको नेता महरको बुझाइ छ। ‘उहाँका लागि यो भन्दा फुर्सदिलो समय अरू नहोला। न उहाँ इमरजेन्सी राजकीय भूमिकामा हुनुहुन्छ, न राष्ट्रिय राजनीति नै त्यति अस्थिर छ। त्यसैले भावनामा रहेको, कहीं छुटिरहेको जीवनको क्षण बिताउन आउनुभयो,’ महरले भने। देउवाको यो डडेलधुरा भ्रमणलाई विपक्षीहरूले अनेक अड्कलबाजी पनि गरिरहेका छन्। धार्मिक आवरणमा राजनीतिक उद्देश्यका लागि भ्रमण भन्नेहरू पनि छन्। तर पत्रकार पन्त भने देउवाको यो भ्रमण यी प्रश्न र आशंकाभन्दा माथि रहेको बताउँछन्। ‘यसमा के शंका गर्नु ? देउवा लडेसम्म हार्दैनन्। तर लड्ने नलड्ने भनेका छैनन्। कसलाई लडाउने पनि भनेका छैनन्। मलाई त यी सबै कुराका लागि आउनुभयो भन्ने लाग्दैन। एक वयोवृद्ध राजनीतिज्ञलाई आफ्नै मनमा हुर्किएको मानवीय संवेदनाले डोर्‍याएको जस्तो लाग्छ,’ पन्त भन्छन्। पुराना राजनीतिक दलप्रति वितृष्णा बढिरहेका बेला देउवा फेरि चुनाव लड्ने/नलड्ने, जित्न सकिन्छ/सकिन्न भन्नेबारे अवस्थाको जायजा (सर्भे) लिन गएको भन्नेहरू पनि छन्। कतिपयले पत्नी आरजुका लागि २०८४ को चुनावी वातावरण बनाउन गएको भन्ने पनि लख काटिरहेका छन्। यहीबीच डडेलधुरामा पत्रकारले सोधेको प्रश्न पनि देउवाले हाँसेरै उडाएका छन्। ‘२०८४ मा फेरि चुनाव लड्नुहुन्छ कि हुन्न ?’ भन्ने पत्रकारको प्रश्नमा देउवाले हाँसेर जवाफ फर्काए, ‘तपाईं भन्नुस्, तपाईं भोट दिने कि नदिने ? दिने भए लड्छु ।’ भिडिओमा देखिएको पत्रकार सम्मेलनमा देउवाले हाँसीहाँसी खुलेर जवाफ दिएको देखिन्छ। जुन उनको नियमित स्वभावभन्दा निकै पृथक् हो।

Like