संसद् भवनमा आन्दोलनकारी सूचना संयन्त्र कमजोर हुँदा प्रवेश गरेको निष्कर्ष

Share to:

रासंसा/काठमाण्डौ, चैत्र ६,

मुलुकमा फागुन १४ मा नयाँ बानेश्वरस्थित संसद् भवनमा लघुवित्तका ऋणीहरू प्रवेश गरेको घटनाबारे छानबिन गर्न गठित समितिले आफ्नो प्रतिवेदन बुझाएको छ । छानबिन समितिमा जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी नवराज अधिकारी र उपत्यका प्रहरी कार्यालयका डीएसपी दिनेश घिमिरे सदस्य थिए । समितिले जिल्ला सुरक्षा समितिले सूचना सङ्कलन गर्ने संयन्त्र ‘चुस्त’ नबनाएको कारण घटना भएको निष्कर्ष निकालेको छ । प्रमुख जिल्ला अधिकारीले नेतृत्व गर्ने जिल्ला सुरक्षा समितिमा सबै सुरक्षा निकायको प्रतिनिधित्व हुन्छ । समितिको रिपोर्टमा भनिएको छ,‘जिल्ला सुरक्षा समितिले सूचना सङ्कलन चुस्त बनाएको देखिएन ।’ शराज मैनाली नेतृत्वको छानबिन समितिले कमजोर ‘सूचना संयन्त्र’का कारण अति संवेदनशील क्षेत्रमा लघुवित्तका ऋणीहरू प्रवेश गर्न सफल भएको निष्कर्षसहितको प्रतिवेदन बुझाएको हो । समितिका सदस्यहरूले उपत्यका प्रहरी कार्यालयका एआईजी दीपक थापालाई प्रतिवेदन हस्तान्तरण गरेका हुन् । घटना भएको दिन धेरैतिर प्रहरी परिचालन गर्नुपरेको हुनाले पनि सो घटना भएको छानबिन समितिको ठहर छ । घटना भएकै दिनमा क्रिकेट प्रतियोगिता, मिटरब्याज पीडितहरूको प्रदर्शन, भीआईपी तथा भीभीआईपी मुभमेन्टका कारण सुरक्षा निकायले त्यसतर्फ ध्यान दिन नपाएको छानबिन समितिले आफ्नो प्रतिवेदनमा उल्लेख गरेको छ । संसद् भवनको गेटबाट सहज प्रवेश रोक्न ‘गेटमा दुई लेयरको सुरक्षा सिस्टम’ लागू गर्न समितिले सुझाव दिएको छ । संसद् भवनमा प्रवेश गर्ने मार्ग सहज हुँदा प्रदर्शनकारीले छक्याएर छिरेको र सो कुरा ड्युटीमा खटिएका प्रहरीले सङ्केत नपाएको उपत्यका प्रहरी कार्यालयका एकजना अधिकृतले रातोपाटीलाई बताए । लघुवित्तका ऋणिहरुहरुलाई नेतृत्व गर्नेहरूले त्यसदिन प्रदर्शनको कार्यक्रम नभएको बताएपछि त्यही सूचनालाई भर पर्दा अप्रत्याशित घटना भएको छानबिन समितिको निष्कर्ष छ । छानबिन समितिका एकजना सदस्यले भने,‘लघुवित्तका ऋणीको नेतृत्वकर्ताले कार्यक्रम छैन भनेपछि त्यतातिर कसैले पनि ध्यान दिएको देखिएन ।’ स्थानीय प्रहरीको सहयोग नहुँदा संसद् भवनको गेटमा खटिएका सीमित प्रहरीले ४ दर्जन प्रदर्शनकारीलाई रोक्न नसकेको छानबिन प्रतिवेदनमा उल्लेख छ । प्रतिवेदनमा भनिएको छ,‘बाहिरी सुरक्षा घेरामा खटिएका सुरक्षाकर्मी र पोष्ट ड्युटीले छेक्न सक्ने अवस्था देखिँदैन ।’ बानेश्वर क्षेत्रमा परिचालित सीआरभी (कन्ट्रोल रुम भेहिकल)का सुरक्षा अधिकारीले संसद् भवनतर्फ जाँदै गरेका प्रदर्शनकारीलाई सोधपुछ गर्दा ‘घुम्न हिँडेको’ भन्ने जवाफ पाएपछि सुरक्षाकर्मीहरूले त्यसतर्फ ध्यान नै नदिएको छानबिन समितिको निष्कर्ष छ । नेपाल प्रहरी केन्द्रीय विशेष कार्यदलबाट संसद् भवनको सुरक्षामा खटिएका प्रहरीलाई सम्भावित घटनाबारे ‘ब्रिफिङ नगर्नु’ अर्को कमजोरी रहेको छानबिन समितिको निष्कर्ष छ । कार्यदलबाट खटिएको सुरक्षाकर्मीलाई पनि बाहिरी परिस्थितिबारे ब्रिफिङ गर्न समितिले सुझाव दिएको छ । निषेधित क्षेत्र तोडेर संसद् भवनमा प्रवेश गरेका ४९ जना लघुवित्तका ऋणीहरू रिहा भइसकेका छन् । त्यहाँ परिचालित प्रहरी निरीक्षक नेतृत्वको केन्द्रीय विशेष कार्यदलको टिमलाई परिवर्तन गरेर ८४ जनाको नयाँ टोली परिचालन गरिएको छ ।

Like