आज सुवास नेम्बाङको स्मृति दिवस मनाइँदै
रासंसा/काठमाण्डौ, भाद्र २६,
मुलुकमा इलाम क्षेत्र नम्बर २ बाट निरन्तर तीन दशकसम्म प्रतिनिधि सभामा निर्वाचित संविधान सभा अध्यक्ष तथा पूर्वसभामुख सुवासचन्द्र नेम्बाङको आज पहिलो स्मृति दिवस मनाइँदै छ। गत वर्ष आजकै दिन अर्थात् भदौ २६ गते उनको निधन भएको थियो। एमाले इलाम जिल्ला कमिटीले आज साढे १२ बजे पार्टी कार्यालयमा श्रद्धाञ्जलीसभा आयोजना गरेको प्रचार विभाग सचिव खेमरागर खनालले जानकारी दिए। एमाले केन्द्रीय कमिटी, प्रदेश र विभिन्न जिल्ला कमिटहरूले आज नेम्बाङको स्मृतिमा कार्यक्रम आयोजना गरेको एमालेले जनाएको छ। पार्टीका तत्कालीन उपाध्यक्षसमेत रहेका नेम्बाङको पहिलो स्मृति दिवस अवसरमा नेकपा (एमाले)ले आज नेम्बाङको गृह जिल्ला इलामसहित देशभर विभिन्न कार्यक्रम आयोजना गर्दैछ। नेम्बाङ निर्वाचित इलाम क्षेत्र २ मा गत वैशाख १५ उपनिर्वाचन हुँदा उनकै पुत्र सुहाङ नेम्बाङ विजयी बनेका छन्। सुहाङले मंगलवारको प्रतिनिधि सभा बैठकमा आफ्ना बुबा सुवासकै बाटोमा देश अघि बढेको बताए थिए। आफ्ना पिताको नेतृत्वमा घोषणा भएको नेपालको संविधानले सबै विचार, वाद, आस्था, सबै धर्म, संस्कृति, पहिचान, सहअस्तित्व र विकासलाई ठाउँ दिएको सुहाङले बताए। ‘सबै संकटहरूलाई सहमति र सहकार्यको बलमा पार लगाउनुपर्छ भन्ने उहाँको विचार थियो। मलाई लाग्छ, फेरि एक पटक उहाँकै मान्यतामा देश उभिएको छ,’ सुहाङले भने। ‘मेरो बुबा सधैं भन्नुहुन्थ्यो–सहमति र सहकार्य। उहाँ सहमति र सहकार्यका विनम्र पहरेदार र प्रवक्ता हुनुहुन्थ्यो। हो, यही मान्यताका साथ उहाँले संघीयता, गणतन्त्र, धर्मनिरपेक्षता, समावेशी लोकतन्त्र, समानुपातिक प्रतिनिधित्वजस्ता पक्ष सामेल भएको नेपालको संविधान २०७२ जारी गर्ने ऐतिहासिक कार्यको नेतृत्व गर्नुभयो,’ सुहाङले भनेका छन्, ‘आज म फेरि एक पटक यो सम्मानति सदनमा उभिएर उहाँप्रति सम्मान प्रकट गर्दछु। मेरो बुबा सधैं भन्ने गर्नुहुन्थ्यो, ‘जस्तासुकै मतभिन्नतालाई पनि समाधान गर्न सकिन्छ, समृद्ध राष्ट्र निर्माण गर्न सकिन्छ।’ विद्यार्थीकालदेखि नै राजनीतिमा सक्रिय सुवास कानुन व्यवासायी हुँदै पार्टी राजनीतिमा होमिएका थिए । २०२९ सालमा इलामको महेन्द्ररत्न बहुमुखी क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियनको सभापति बनेका उनी नेपाल बार एसोसिएसनको महासचिवसमेत भए। संसद्को सार्वजनिक लेखा समिति अध्यक्ष हुँदै २०६३ वैशाख ३० देखि माघ १ सम्म सभामुख बनेका नेम्बाङ ०६३ माघ ३ देखि २०६५ जेठ १४ गतेसम्म पुनः सभामुख निर्वाचित भए। २०६४ सालको संविधानसभा निर्वाचनपछि उनी ०६५ साउन १२ देखि २०६९ जेठ १४, २०७० फागुन ६ देखि २०७२ असोज २७ सम्म संविधानसभा अध्यक्ष र व्यवस्थापिका संसद्को सभामुख भए। उनी २०३३ सालमा राजकाज मुद्दामा सात महिना जेल परेका थिए। नेम्बाङ २०४८ र २०५१ सालमा राष्ट्रियसभा सदस्य बने। ०५१ सालमै उनी कानुन, न्याय तथा संसदीय व्यवस्था राज्यमन्त्री बनेका थिए भने त्यसपछि सामान्य प्रशासन र स्थानीय विकासमन्त्रीसमेत बनेका थिए। २०५६, ०७४ र २०७९ सालका संसदीय निर्वाचन तथा २०६४ र २०७० सालका दुुवै संविधानसभा निर्वाचनमा नेम्बाङ इलामबाट विजयी बनेका थिए। नेम्बाङकै नेतृत्वमा संविधानसभाले २०७२ सालमा नेपालको संविधान जारी ग¥यो। एमालेको स्थायी कमिटी सदस्य हुँदै अहिले उनी पार्टी उपाध्यक्ष थिए। उनी पछिल्लो राष्ट्रपति निर्वाचनमा समेत एमालेबाट उम्मेदवार बनेका थिए। इलाम सदरमुकामको सुन्तलाबारीमा बाबु रामबहादुर नेम्बाङ र आमा अपिन्द्रकुमारीको कोखबाट २००९ फागुन २८ मा जन्मिएका नेम्बाङको बाल्यकाल इलाममै बित्यो। बुबा अदालतको न्यायाधीश भएकाले नेम्बाङले इलाम सदरमुकामको सुन्तलाबारीस्थित आफ्नै घरमा बसेर विद्यालय र उच्च शिक्षा लिए। उनले बिए बिएल अध्ययन गरेका थिए। नेम्बाङले काठमाडौंमा पायोनियर ल फर्मसमेत सञ्चालन गरेका थिए।