आज बुंगद्यः (रातो मच्छिन्द्रनाथ) रथारोहण सुभारम्भ
रासंसा/काठमाण्डौ, बैशाख २७,
प्राचिन बुंगमती गाँउ मत्स्यनाथको जन्मथलो मानिन्छ, मत्स्यनाथ एकजना सिद्धपुरुष हुनुहुन्छ जस्ले प्रकृतिका हरेक अवयवहरुमाथि नियन्त्रण गर्न सक्नुहुन्छ । सहकालका यि देवतालाई तसर्थ उपत्यकावासीहरुले वर्षाका देवका रुपमा हजारौंवर्ष देखि पूज्दै आएका छन् । बाग्मती सभ्यतामा मत्स्यनारायणका अनेक रुप छन्, हिन्दुहरु यिनलाई करुणामयी गुरुका रुपमा पूज्दछन् भनें बौद्धमार्गिहरु यिनलाई पञ्चबुद्धमध्य चौंथो स्वरुप पद्धपाणीका रुपमा पूज्दछन् । आज बैशाख शुक्ल प्रतिपदावाट शुरु हुने यस उपत्यकाकै सबैभन्दा लामो जात्रा असार महिनाको शुक्ल चौथिसम्म करिब २ महिनासम्म मनाइन्छ । सहकालका देवता मछिन्द्रनाथ, जस्लाई मत्स्यनाथ, गुरु करुणामय अनि नेपाल भाषामा बुंगद्यःका रुपमा पनि पुकारा गरिन्छ । विगतको १६०० भन्दा धेरै वर्षदेखि यो प्राचिन जात्रा उत्तिकै उत्साह, भक्ति अनि पवित्रताका साथ मनाइदै आएको छ, आजको आलेख म सहकालका देवताको नाममा समर्पण गर्न चाहन्छु अनि मत्स्यनाथलाई एउटा योगीका रुपमा चिनिनु हुन्छ । वहाँको अर्चना गरिने चलन भनें लिच्छवी राजा नरेन्द्रदेवको पालामा गएर ठोकिन्छ जब काठमाण्डौ उपत्यकामा पानी नपरेर सुख्खा लागेको थियो, नरेन्द्रदेवले भारतको आसामवाट झिकाएको मछिन्द्रनाथको प्रतिमालाई प्राण प्रतिष्ठा गराएर अर्चना शुभारम्भ गरेको इतिहास छ । सिद्ध योगीको असिम अनुकम्पाले त्यस वर्ष उपरान्त वर्षामात्र नभई काठमाण्डौको आकाशमा वादलको चिस्यान र आद्रताले सँधै अंकमाल गररहने समेत भयो । आजका दिन म्हेपी डाँडोको माटोले बनेंको करुणामयीको मूर्तिमा कलशमा रहेको देवताको आत्मालाई प्रतिस्थापन गरिन्छ । आज स्नान गराएर पवित्र करुणामयीको धरोहरलाई अक्षयतृतियाका दिन गौदान सहित शान्तीस्वस्ती गरिन्छ ।यसपछि ललितपुर र काठमाण्डौका बिभिन्न ठाँउहरुमा २ महिनासम्म अवलोकेश्वरको रथलाई परिक्रमा गराइन्छ, अन्तत असार शुक्ल चौथिमा जावलाखेलमा भोटो देखाएर यस रथयात्राको औपचारीक अन्त्य गरिन्छ र प्रतिमालाई लगेर प्राचिन बुंगमती गाँउमा राखिने चलन छ । वर्षाको कमी नहोस्, अन्नका दाना दानामा पुष्ट सामथ्र्य रहोस्, विश्वको कल्याण होस्, प्राणिमा प्राण होस् । योगी मत्स्यनारायणलाई गोरखनाथका गुरु भनेंर पनि चिनिन्छ, गो अर्थात पृथ्वी र रख अर्थात रक्षा तसर्थ गोरखनाथ पृथ्वीका रक्षार्थ तैनाथ एक अमर योगी हुन् जस्लाई दिक्षा योगी मत्स्यनारायणले दिनुभएको हो । गोरखनाथ मत्स्यनारायणका पुत्र पनि हुनुहुन्छ, कुनै दिन अर्को आलेखमा यि पितापूत्रको मानस समबन्धको ब्याख्या गर्नेछु । नेपाली राजपरिवारको निकटतम समबन्ध परापूर्वकालदेखि नै योगी गोरखनाथसंग रहेको पाइन्छ, गोरखनाथका बिशिष्ट अर्चना र पूजा राजपरिवारका सदस्यहरुले समयसमयमा गरिआएको पाइन्छ ।हजारौंवर्षदेखि योगी मत्स्यनारायणको कृपा विश्वमा रहेको छ, मत्स्यनारायण र गोरखनाथ योगीहरुका कृपा अनेकन रुपमा विश्वमा वर्षिनेछ, हाम्रो विश्वास छ ।