‘मेघौली’ ‘पुष्पा र अञ्जली’ को जोडी बन्न कोशी टप्पु हिँड्यो
रासंसा/चितवन, चैत्र ९,
मुलुकमा चितवन राष्ट्रिय निकुञ्जले ‘मेघौली’ नाम गरेको भाले गैंडालाई कोशी टप्पु वन्यजन्तु आरक्षण केन्द्रमा पठाएको छ। सौराहा क्षेत्रबाट नियन्त्रणमा लिएर अन्दाज १० वर्षको मेघौलीलाई शुक्रबार कोशीटप्पु पठाइएको हो। कोशीमा प्राविधिक समितिले गरेको अध्ययनमा गैंडाका लागि बासस्थान उपयुक्त देखिएपछि गैंडा लगिएको हो। यसअघि विभागका तत्कालीन उपमहानिर्देशक बेदकुमार ढकालको संयोजकत्वमा बनेको प्राविधिक समितिले त्यस विषयमा विस्तृत अध्ययन गरेपछि प्रतिवेदन बुझाएको थियो। निकुञ्जका सूचना अधिकारी गणेश तिवारीका अनुसार, आज दिउसो पौने ४ बजे गैंडा खोरमा राखेर कोशी पठाइएको हो। गैंडालाई लिएर निकुञ्जका संरक्षण अधिकृत शान्तबहादुर मगरको नेतृत्वमा भेटेरिनरी चिकित्सकसहितको टोली कोशी गएको छ। टोलीमा राष्ट्रिय प्रकृति संरक्षणक कोषका संरक्षण अधिकृत, नेपाली सेना, भेटेरिनरी चिकित्सक, पशु प्राविधिकहरुको सहभागिता रहेको छ। सोही निर्णयअनुसार गत असोजमा चितवनबाट पुष्पा र अञ्जलीलाई कोशी टप्पु पठाइसकिएको छ। उनीहरुको जोड बन्नका लागि मेघौली पठाइएको चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत डिलबहादुर पुर्जा पुन मगरले बताए। पुष्पा र अञ्जली जस्तै बाढीको संकटमा परेको मेघौलीलाई चितवन राष्ट्रिय निकुञ्जले उद्वार गरेर राष्ट्रिय प्राकृतिक संरक्षण कोष सौराहामा राखेर हुर्काइएको गैंडा हो। २०७४ सालमा पश्चिम चितवनको मेघौलीबाट उद्धार गरिएको थियो। त्यही भएर यसको नाम प्राविधिकले मेघौली राखिदिएका हुन्। ‘असोज ९ गते पुष्पा र अञ्जली नाम राखिएका पोथी गैंडालाई कोशीमा स्थानान्तरण गरिएको थियो। उनीहरुको प्रजननका लागि भाले गैंडा स्थानान्तरण गरिएको हो’, पुन मगरले भने। यस भाले गैंडालाई राख्ने व्यवस्था कोशी टप्पु आरक्षण केन्द्रका प्राविधिकहरुले गरिसकेको उनले जानकारी दिए। त्यतिखेर यो गैंडा चार वर्षको थियो। घाइते अवस्थामा रहेको मेघौलीलाई दुध खुवाएर हुर्काएका थिए। पछि ठीक हुँदै गएपछि जंगलमा छाडिएको थियो, तर मानिससँग घुलमिल भएकाले प्रायः मानव बस्तीमै देखिन्थ्यो। दुवैलाई गत वैशाख ३१ मा प्राकृतिक वासस्थानमा छाडिएको थियो। सो समयमा पुष्पाको उमेर तीन वर्ष चार महिना र पूजाको उमेर दुई वर्ष एक महिना पुगेको थियो। हाल पुष्पाको उमेर चार वर्ष तीन महिना र पूजाको उमेर तीन वर्ष पुगेको छ। यसअघि पठाइएका पुष्पा र अञ्जलीलाई पनि अलपत्र अवस्थामा उद्धार गरिएको थियो। आमाबाट छुट्टिएर अनाथ भएको अवस्थामा पुष्पालाई अन्दाजी दुई र अञ्जलीलाई एक महिनाको उमेरमा उद्धार गरिएको थियो। पोथी गैंडा चार वर्षपछि प्रजननका लागि योग्य हुन्छन् । गैंडाले पाँचदेखि ६ वर्षमा बच्चा जन्माउने गरेको छ । भाले लागेको एक वर्ष चार महिनादेखि एक वर्ष ६ महिनाभित्र बच्चा जन्माउने गर्दछ । चार वर्ष पुगेकी पुष्पाले चितवन निकुञ्जमा हुँदै भाले खोजेको संरक्षणकर्मीहरु बताउँछन्। चितवन राष्ट्रिय निकुञ्जबाट सन् १९८६ सालयता मेघौलीसहित १०३ वटा गैंडा स्वदेशमा मात्र स्थानान्तरण गरिएको छ। यहाँबाट स्थानान्तरण भएका गैंडामध्ये ४५ वटा भाले र ५७ वटा पोथी रहेका छन्। त्यसमध्ये सबैभन्दा धेरै बर्दिया राष्ट्रिय निकुञ्जमा ९१ वटा गैंडा लगिएको छ। त्यसमा जीवित ३८ वटा छन्। यिनीहरुको स्थानान्तरण समयमा वन मन्त्रालयले भाले पनि स्थानान्तरण गर्ने बताएको थियो। ‘पोथीका लागि भाले चाहिने जैविक आवश्यकता हो’, प्रमुख संरक्षण अधिकृत पुनले भने, ‘पहिलो चरणमा पोथी स्थानान्तरण गरिएपछि दोस्रो चरणमा भाले पठाएका हौँ।’ चितवन राष्ट्रिय निकुञ्जका गैंडा स्वदेशमा मात्र होइन, मित्रराष्ट्रहरूलाई उपहारस्वरूप दिने गरिएको छ। औपचारिक रूपमा सन् १९८५ सालबाट उपहारस्वरूप मित्रराष्ट्रलाई गैंडा दिइएको देखिन्छ। निकुञ्ज विभागको रिपोर्टअनुसार पहिलोपटक भारतलाई चारवटा गैंडा दिइएको तथ्यांक छ। ती गैंडा भारतको दुदुवा राष्ट्रिय निकुञ्जमा राखिएको उल्लेख छ। त्यसैगरी जर्मनी, सिंगापुर, बंगलादेश, बेलायत, अस्ट्रिया र चीनमा दुईदुईवटा गैंडा उपहारस्वरूप प्रदान गरिएको छ। पछिल्लोपटक सन् २०१८ मा चीनमा दुईवटा गैंडा लगिएको छ। हालसम्म नौवटा देशमा यहाँका २६ वटा गैंडा पुगेका छन्। सबैभन्दा बढी अमेरिकाले ६ वटा गैंडा लगेको छ। उसले सन् १९८७ मा दुईपटक गरी चारवटा र सन् १९९० मा दुईवटा गैंडा लगेको छ। पछिल्लो गैंडा गणनाअनुसार नेपालमा सात सय ५२ वटा गैंडा छन्। त्यसमध्ये चितवन राष्ट्रिय निकुञ्जमा सबैभन्दा धेरै ६ सय ९४ वटा गैंडा छन्। त्यसैगरी बर्दिया राष्ट्रिय निकुञ्जमा ३८, शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा १७ र पर्सा राष्ट्रिय निकुञ्जमा तीनवटा गरी सात सय ५२ वटा गैंडा नेपालमा छन्।