बंगलादेशबाट पोखरासम्म उडान गर्न सुझाव

Share to:

मिनबहादुर कुँवर/कास्की, फाल्गुण ०६,

मुलुकमा सरकारी तथ्यांक अनुसार हवाई माध्यमबाट मात्र ३० हजार बढी बंगलादेशी पर्यटक सन् २०२३ मा नेपाल भित्रिए। अहिले बंगलादेशबाट काठमाडौंसम्म मात्र सिधा हवाई उडान भइरहेको छ। बंगलादेशलाई पोखरासम्मका सिधा हवाई उडानले जोड्न सके आगामी दिनमा पोखरा भित्रिने बंगलादेशी पाहुनाको आकार बढ्ने व्यवसायीको भनाई छ। २०२४ को पहिलो महिना जनवरीमा मात्र नेपाल भित्रिने बंगलादेशी पर्यटकको संख्या ३ हजार ६ सय २९ थियो। कोरोना भाइरस संक्रमणले थलिएको पर्यटन क्षेत्रमा पछिल्लो समय बंगलादेशी पाहुना थपिने क्रममा छन्। बंगलादेशबाट पोखरासम्म सिधा हवाई उडान संचालन भएमा आगामी दिनमा पोखरा भित्रिने बंगलादेशी पाहुनाको संख्या बढ्ने भएकोले त्यसका लागि प्रयास थाल्न नेपालस्थित बंगलादेशी राजदूतावासका प्रथम सचिव मोहम्मद हुमायन कविरले सुझाएका छन्। पोखरा उद्योग वाणिज्य सङ्घमा आयोजित छलफलमा कविरले बंगलादेशबाट नेपाल घुम्न आउने पर्यटकको संख्या बढ्दै गएको र आगामी दिनमा अझ बढ्ने पनि बताए। तर, त्यसका लागि उडान संख्या थपिन जरुरी रहेको उनको भनाई छ। बंगलादेश–पोखरा हवाई रुटमा सहजीकरण भए ढाका–पोखरा सोझो उडान सम्भव भएको पनि उनले बताए। पोखराका व्यवसायीसँगको छलफलमा उनले भने, ‘अहिले पनि हाम्रो (बंगलादेशी विमान) काठमाडौं–ढाका दैनिक दुईवटा उडान भइरहेको छ, एउटा उडान पोखराबाट नहुने भन्ने छैन। तर, वातावरण सहज हुनुपर्‍यो । हवाई रुटमा पनि सहजीकरण हुनुपर्छ।’ उनले नेपाल र बंगालदेशबीचको पुरानो सम्बन्धको चर्चा गर्दै व्यापार तथा अन्य द्विपक्षीय हितका विषयमा सहकार्य गर्न तयार रहेको बताए। ‘बंगलादेशमा विदेशी लगानी प्रोत्साहित गर्न विशेष सहुलियत दिइएको छ र लगानी बढेको छ,’ उनले थपे। पोखरा उद्योग वाणिज्य संघसँग सहकार्य गर्दै उद्यमशीलता वृद्धिमा सघाउने उनको प्रतिबद्धता थियो। नेपालको विद्युत् उत्पादन सहितका क्षेत्रमा बंगलादेशले सहकार्य बताउँदै उनले विदेशी लगानीको लागि सजिलो वातावरण हुनुपर्नेमा जोड दिए। पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष पवनकुमार प्रजापतिले युरोप हुँदै नेपाल आउने स्थल मार्ग (हिप्पी ट्रेल) ले नेपाल र बंगलादेशको पर्यटन उद्योगलाई जोडेको बताउँदै पछिल्लो समय भएको बंगलादेशी पाहुनाको नेपाल भ्रमण सकारात्मक पक्ष भएको बताए। यस्तै पोखरा–ढाका सिधा हवाई उडानको व्यवस्थाको लागि पनि उनले आग्रह गरे। ‘अहिले सिधा हवाई उडानले बंगलादेशलाई काठमाडौंसम्म मात्र जोडेको छ। तर, पोखरालाई पनि हवाई माध्यमबाट जोड्न सके त्यसले पर्यटन प्रवर्द्धनमा ठूलो भूमिका निभाउनेछ,’ श्रेष्ठले भने। पोखरा पर्यटन परिषद् (पिटिसी) का अध्यक्ष पोमनारायण श्रेष्ठले पोखराको पर्यटन प्रवर्द्धनको लागि बंगलादेशमा प्रवर्द्धनात्मक कार्यक्रम गर्न आफुहरुले तयारी थालेको बताए। श्रेष्ठले कोरोना भाइरस संक्रमणबाट थलिएको पर्यटन क्षेत्रमा पछिल्लो समय बंगलादेशी पाहुनाको आगमन बढ्दै जाँदा पर्यटन व्यवसायीले बंगलादेशमा बजारीकरणको योजना बनाएको जानकारी दिए। ‘पोखराको पर्यटन क्षेत्रले सिधै बंगलादेशमा बजारीकरण गर्ने योजना बनाएको छ। बजारीकरणले पोखरामा थप बंगलादेशी पाहुना भित्र्याउन सहज हुनेछ,’ उनले भने।

Like