चौरीको रगत खाने मेला मुस्ताङको थासाङमा शुरु

Share to:

रासंसा/मुस्ताङ, बैशाख ८,

मुलुकमा मुस्ताङमा चौरीको रगत खाने मेला लागेको छ। हिमालयन चौरी पालक तथा संरक्षण उपसमिति कोवाङले शुक्रबारदेखि याकचौरीको आलो रगत खाने मेला आयोजना गरेको हो। हिमाली तथा उच्चपहाडी लेंक तथा खर्कहरुमा गोठै खडा गरेर पालन गरिने याकचौरीले उच्चलेंकमा वन्य जटीबुटी खाने भएकाले याकचौरी रगत स्वास्थ्यका लागि फाईदाजनक मानिएको स्थानीय बताउँछन्। मुस्ताङमा चौरीको रगत खाँदा स्वास्थ्यमा फाइदा हुन्छ भन्ने मान्यता रहेको छ। स्थानीय तथा जिल्ला बाहिरबाट पनि यो दिन मुस्ताङ आउने गर्छन्। हिमालयन चौरी पालन तथा संरक्षण उपसमितिले बर्सेनि बैशाख र साउन महिनामा याकचौरीको आलो रगत निकालेर सर्वसाधारणलाई बिक्री वितरण गर्ने गरेको उपसमिति सदस्य गोबिन्द शेरचनले जानकारी दिए। थासाङको घट्टे खोला स्थित चौरीको रगत खाने मेलामा सर्वसाधारणलाई खान र बस्नको सुविधा प्रदान गर्न झन्डै एक दर्जन त्रिपालका अस्थायी टहराहरु निर्माण गरिएको सदस्य शेरचनको भनाइ छ। बैशाख ८ गतेदेखि बैशाख १५ गतेसम्म रगत खाने मेला सञ्चालन हुनेछ। यसपटक याकचौरीको आलो रगत प्रति गिलास ३ सय रुपैयाँका दरले बिक्री वितरण भएको सदस्य शेरचनले बताए। मेलाको पहिलोदिन जिल्ला भित्र र जिल्ला बाहिरका १५० जना सर्वसाधारण चौरीको रगत खान घट्टे खोला पुगेका थिए। मेलाको दोश्रो दिन आज शनिबार २५ समुहका झन्डै २५० जनाभन्दा बढी सर्वसाधारण चौरीको रगत खान त्यहाँ पुगेका छन्। चौरीको रगत खाने गएका सर्वसाधारणले नाचगान गर्ने र तारो खेल खेलेर मनोरञ्जन लिने गर्छन्। रगत खाने मेलामा याकचौरीको मासु समेत खान पाइन्छ। यसपटक प्रत्येक दिन बिहान एक पटक मात्र चौरीको रगत निकालेर बिक्री गर्ने गरिएको छ। चौरीको आलो रगत निकाल्नु अघि सम्बन्धित पशु चिकित्सकले स्वास्थ्य परीक्षण गरेपछि मात्र चौरीको रगत निकाल्ने गरिएको समिति सदस्य शेरचनले उल्लेख गरे। सियो जस्तो आकारको हुपले याकचौरीको घाँटी छेउको नशामा कोपेर चौरीको रगत निकाल्ने गरिन्छ। चौरीको रगत निकालेपछि याकचौरी थप स्वस्थ्य हुने विश्वास रहेको उनले सुनाए। थासाङ-२ मा ९ घरधुरीको ९ गोठको करिव ८ सय याकचौरीको रगत निकाल्ने गरिएको छ। बर्खायाममा थासाङको मार्चेलेंक र घरपझोङको नमखुलेंकमा पनि बर्सेनि याकचौरीको आलो रगत निकाल्ने मेला लाग्दछ।

Like